बीबीसी। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनलाई उछिन्दै भारत सबैभन्दा धेरै जनसंख्या भएको मुलुक बनेको छ। भारत विश्वको पाँचौ ठूलो अर्थतन्त्र पनि हो। अर्थतन्त्र, भूराजनीतिक प्रभाव र सैन्य सामथ्र्यको दृष्टिकोणले भारत भन्दा चीन धेरै अगाडि छ।
चीनको अर्थतन्त्रको १ सय ८३ खर्ब (१८.३० ट्रिलियन) डलरको छ। यस्तै भारतको ३५ खर्ब (३.५ ट्रिलियन) डलरको छ। अर्थतन्त्रको आकार हेर्दा भारत चीन भन्दा धेरै तल छ। यद्यपि भारतको अर्थतन्त्रको आकार बढ्दै गएकाले यो अवस्थामा परिवर्तन आउन सक्ने विज्ञहरूको भनाई छ।
सन् २००१ मा अर्थतन्त्रतर्फ नोबेल शान्ति पुरस्कारबाट सम्मानित माइकल स्पेन्सका अनुसार भारतको आर्थिक रुपमा झनै बलियो हुने समय आइसकेको छ।
‘भारतले चीनलाई जित्ने छ,’ स्ट्यान्डफर्ड यूनिभर्सिटीका डीन तथा प्राध्यापक स्पेन्सले बीबीसीसँग भने। ‘चीनको आर्थिक वृद्धिदर मन्द हुने छ, भारतको हुने छैन।’ यो वर्ष भारतको आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने अनुमान छ।
यस्तै चीनको ५ प्रतिशत हारहारीमा हुने अनुमान गरिएको छ। यद्यपी भारतले आउँदो सन् २०२७ सम्म जापानलाई पछि पार्दै विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने योजना सार्वजनिक गरेको छ। तर, यो लक्ष्य पुरा गर्न उसका अगाडि धेरै चुनौतीहरू छन्।
‘चिनियाँ शैलीमा वृद्धि हासिल गर्न तुलनात्मक रूपमा सानो मध्यमवर्ग भएको भारतले शिक्षा, जीवनस्तर, लैङ्गिक समानता र आर्थिक सुधारका क्षेत्रमा लगानी बढाउनु पर्ने हुन्छ। अहिलेको अवस्थामा विश्वशक्ति बन्नु भनेको जनसंख्या र अर्थतन्त्रभन्दा अझ पर जानुपर्ने कुरा हो।
विश्वशक्ति बन्ने कुरा भूराजनीतिक र सैन्य शक्तिमा निर्भर गर्छ जुन मामिलामा चीनभन्दा भारत निकै पछाडि छ। यसमा सफ्ट पावर अर्थात सौम्य शक्तिले पनि महत्वपूर्ण भूमिका खेल्छ। बलीवुड चलचित्र उद्योगले प्रभावकारी ढङ्गले भारतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्धन गरिरहेको छ र नेटफिलक्समा नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ।
तर, चाइनावुडको प्रभाव पनि देखिन्छ। तीव्र रूपमा बढिरहेको चिनियाँ चलचित्र उद्योगले सन् २०२० मा विश्वभरिको बक्स अफिसमा पहिलो पटक हलीवुडलाई पछि पार्यो। सन् २०२१ मा पनि त्यो क्रमलाई निरन्तरता दियो।
भारतमा प्रत्येक दिन सरदर ८६ हजार शिशुको जन्म हुन्छ भने चीनमा ४९ हजार ४०० जनाको। कम प्रजननदरका कारण चीनको जनसंख्या संकुचित हुँदै गएको छ र यो शताब्दीको अन्त्यसम्मको उसको जनसंख्या १ अर्बबाट तल झर्ने अनुमान छ।
संयुक्त राष्ट्रसंघका अनुसार भारतको जनसंख्या वृद्धि सन् २०६४ सम्म जारी रहने छ। अहिलेको १ अर्ब ४० करोडबाट बढेर सन् २०६४ सम्म १ अर्ब ७० करोड पुग्ने अनुमान छ।
त्यसबाट भारतलाई जनसाँखिक लाभांश ( डेमग्र्याफिक डिभिडेन्ड) प्राप्त हुनेछ। काम गर्ने जनसंख्या बढ्दा हुने आर्थिक वृद्धिको सन्दर्भमा यो शब्दावली प्रयोग हुन्छ।
भारतको आर्थिक गति
सन १९९० को दशकमा भारतका तत्कालिन अर्थमन्त्री डा. मनमोहन सिंहले ल्याएको आर्थिक सुधार नीतिहरूले अहिले प्रतिफल दिइरहेका छ। तर, काम गर्ने उसको जनशक्ति कति शिक्षित, स्वस्थ, दक्ष र अर्थतन्त्रमा योगदान पुर्याउने हुन्छ त्यसले अर्थ राख्ने न्यूयोर्कस्थित इन्डिया चाइना इन्स्टिच्यूटका निर्देशक मार्क फ्रेजर बताउँछन्।
