काठमाडौं। संसारका सर्वाधिक धनाढ्यमध्ये पर्ने अमेरिकाका इलन मस्कको ‘स्टारलिंक’ ले एसियामा पनि ‘स्याटेलाइट’ (भूउपग्रह) मार्फत इन्टरनेट सेवा उपलब्ध गराउने विषयलाई प्रभावकारितासाथ अघि बढाएको छ।
सन् २०२२ अक्टोबर १० मा एसियालाई प्रतिनिधित्व गर्दै जापानमा आफ्नो पहिलो सहायक कम्पनी स्थापना गरेको स्टारलिंकले डिसेम्बर १ बाट जापानको दुर्गम टापु हत्सुसिमामा व्यावसायिक सुरुवात गरेको थियो। २०२२ अन्त्यसम्ममा फिलिपिन्समा व्यावसायिक सुरुवात गर्ने लक्ष्य राखेको स्टारलिंकले त्यहाँ २०२३ जनवरीबाट आफ्नो सेवा उपलब्ध गराइसकेको छ।
इलन मस्कको कम्पनी स्पेस एक्सको भावी योजनाको नक्साअनुसार २०२३ भित्रमा दक्षिण कोरिया, लाओस र इन्डोनेसियामा सेवा विस्तार हुने देखिन्छ। केही समयअघि नै कतारमा सेवा विस्तारको अनुमति पाएको स्टारलिंकले ओमान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा पनि २०२३ भित्रमा नै आफ्नो सेवा सुरु गर्ने उल्लेख गरेको छ। अर्कोतर्फ ताइवानले स्पेस एक्सको उपग्रह इन्टरनेट प्रणाली स्टारलिंकको आफ्नै संस्करण निर्माण गर्न काम अघि बढाइसकेको छ।
स्पेस एक्स वेबसाइटमा दक्षिण एसियाली देश भुटान, श्रीलंका र मालदिभ्समा यो वर्ष इन्टरनेट सेवा सुरु गरिने उल्लेख छ। त्यस्तै, भारत अनि पाकिस्तानमा नियामक निकायबाट स्वीकृति प्राप्त गर्न बाँकी रहेको तथा बंंगलादेशमा सन् २०२४ मा उक्त सेवा सुरु गर्ने योजना रहेको कम्पनीले सार्वजनिक गरेको नक्सामा उल्लेख छ।
यो सेवा अमेरिका, क्यानडा, बेलायत, फ्रान्स, स्पेन, जर्मनी र इटालीसहित धेरै युरोपेली देशमा उपलब्ध छ। अस्ट्रेलियामा पनि यो सेवा उपलब्ध छ भने अफ्रिकाका केही देशमा स्टारलिंक इन्टरनेट उपलब्ध रहेको र बाँकी केहीमा सेवा सुरु हुने सम्भावित वर्षबारे जानकारी गराइएको छ।
स्पेस एक्सको नक्सामा नेपाललाई पनि ‘चाँडै प्रवेश गर्ने’ श्रेणीमा राखिएको छ। नक्साअनुसार स्टारलिंकले २०२३ भित्र नै नेपालमा आफ्नो सेवा विस्तार गर्ने योजना राखेको देखिन्छ। यसो त स्टारलिंकले स्याटेलाइटबाट इन्टरनेट सेवा दिन चासो राख्दै लगभग तीन महिनाअघि नेपालको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग अनौपचारिक छलफल गरेको गरेको थियो। सो समयमा स्पेस एक्सका अधिकारीहरूले नेपालमा सेवा उपलब्ध गराउन तयार रहेको जनाउँदै अनुमतिका लागि के कस्ता प्रावधान छन् भन्ने कुरा बुझ्न प्राधिकरणसँग अनलाइनमार्फत छलफल गरेका थिए।
तर त्यहाँदेखि यता भने कुनै पनि प्रकारको छलफल नभएको प्राधिकरणले जनाएको छ। ‘योभन्दा अगाडि भएको अनौपचारिक छलफलपछि प्राधिकरणसँग स्टारलिंकले कुनै पनि प्रकारको छलफल गरेको छैन,’ प्राधिकरणका एक उच्च अधिकारीले क्यापिटल नेपालसँग भने, ‘प्राधिकरणको तर्फबाट पनि छलफलका लागि पहल भइरहेको छ। अब उताबाट एकपटक अन्तिम तयारीका साथ छलफलमा आउन सक्ने हाम्रो अनुमान छ।’
