बुबा-आमाको चाहनाअनुसार शैलजा अधिकारीले तत्कालीन ग्रिनलैज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड) मा ११ महिना काम गरिन्। आमा नेपाल राष्ट्र बैंक र बुबा राष्ट्रिय वाणिज्य बैंकका जागिरे भएकाले छोरीले पनि बैंकमै ‘करियर’ बनाए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविक नै थियो। दिनहुँ बैंक जाने र आउने गर्दा उनले चाहेको र सोचेजस्तो नयाँ केही गर्न नमिल्ने भएपछि जागिरे यात्रा बिट मार्ने निधोमा पुगिन्। उनको यो निर्णयमा बुबाले पूर्णरूपमा साथ दिए।
उमेर भर्खर २१ मात्र भएको थियो। सानै उमेर भएकाले कस्तो व्यापार गर्ने र कस्तो काम गर्ने भन्ने निर्णय गर्न सक्ने उमेर उनेका थिएन। पारिवारिक वातावरण पनि बैंकिङ भएकाले व्यावसायिक यात्रा शैलजाका लागि विल्कुलै नयाँ थियो। नयाँ यात्रा भए पनि जोश र अठोट भए व्यवसायमा सफल भइन्छ भन्ने उनलाई लागेको थियो।
स्नातकसम्म नेपालमा पढेर फेसन र आर्ट्समा भारतबाट एमबिए गरेकी शैलजालाई फेसनमा बाल्यकालदेखि नै रुचि थियो। र, कम्प्युटर क्षेत्रमा पनि अध्ययन गरेको हुनाले उनीसँग यसको राम्रो ज्ञान थियो।
जसलाई उनले व्यावसायिक यात्रामा बदल्ने निर्णय गरिन्। अनि, सन् १९९७ मा काठमाडौं बागबजारमा आइसी कलेज अफ आटर््स एन्ड फेसन र कम्प्युटर कोर्स सुरु गरिन्। र, बैंकिङ करियर अन्त्य गर्दै आफूले अध्ययन गरेको फेसन डिजाइन र कम्प्युटर क्षेत्रमार्फत नयाँ व्यावसायिक पाइला अगाडि बढाइन्।
बैंकमा जागिर गर्दा बचेको र केही ऋण गरेर उनले व्यावसायिक यात्रा सुरु गरिन्। नेपालमै पहिलोपटक फेसन डिजाइन र इन्टेरियर डिजाइनसम्बन्धी अध्ययन गराउने भएकाले होला, धेरैले विश्वास गरिसकेका थिएनन्। तर, उनले हार खाइनन्। कुनै समय यसको दिन आउछ भन्ने पर्खाइमै शैलजा थिइन्।
अध्ययन गर्न आउने घटेपछि फेसन डिजाइनसम्बन्धी आकर्षण बढाउन ‘नेपाल फेसन विक’ सँगै ठुल्ठूला कार्यक्रम आयोजना गरिन्। जसको प्रभावस्वरूप फेसन र इन्टेरियरसम्बन्धी अध्ययन गर्न चाहनेको संख्या बिस्तारै बढ्न थाल्यो।
२००२ बाट बिस्तारै लय समात्न थालेको कलेजले २००४ मा गएर झनै राम्रो गर्यो। र, त्यो बेला नसोचेको सफलता मिल्दै गयो। २००६ तिर कम्प्युटर कोर्स बन्द गराएर फेसन र इन्टेरियर डिजाइनलाई मात्र ‘फोकस’ गरिन्। अहिले उनको कलेज काठमाडौं डिल्लीबजार र भक्तपुर लोकन्थलीमा छ। जहाँ अन्तर्राष्ट्रियस्तरको फेसन डिजाइनसम्बन्धी पढाइ हुन्छ।
युरो किड्स यात्रा
