काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान वेरोजगार समस्यालाई समधान गर्न कृषिलाई आधुनिकीकरण गर्न आवश्यकता रहेको औँल्याएका छन् । नेपाल कृषि प्रधान देश भनिएता पनि कृषिलाई आधुनिकीकरण गरी व्यवसायिक बनाउन नसकेकै कारण बेरोजगार समस्या उत्पन्न भएको प्रधानमन्त्री ओलीको विश्वास रहेको छ ।
‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०७६’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशभित्रै रोजगारीको सिर्जना गर्न सरकारले कृषि पेशालाई विषेश जोड दिँदै आएको जानकारी दिए ।
शिक्षालाई जीवन उपयोगी बनाउनका लागि व्यवसायिक शिक्षालाई अगाडि बढाउँदै जाने सरकारको योजना रहेको प्रधानमन्त्री ओलीको भनाई छ । व्यवसायक शिक्षा नभएकै कारण धेरै कृषकहरुले उत्पादन गरेको तरकारी र फलफूलले बजार नपाउँदा कृषकहरुमा निराशा छाएको प्रधानमन्त्री ओलीको ठम्याई छ ।
‘अहिले कृषकहरुले उत्पादन गरेको खाई पनि नसक्ने र बजारमा पुर्याउन पनि नसक्ने अवस्था छ, प्रधानमन्त्री ओलीले भने, बजार नपाएपछि सडकमा लगेर तरकारी फ्याक्छन् र गाडीले किल्चेपछि आशु झार्ने गर्छन् ’ । प्रधानमन्त्री ओलीले भने, ‘अव बजारसम्म पुग्ने गरी उत्पादन गर्ने वातावरण सरकारले निर्माण गर्ने र त्यसको लागि आवश्यक प्राविधिकदेखि आवश्यक सामाग्रीहरु सरकारले दिने छ ।
श्रम मन्त्री गोकर्ण विष्टले आन्तरिक र बाह्य रोजगारलाई सुरक्षीत बनाउन सम्मेलनले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वार्षिक ५ लाख जनसंख्या रोजगारीको लागि तयार हुने भएकोले तीनिहरुलाई आन्तरिक बजारमै रोजगार दिन सम्मेलनले विषेश जोड दिने उनको भनाई छ ।
पूर्व श्रम मन्त्री एवंम नेपाली काँग्रेसका नेता रमेश लेखकले आन्तरिक रोजगारलाई बढावा दिन सके बैदेशिक रोजगारमा जानेको संख्यामा कमी आउने भएकोले सम्मेलन त्यसतर्फ केन्द्रित हुन सुझाव दिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली श्रम बजारमा रोजगारीको ठूलो सम्भावना भएका क्षेत्रको माग र आपूर्तिको अवस्था विश्लेषण गर्न, श्रम शक्तिको सीपको अवस्था पहिचान गर्दै स्वदेशमा नै सम्भावनायुक्त क्षेत्रमा युवाको आकर्षण बढाउने नीति बनाउन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गरेको हो ।
कुन क्षेत्रमा रोजगारी छ र रोजगारी रहेका क्षेत्र र बेरोजगारहरुलाई जोड्ने नीति बनाउन पनि सम्मेलनले सहयोग गर्ने अपेक्षाका साथ सम्मेलनको आयोजना गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मीले जानकारी दिए ।
दुई दिनसम्म चल्ने सम्मेलनमा प्रविधिक सत्र अन्तर्गत कार्यपत्र प्रस्तुत र छलफल हुनेछ भने सीप तथा उद्यमको प्रदर्शनी पनि राखिएको छ । कार्यपत्र प्रस्तुत अन्तर्गत दुई दिनमा ९ ओटा विषयमा करिब ५० जना विषयगत विज्ञको टोलीले प्रस्तुती, टिप्पणी तथा सहजिकरणको व्यववस्था मिलाएको मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा नमुना उद्यमीहरुको प्रदर्शनी कक्ष पनि रहने छ जसमा विभिन्न क्षेत्रका उद्योगी समुह, उद्यमीको सञ्जाल तथा व्यवसायीहरुले आफ्ना क्षेत्रका व्यवसाय विस्तारको सम्भावना, सीप तथा क्षमता विकासको आवश्यकतालगायतका विषयमा प्रदर्शनी गर्ने जनाइएको छ ।