काठमाडौं। बिजुलीको माग बढेर २ हजार मेगावाट नजिक पुगेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बिजुलीको माग बढेर पिक आवरमा १ हजार ९ सय ८१ मेगावाट पुगेको हो। यो माग हालसम्मकै उच्च हो।
अब विस्तारै बिजुलीको माग बढ्दै जाने प्राधिकरणका प्रवत्ता सुरेशबहादुर भट्टराईले बताए। पानी नपरेको र गर्मी बढेपछि शहरी क्षेत्र र तराई क्षेत्रमा बिजुलीको माग बढेको उनको भनाई छ।
प्राधिकरणका अनुसार निजी लगानीमा बनेका आयोजनाहरुबाट ६ सय ४७ मेगावाट आपूर्ति भइरहेको छ। विद्युत प्राधिकरणका आयोजनाबाट ४ सय, सहायक कम्पनीहरुबाट २ सय ६४ र २ सय ९२ मेगावाट भारतबाट आयात भइरहेको प्राधिकरणले जनाएको छ।
कालिगण्डकी र मस्र्याङदीमा भएका आयोजनाहरुबाट विद्युत उत्पादन बढेको छ। पूर्वी नेपालको काबेली करिडोर प्रसारण लाइनबाट कम बिजुली आपूर्ति भएपछि विराटनगरलगायत पूर्व क्षेत्रमा विद्युत आपूर्ति कम भएको प्रवत्ता भट्टराईले जानकारी दिए।
एक साताअघि वर्खा हुँदा बिजुली भारतमा निर्यात सुरु भए पनि सुक्खाले गर्दा आपूर्ति कम हुन गई फेरी भारतबाट बिजुली आयात भइरहेको छ। प्राधिकरणका अनुसार विद्युत उत्पादन जडित क्षमता बढेको छ। अहिलेसम्म विद्युत उत्पादन बढेर २ हजार ६ सय ६७ मेगावाट पुगेको छ। कुल जनसंख्याको ९५ प्रतिशतमा बिजुली पंहुच पुगेको छ।
नेपाल विद्युत प्राधिकरणले गत वर्ष ४ सय मेगावाट बिजुली निर्यात गरेको थियो। यो वर्ष १ हजार २ सय मेगावाटसम्म निर्यातका लागि भारतलाई अनुरोध गरेको छ। यसमा भारत सकरात्मक भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।
चालू आर्थिक वर्षमा विद्युत उत्पादन जडित क्षमता ३ हजार मेगावाट पुर्याउने सरकारको लक्ष्य छ। आगामी आर्थिक वर्षमा विद्युत उत्पादन जडित क्षमता बढेर ३ हजार ६ सय मेगावाट पुग्ने भएको छ।
आगामी वर्ष प्रणालीमा ९ सय मेगावाट थप गरेर सो लक्ष्य पुरा गर्न योजना सरकारले सार्वजनिक गरेको हो। आगामी वर्ष चिलिमे हाइड्रोपावर लिमिटेडले बनाइरहेको १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी र ५७ मेगावाटको सान्जेनलगायत निजी लगानीमा निर्माणधिन आयोजना सम्पन्न गरी सो लक्ष्य पुरा गर्ने लक्ष्य सरकारको छ।