काठमाडौं। अर्थशास्त्री स्वर्गीय डा.गोविन्दबहादुर थापाको अर्थतन्त्रको आँखीझ्याल पुस्तक लोकापर्ण गरिएको छ।
अर्थविद् स्वर्गीय थापाद्धारा विभिन्न समयमा लिखित लेख, रचनाहरुको संग्रह गरी बनाइएको पुस्तकको डा गोविन्दबहादुर थापा स्मृती प्रतिस्ठानकी अध्यक्ष इन्दिरा थापा, पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, पुर्वगर्भनर विजयनाथ भट्टराई र पुर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले सार्वजनिक गरेका हुन्।
कार्यक्रममा मन्तब्य राख्दै पुर्वअर्थमन्त्री पाण्डेले थापा पाको उमेरमा पनि पनि जोसिलो, यूवा चरित्र भएको र केही गर्नुपर्छ भन्ने स्वभाव भएको व्यक्ति भएको बताए।
‘म अर्थमन्त्री हुँदा सल्लाहकार टिममा पनि बस्नु भयो। मैले नै उहाँलाई एसियाली विकास बैंक (एडिबी) मा वकल्पिक कार्यकारी निर्देशकको रुपमा पठाउँन सिफारिस गरें। त्यस्तै उहाँ पार्टीको अर्थ योजना विभागमा सचिव भएर लामो समय काम गर्नु भयो,’ उनले भने। पाण्डेले थापालाई लेखिरहने, मेहनत गरिरहने र देशले केही गर्नुपर्छ भनेर लागिरहने व्यक्तित्वको रुपमा स्मरण गर्ने बताए।
थापाको अर्थतन्त्रलाई विश्लेषण गर्ने दृष्टिकोण फरक रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बताए। राष्ट्र बैंकमा मैले उहाँकै विभागमा जुनियर भएर काम गर्ने अवसर पाएको थिए। उहाँको लेख रचनाबाट हामीले धेरै कुरा सिक्ने अवसर पायौं। उहाँले बजेटकै बारेमा धेरै काम गर्नु भयो। पब्लिक फाइनान्स र करका बारेमा उहाँलाई नै सोध्यौं,’ श्रेष्ठले भने।
थापा सरकारी वित्तको नेपालको धेरै ठुलो ज्ञाता भएको पुर्वगर्भनर विजयनाथ भट्टराईले बताए। ‘उहाँ सरकारी वित्तको धेरै ठुलो ज्ञाता हुनुहुन्थ्यो। सरकारी वित्तको बारेमा कुनै कुरा चाहियो, कुनै कुरा बुझिएन भने हामी उहाँलाई नै गुहार्न जान्थ्यौं। अहिले सरकारी वित्तमा भाडभैलो छ। उहाँ भएको भए धेरै कुरा सल्लाह लिन सकिन्थ्यो,’ भट्टराईले भने।
थापा अर्थतन्त्रमा मात्र नभई राजनीति र कला साहित्यमा पनि धेरै रुचि राख्ने व्यक्ति भएको पुर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले बताए।
‘हामीले एसएलसी पास गरेदेखि राष्ट्र बैंकबाट रिटार्यड हुँदासम्म संगत गर्यौ। उहाँ राजनैतिक चेत भएको र अर्थतन्त्र मात्र नभई अरु लेख रचनाहरुमा पनि उत्तिकै अब्बल हुनुहुन्थ्यो,’ उनले भने।
कार्यक्रमको समापन गर्दै स्वर्गीय थापाकी श्रीमति तथा डा गोविन्द बहादुर थापा स्मृती प्रतिस्ठानकी अध्यक्ष इन्दिरा थापाले २०८१ सालमा स्मारिका पनि प्रकाशित गर्ने जानकारी दिइन्।