एउटा व्यापारले लय समात्न थालेपछि शैलजाको दिमागमा थप लगानी विस्तार गर्ने हुटहुटी चल्यो। फेसन डिजाइनसम्बन्धी कलेज स्थापित भइसकेकाले अब शिक्षाको जग बसाल्न सानैदेखि तयारी थाल्नुपर्छ भन्ने सोच उनले राखिन्। त्यसका लागि प्रि–स्कुल सुधारको खाँचो नेपालमा रहेको उनले देखिन्। हुन त उनले आइएससीको परीक्षा दिएर ६ देखि ८ महिना फुर्सदका बेला स्कुलमा पढाएकी थिइन्। त्यो बेला उनले ५ देखि ८ कक्षासम्मका विद्यार्थीलाई विज्ञान विषय अध्यापन गराउँथिन्।
कक्षाको समय सकिनेबित्तिकै साना कक्षाका विद्यार्थीसँग घुलमिल हुन गइहाल्थिन्। उनले त्यही बेला भविष्यमा कुनै समय यिनै स साना बालबालिकालाई राम्रो वातावरणमा पढाइ हुने थलो स्थापित गर्छु भन्ने अठोट भने गरिसकेकी थिइन्। मात्र, कहिले र कहाँ गर्ने भन्ने निधोमात्र गरेकी थिइनन्।
त्यो बेला नेपालमा प्रि स्कुलको निकै राम्रो भविष्य रहेको अध्ययन क्रममा पाइन्। र, प्रि-स्कुलमा अध्यापन गराउन आवश्यक पाठ्यक्रम कस्ता कस्ता राख्ने र कसरी स्थापना गर्ने भन्ने विषयमा छलफल अगाडि बढाएर आफैंले त्यसबारे तालिम लिने सोचसाथ भारत कोलकाता पुगिन्।
त्यहाँ उनले धेरै ठाउँमा ‘युरो किड्स’ को बोर्ड देखिन्। र, उनी तालिमकै बीचमा ती स्कुल भ्रमण (भिजिट) गर्न थालिन् र सञ्चालनबारे बुझ्न थालिन्। त्यो बेला उनले अरू ब्रान्ड भिजिट गर्दा युरो किड्स नै नेपालका लागि उपयुक्त छ भन्ने निधोमा पुगिन्। त्यो बेला युरो किड्सको मुख्यय युरोपको पोल्यान्डमा थियो।
पोल्यान्डमा इग्मन्ट इन्टरनेसनलका नाममा चलेको थियो। त्यहाँको व्यवस्थापनदेखि पाठ्यक्रमसमेत उत्कष्ट लागेकाले त्यसैको ‘फ्रेन्चाइजी’ नेपाल ल्याउने निधोमा उनी पगिन्। र, २००७ बाट नेपालमा युरो किड्सको पहिलो फ्रेन्चाइजी टंगालमा खोलिन्।
स्थापनाको पहिलो सत्रमै उनको स्कुलमा ६० विद्यार्थी भर्ना भए। हुन त उनले नेपालमा भएका प्रिस्कुलभन्दा फरक जहाँ बच्चाका लागि खेल्ने, बस्ने र रमाउने ठाउँ समेत उत्कृष्ट बनाएकाले पनि धेरैको मन पहिलो सत्रमै जित्न सफल भएको हुनसक्ने उनको अनुभव छ।
स्कुलले गति लिँदै गएपछि हात्तीगौंडा, सामाखुसी र तीनकुनेमा शाखा सञ्चालनमा ल्याइन्। शैलजाको युरो किड्समा मात्र अहिले १ हजार १ सयभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन्। उनले सञ्चालनमा ल्याएका चारवटै स्कुल प्रिमियम हुन्।
प्रिस्कुलको सफलताले पाइला अगाडि बढिरहेका बेला अविभावकले माथिल्लो तहको पनि पढाइ हुनुपर्यो भन्ने माग आएपछि २००८ मा युरो स्कुल सञ्चालनमा ल्याइन्। अहिले काठमाडौंमा युरो किड्सका २५ भन्दा बढी विद्यालय सञ्चालनमा छन्।
भारतबाटै ‘अडिट’
