एजेन्सी। भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले एक महिनामै १ लाख ७८ हजारभन्दा धेरै गाडी बिक्री गरेको छ।
कम्पनीले मे महिनामा १० प्रतिशत व्यापार वृद्धी गर्दै १ लाख ७८ हजार ८३ युनिट गाडी थोक बिक्री गरेको हो। गत वर्षको मे महिनामा कम्पनीले १ लाख ६१ हजार ४ सय १३ युनिट गाडी बेचेको थियो।
कम्पनीले मार्च महिनामा १३ प्रतिशत व्यापार बढाएको थियो। २०२२ मार्चमा १ लाख ३४ हजार २ सय २२ युनिट गाडी बिक्री गरेकोमा यो वर्ष १ लाख ५१ हजार ६ सय ६ युनिट गाडी बिक्री गरेको हो।
त्यस्तै, प्यासेन्जर भेइकलको बिक्री पनि १५ प्रतिशत बढेको कम्पनीले जनाएको छ।
गत वर्ष मे महिनामा १ लाख २४ हजार ४ सय ७४ बिक्री भएकोमा यो वर्षको मे मा १ लाख ४३ हजार ७ सय ८ युनिट बिक्री भएको हो। कम्पनीका अनुसार एस–प्रेसो र अल्टो जस्ता साना गाडीको व्यापारमा भने ३० प्रतिशतले गिरावट आएको छ।
यस्ता गाडीहरू गत वर्ष १७ हजार ४ सय ८ युनिट बिक्री भएकोमा यो वर्ष १२ हजार २ सय ३५ युनिट मात्र बिक्री भएको हो।
स्विफ्ट, सेलेरियो, इग्निस, बलेनो र डिजायरजस्ता कम्प्याक्ट मोडलहरूको बिक्री भने ५ प्रतिशत बढेको छ।
यी मोडलका गाडीहरू २०२२ मे मा ६७ हजार ९ सय ४७ वटा बिक्री भएको थियो भने यो वर्ष मे महिनामा ७१ हजार ४ सय १९ युनिट बिक्री भएको हो।
मध्यम आकारको सेडान सियाजको बिक्री ५ सय ८६ युनिटबाट बढेर ९ सय ९२ युनिट पुगेको छ।
ब्रेजा, ग्रान्ड भिटारा र आर्टिगालगायतका युटिलिटी भेइकलको बिक्री गत वर्ष मे महिनाको तुलनामा ६५ प्रतिशत बढेको छ।
यी गाडी २०२२ मे मा २८ हजार ५१ युनिट बिक्री भएकोमा यो वर्षको मे मा ४६ हजार २ सय ४३ युनिट बिक्री भएको हो।
सुजुकीका गाडी निर्यात भने गत वर्षको तुलनामा ३ प्रतिशत घटेको छ। गत वर्ष मेमा २७ हजार १ सय ९१ युनिट बिक्री भएकोमा यो वर्ष मेमा २६ हजार ४ सय ७७ युनिट मात्र बिक्री भएको छ।