एप्पल र फक्सकनजस्ता बहुराष्ट्रिय कम्पनीलाई आकर्षित गर्नुका बावजुद भारतको प्रशासनयन्त्र र नीतिमा पटकपटक परिवर्तन हुँदा त्यसले निम्त्याउने अस्थितरताका कारण कतिपय अन्तर्राष्ट्रिय लगानीकर्ताहरू हच्किएका छन्।
‘जनसंख्या जति धेरै छ, तपाईं त्यति नै शक्तिशाली हुनुहुन्छ भन्ने उक्ति १९औं शताब्दीकै हो र विश्वशक्ति बन्नलाई अरू तत्व पनि आवश्यक छ’ फ्रेजर भन्छन्।
विश्व बैंकका अनुसार भारतको काम गर्न सक्षम उमेर समूह (१४–६४) को आधा जनसंख्याले मात्र काम गरिरहेको छ अथवा कामको खोजी गरिरहेको छ।
भारतमा महिलाको हकमा त्यो संख्या २५ प्रतिशत मात्र छ। जबकि चीनमा ६० प्रतिशत र युरोपेली सघमा ५२ प्रतिशत छ। सन् १९८० र ९० को दशकमा एकपछि अर्को सुधारको नीति लिएको चीनको अर्थतन्त्र अरू सबै देशभन्दा बढेको छ।
तर, कोभिड महामारी, पाका उमेरका मानिसको जनसंख्या र पश्चिमा देशहरूसँग बढ्दो तनाव लगायतको सम्मिश्रणका कारण उसको आर्थिक वृद्धि प्रभावित भएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रक्षेपणहरूअनुसार भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) तीव्र गतिमा अगाडि बढिरहेको छ र त्यो क्रममा जारी रहने देखिन्छ।
‘सन् २०३० सम्म चीनले ४ प्रतिशतदेखि ५ प्रतिशतको वृद्धि हासिल गर्यो भने त्यो नै प्रभावशाली उपलब्धि हुनेछ। मानिसहरूले ८ देखि ९ प्रतिशतसम्म वृद्धिदर भएको देशमा नराम्रो अवरोह आएको भन्ने छन। त्यो सही बुझाइ हुँदैन’ प्राध्यापक स्पेन्स व्याख्या गर्छन्। ‘चीन अहिले धैरै हदसम्म अमेरिकाजस्तै छ।
अहिलेसम्म हाम्रो ८, ९, १० प्रतिशत आर्थिक वृद्धि भएको छैन। उनीहरू उत्पादकत्व वृद्धिमा निर्भर हुने छन् र मेरो विचारमा शिक्षा, विज्ञान एवंमा प्रविधि क्षेत्रमा गरिरहेको व्यापक लगानीका कारण त्यहाँ पुग्ने छन् उनी भन्छन।’
चीनको सैन्य सामथ्र्य विस्तार
चीन र भारत दुवै परमाणुशक्ति सम्पन्न राष्ट्र हुन्। जुन शक्तिले तिनीहरूलाई विश्वमञ्चमा महत्वपूर्ण रणनीतिक स्थान दिलाएको छ।
द फेडेरेशन अफ अमेरिकन साइन्टिस्ट्सको अनुमानअनुसार बेइजिङसँग दिल्लीको भन्दा अढाई गुना बढी परमाणु अस्त्र बोक्न सक्ने क्षेप्यास्त्र छ। चीनको सशस्त्र फौजमा करिब छ लाख पुरुष छन र चीनले रक्षा उद्योगमा ठूलो लगानी बढाइरहेको छ।
‘चीन व्यापक रूपमा रुसमाथि र आयातित प्रविधि एवं विज्ञतामाथि निर्भर छ। तर, उ आफैंले पनि थुप्रै अनुसन्धान गरिरहेको र मौलिक सैन्य पूर्वाधारको विकास गरिरहेको कुरामा प्रश्न गर्ने ठाउँ छैन’ प्राध्यापक फ्रेजरले भने।
चीनलाई रोक्न अब अमेरिका र अन्य पश्चिमा देशलाई गाह्रो छ। प्रतिरक्षा क्षेत्रमा चीनलाई स्पष्ट फाइदा छ भने भारतसँग विश्वका अधिकांश सैन्य शक्ति रहेको युरोप र अमेरिकासँगको सम्बन्धको फाइदा छ।
‘भारत इन्डो प्यासिफिकको एउटा महत्वपूर्ण रणनीतिक साझेदार हुन सक्छ जहाँ अमेरिकी सरकारले पूर्वी एशिया मात्रै नभई दक्षिण एशिया, प्यासिफिक वेस्टर्न प्यासिफिक ओसन र इन्डिअन ओसनलाई समेटेर चीनवरिपरि एक प्रकारको सुरक्षा क्षेत्र बनाउँदै छ’प्राध्यापक फ्रेजरले थपे।
भूराजनीतिक विकल्प
भारत यो वर्षको जी २० शिखर सम्मेलनको आयोजक हो र उसले त्यसलाई बैठकमा सहभागी हुन आउने विश्वका ८५ प्रतिशत धनीहरूमाझ आफूलाई प्रवर्धन गर्ने अवसरका रूपमा लिएको छ।