नेपालमा सञ्चालित युरो स्कुलहरूलाई भारतबाटै लेखापरीक्षण (अडिट) गर्ने गरिएको छ। आन्तरिकरूपमा नेपालमा अडिट भए पनि भारतबाट पनि हुने गरेको छ। भारतबाट फाइनान्सको मात्र नभई, यहाँको गुणस्तरबारे पनि अडिट हुने गरेको छ।
यसको एकमात्र कारण यहाँ सञ्चालित स्कुलको गुणस्तर कहिले पनि नखस्कियोस् भन्ने हो। अहिले बिस्तारै काठमाडौंमा युरो स्कुलको फ्रेन्चाइजी बन्द भएको छ। केही वर्ष अघिसम्म फ्रेन्चाइजी लिँदा शैलजाले पनि अनुगमना गर्ने गरेकी थिइन्। पछिल्लो समय भने नयाँ व्यापारमा ध्यान दिनुपर्ने भएकाले छाडेको उनी बताउँछिन््।
१९९७ मा कलेज सञ्चालन गर्दा उनले ऋण खोजेर लगानी गरेका थिए। उनको त्यो बेलाको संयोग पनि गज्जबकै रहेछ। पहिलो बिजनेस सुरु गर्दा २१ लाख ऋण, २१ प्रतिशत सेयर र २१ वर्षकै उमेर थियो। बालबालिकालाई दिने शिक्षामा कहिले पनि सम्झौता गरिनन्। उनले व्यवसाय गर्दा ४५ लाख रुपैयाँबाट आफ्नो व्यवसाय सुरु गरेकी हुन्। अहिले उनीमातहत १२ वटा कम्पनी सञ्चालनमा छन्।
‘शुल्क महँगो होइन’
विशेषगरी विद्यार्थी भर्नाका बेला निजी विद्यालयलाई लाग्ने आरोप एउटै हुन्छ, महँगो शुल्क लियो। यो आरोप युरो किड्सले पनि लामो समयदेखि भोग्दै आएको छ। ‘नेपालमा पछिल्लो समय राम्रो हुँदै आएको शिक्षा र स्वास्थ्य क्षेत्रप्रति किन धेरै नकारात्मक सन्देश गइरहेको हो?,’ शैलजा भन्छिन, ‘हामीले यहाँ सुविधासम्पन्न विद्यालय सञ्चालन गरेकै कारण अध्ययनका लागि विदेशिने पैसा रोकेका छौं। पहिला–पहिला स–साना बालबालिकालाई अध्ययन गर्न भारतका विभिन्न ठाउँ पठाउने गरिन्थ्यो। त्यसलाई केही हदसम्म हामीले रोक्न सफल भएका छौं।’
पछिल्लो समय नेपालमै राम्रा स्कुल सञ्चालनमा आउँदा अध्ययनकै लागि बालबालिकालाई बाहिर पठाउनुपर्ने बाध्यता हटेको देखिन्छ। अहिले हुनेखानेले ९५ प्रतिशत बालबालिका नेपालमै पढाइरहेका छन्। यो सम्भावना भनेको युरो किड्सजस्तै सुविधा सम्पन्न र स्तरीय स्कुलका कारण भएको हो। भारतमा अध्ययन गराउँदा महिनाको २ देखि ३ लाख भारतीय रुपैयाँ (भारु) तिर्नुपर्छ।
नेपालमा मासिक ३० देखि ४५ हजार रुपैयाँमा त्यहाँको स्तरको पढाउन पाउँदा पनि विरोध गरिरहनुपर्ने अवस्था देखिँदैन। अहिले नेपालमा धेरै विद्यालय सञ्चालनमा रहेकाले अभिभावकले पनि रोजी–रोजी पढाउन पाइरहेका छन्। शुल्क महँगो भएको विषयलाई लिएर शैक्षिक संस्थामाथि दबाब दिँदा अन्ततः बन्द भयो भने फेरि ती अविभावकले आफ्ना बच्चा पढाउन विदेश पठाउनुपर्ने बाध्यता आउन सक्छ। त्यसैले शुल्क महँगो भएको विषयभन्दा अन्तर्राष्ट्रियस्तरको पढाइ यहाँ भएको छ वा छैन भन्ने विषयमा अध्ययन बढाउन आवश्यक रहेको उनको भनाइ छ।