स्टारलिंकको स्याटेलाइट प्रविधिलाई नवीनतम, जडान र प्रयोग गर्न अति सहज र सस्तो मानिन्छ। हाल विकट भौगोलिक स्थानहरूमा दूरसञ्चार सेवाको विकास र विस्तार कार्य गर्न आवश्यक, पूर्वाधारहरूको विकास (टावर र पोल, सोलार स्ट्रक्चर आदिको निर्माण), जडान सामग्रीको ढुवानी, जडान तथा मर्मत कार्य गर्न निकै नै ठूलो रकम खर्च हुने गरेको छ। तर अहिलेको अवस्थामा स्टारलिंकसँग सहकार्य गर्न सकेको खण्डमा विकट स्थानहरूमा सहज रूपमा डाटा सेवा उपलब्ध गराउन दूरसञ्चार कम्पनीहरूलाई सहज हुने देखिन्छ।
साथै नेपालमा नै स्टारलिंकको ग्राउन्ड स्टेसन जडान गर्न सकेको खण्डमा अप्टिकल फाइबर वा माइक्रोवेभ रडियो लिंकको विस्तार गर्न कठिन हुने हिमाली तथा उच्च पहाडी भूभागहरूमा यस प्रविधिको प्रयोग गरी टूजी, थ्रीजी र फोरजी–एलटीईलगायत अन्य दूरसञ्चार सेवाहरू सुरु गर्न सकिने देखिन्छ।
स्टारलिंकले सन् २०२२ को अन्त्यसम्ममा ४५ देशमा उपग्रहमार्फत इन्टरनेट पहुँचको कभरेज प्रदान गरिसकेको छ। जसमा उत्तर र दक्षिण अमेरिका, युरोप, अस्ट्रेलिया र न्युजिल्यान्डका देशहरू मुख्यतया समावेश छन्। यसले २०२३ पछि विश्वव्यापी मोबाइल फोन सेवाको पनि लक्ष्य राखेको छ। यस सेवा सञ्चालनको अनुमतिप्राप्त देशहरूमा स्टारलिंक सेवा जडान गर्न प्रयोगकर्ताले तोकेको शुल्क जम्मा गरी आधिकारिक वेवसाइटमा अर्डर राख्नुपर्छ। त्यसपछि आवेदनको स्वीकृति भएमा यो सेवा उपलब्ध हुन्छ।
सुरुमा स्टारलिंक टर्मिनलको उपकरण लागत मूल्य ४ सय ९९ अमेरिकी डलर र मासिक शुल्क ९९ अमेरिकी डलर थियो। हाल भने स्पेस एक्सले स्याटलाइट टर्मिनलको मूल्य केही बढाएर पहिले नै जम्मा गरिसकेका प्रयोगकर्ताका लागि ५ सय ४९ अमेरिकी डलर र नयाँ ग्राहका लागि ५सय ९९ अमेरिकी डलर पुर्याएको छ।
त्यस्तै मासिक इन्टरनेट प्याकेजको लागत ९९ अमेरिकी डलरबाट बढाएर १ सय १० अमेरिकी डलर पुर्याएको छ। भूमि मोबाइल सेवा र अन्य दूरसञ्चार सेवा प्राकृतिक कारण (भुइँचालो, बाढी, पहिरो आदि) वा मानवीय कारण (युद्ध, हड्ताल आदि) बाट अवरुद्ध हुने अवस्थामा स्टारलिंक टर्मिनलहरूबाट सेवा सुचारु गर्न सहयोगी हुने देखिन्छ। रुसी, युक्रेनी युद्धपछि युक्रेनमा छिटो र भरपर्दो डाटा ट्रान्समिसन सुनिश्चित गर्दै बाहिरी संसारसँग जोड्न स्टारलिंक महत्वपूर्ण सावित भएको देखिन्छ।
यो १ हजार २ सय किलोमिटरमाथि मात्र हुने स्याटेलाइट भएका कारण अहिले दिएको र छ्यापछ्याप्ती पाइने सेवाभन्दा गुणस्तरीय र तीव्र गतिको हुने बताइन्छ। २०२२ फेब्रुअरीमा स्पेस एक्सले एउटै रकेटबाट स्टारलिंकका ४९ वटा स्याटेलाइट पठाएको थियो। स्टारलिंकका स्याटेलाइट एकअर्काबीच सञ्चार सम्पर्क गति र पृथ्वीमा इन्टरनेट गति तीव्र बनाउने उद्देश्यले कक्षको तल्लो तहमा पृथ्वीको वरिपरि राखिएका छन्। विश्वभरि पहुँचका लागि तल्लो तहमा रहने स्याटेलाइटको आवश्यकता पर्छ।
स्टारलिंकले २०१८ देखि २०२२ अगस्टसम्म करिब ३ हजार स्याटेलाइट अन्तरिक्षमा राखेको अनुमान छ। दुरीका हिसाबले धेरै तल भएकाले स्टारलिंक इन्टरनेटले उच्च गतिमा सेवा दिन सक्छ। यो प्रविधिमा स्याटेलाइटबाट सिधा सम्पर्क स्थापित हुन्छ। हिमाली क्षेत्रमा पर्वतारोहणका लागि गएका मानिसहरू हराउने, हिम पहिरोलगायतका गतिविधिबारे पूर्वानुमान गर्न नसकिएको अवस्थामा उक्त सेवाले ग्रामीण भेगमा सर्वसाधारणले ब्रोडब्यान्ड इन्टरनेट चलाउन सहज हुने बताइएको छ।