अमेरिकामा डोनाल्ड ट्रम्पको शासनकालयता विश्वका अत्यधिक शक्तिशाली देशहरूसँग बेइजिङको सम्बन्धमा फाटो बढ्दै गएको छ।
चीन अझै पनि विश्वका १ सय २० भन्दा बढी देशको प्रमुख आर्थिक साझेदार हो। जसमा रुस, दक्षिण अफ्रिका, साउदी अरब र युरोपेली संघ पर्छन्।
खर्बौं डलर बराबरको उसको पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ) ले पनि चीनलाई विदेशमा राजनीतिक प्रभाव कायम राख्न सघाएको छ। बिआरआईमार्फत विभिन्न १ सय भन्दा बढी मुलुकमा १० खर्ब डलर पूर्वाधार क्षेत्रमा लगानी गरिसकेको छ।
भारतलाई पश्चिमा विश्वले प्रमुख भूराजनीतिक साझेदारका रूपमा हेरेको भए पनि बेइजिङ राष्ट्रसंघको सुरक्षा परिषदको सदस्य हो। उससँग निषेधाज्ञा (भिटो) प्रयोग गर्न पाउने शक्ति छ।
त्यसको सहयोगले राष्ट्रसंघले गर्ने प्रत्येक विश्वव्यापी निर्णयमा उसको महत्वपूर्ण भूमिका हुन्छ।भारत र अन्य उदयीमान अर्थतन्त्रहरूको दशकौंयता यो परिस्थिति बदल्ने प्रयास गरिरहेको भए पनि सफल भएका छैन्।
प्राध्यापक फ्रेजर भन्छन, ‘सुरक्षा परिषद्का स्थायी सदस्यहरूको एउटा नयाँ संलग्नताबारे ठोकुवा गर्न सक्दिन। यद्यपि सन् १९४५ मा भएको द्वन्द्वका विजेताहरूले नै अहिले पनि विश्वको सुरक्षा व्यवस्था हाँक्नुको अर्थ छैन भन्ने हामीलाई थाहा छ।’
प्राध्यापक माइकल स्पेन्स त्यसमा सहमत छन् र भन्छन् ‘मतदानको शक्तिले अहिले आर्थिक आकार र प्रभावसँग बराबरी गर्दैन। तसर्थ कुनै बिन्दुमा विश्वले यी संस्थाहरूमा सुधार गर्नेछ अन्यथा तिनले आफ्नो सान्दर्भिकता गुमाउने छन्। किनभने विकल्पहरू तयार बन्ने छन्’
अहिले मूल विकल्प ब्रिक्स हो र उक्त समूहमा भारत, रुस, चीन र दक्षिण अफ्रिका छन्। त्यसले ‘ग्लोबल नोर्थ’को आर्थिक र भूराजनीतिक प्रभावलाई चुनौती दिने लक्ष्य राखेको छ।एक शताब्दीअघि हलीवुडले अमेरिकी मान्यता र प्रभाव फैलाउने एउटा सशक्त माध्यमका रूपमा चलचित्रलाई स्थापित गरिदियो।
चीन र भारतले पनि त्यो रणनीतिलाई सफलतापूर्वक अनुसरण गरिरहेका छन्। सन् २००७ यता चीनमा निर्मित चलचित्रको संख्या २० गुनाले बढेर ८० हजार पुगेको छ भने अमेरिकामा ४१ हजार र भारतमा ९ हजार ३ सय चलचित्र बनेका छन्। ‘कोभिड
महामारीअघि चाइनावुडले वृद्धिको गतिलाई कायम राख्यो र चलचित्र सहनिर्माण एवं हलीवुड फिल्म स्टुडिओहरू अधिग्रहणमार्फत प्रभाव विस्तार गर्यो’ क्यालिफोर्निया विश्वविद्यालयस्थित सञ्चार तथा संस्कृति अध्ययनका चिनियाँ प्राध्यापक वेन्डी सुले भने।
लगातार सन् २०२० र सन् २०२१ मा अमेरिकी बजारमा लगातार राम्रो गरे पनि कोभिडका कारण चलचित्रघरहरू बन्द हुँदा चिनियाँ बक्स अफिस ३६ प्रतिशतले खस्कियो।
बलीवुड हलीवुडको एसियाली संस्करणको रूपमा परिचित छ। चाइनावुड तुलनात्मक रूपमा धेरै मानिसमा कम परिचित छ। बलीवुडले भारतीय चलचित्रलाई विश्वभरि चिनाएको छ।
‘बलीवुडको प्रभाव विश्वभरि ठूलो र सशक्त छ’ प्राध्यापक सुले भने। चीनमा समेत बलीवुड चलचित्रहरूको चिनियाँ दर्शकहरूमाथि ठूलो प्रभाव छ।
आमिर खानको दङ्गल चीनमा लगभग प्रत्येक हलीवुड फिल्मको तुलनामा धेरै कमायो र लगातार १६ दिनसम्म एक नम्बर रह्यो। त्यो फिल्म लगातार ६० दिनसम्म चल्यो जुन विश्वसिनेमा इतिहासमा धेरै चल्नेमध्ये एक हो।