बैंक छाडेर निजी स्कुलमा जागिर
निजी स्कुलमा गुणस्तरीय अध्यापन गराउन कर्मचारीलाई समेत राम्रो सेवा सुविधा दिँदै आएको दाबी शैलजा गर्छिन्। अहिलेको सबैभन्दा आकर्षक जागिर भनेकै शिक्षक भएको बताउँदै राम्रो तलब र सेवा सुविधा रहेको उनी बताउँछिन्। उनका अनुसार अहिले ठुल्ठूला बैंकबाट जागिर छाडेर ‘एडमिन’ को काम गर्न आउनेको संख्या धेरै रहेको छ।
उनीहरूले पाउने सेवा सुविधासहित मानसिकरूपमा ‘फ्रेस’ गर्न बिदासमेतको सुविधा दिने गरिएको छ। बैंक तथा वित्तीय संस्थाभन्दा युरो किड्सका स्कुलमा सेवा सुविधा राम्रो भएकाले धेरैको रोजाइ यता परेको हुनसक्छ। शैलजाको हरेक व्यवसायमा काम गर्नेमा सबैभन्दा बढी महिला छन्।
‘एजुकेसन हब’ सपना
नेपाललाई शैक्षिक केन्द (एजुकेसन हब) बनाउन सकिन्छ भन्ने अभियानमा शैलला लागेकी छिन्। अहिले तराई क्षेत्रमा सञ्चालित निजी स्कुलमा भारत उत्तर प्रदेश र बिहारका बालबालिका अध्ययन गर्न आइरहेका छन्। युरो किड्समै अध्ययन गर्नेहरू अमेरिका, भारत, बंगलादेश र चीनलगायत देशका राजदूतावासमा कार्यरत कर्मचारीका बालबालिका धेरै छन्।
चीनबाट नेपालमा व्यापार गर्न आउने अधिकांशले युरो किड्समै आफ्ना बालबालिका पढाइरहेका छन्। ‘यो भनेको त नेपालमा शिक्षा राम्रो र सस्तो छ भनेर लिएर आउने हुन्। पछिल्लो समय बिस्तारै बाहिरबाट अध्ययन गराउनकै लागि बालबालिका नेपाल आउन थालेका छन्,’ शैलजा भन्छिन्, ‘मेरो सपना छ, अबको १० वर्षभित्र बेस्ट रेसिडेन्टल स्कुल खोल्ने छ। अन्तर्राष्ट्रियस्तरको स्कुल बनाउने योजना छ। सरकारले हामीले बनाउने पाठ्यक्रममा धेरै काँटछाँट नगरिदिए हुन्छ र काम गर्ने वातावरण बनाए पुग्छ।‘
आइसी ग्रुप
व्यवसाय विस्तार हुँदै गएपछि उनले अहिले आइसी ग्रुप बनाएकी छिन्। विशेषगरी शिक्षा क्षेत्रमै लगानी विस्तार गरेकी शैलजाले ‘एजुकेसन आवर फेसन’ नारासाथ स्थापना भएको आइसी ग्रुपअन्तर्गत अहिले सातवटा कम्पनी सञ्चालनमा छन्।
त्यस्तै भने नेपाल फेसन विक आयोजना गर्दै आएकी छिन्। हाल ग्रुपअन्तर्गत युरो किड्स, आइसी कलेज अफ आर्ट फेसन, लेट्स टक, युरो स्कुल, मनैया अब्रोड, आइसी स्कुल अफ आर्ट एन्ड फेसन र युरो किड्स शिक्षकलाई तालिम दिने इटी नामक इन्स्टिच्युट सञ्चालनमा छन्। छोटो अवधिमा मिलेको सफलताको श्रेय उनले आफ्नो टिमलाई दिने गरेकी छिन्।
कर्मचारीको साथ र सहयोगकै कारण सफलता मिलेको उनी सगर्व सुनाउँछिन्। फेसन र इन्टेरियर डिजाइन अध्ययन गर्नेको संख्या लोभलाग्दो छ। अध्ययन गरेलगत्तै स्वरोजगार बन्न पाउने भएकाले पनि धेरैको लगाव यसतर्फ बढेको शैलजाको अनुभव छ।