काठमाडौं। नेपालमा ‘फाइभ–जी’ परीक्षण सुरु भएको लगभग चार महिनापछि व्यावसायिक प्रयाेजनका लागि अघि बढाउने तयारी भएको छ।
सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले २०७९ माघ २२ देखि काठमाडौंमा सुरु गरेको फाइभ–जीको आन्तरिक परीक्षण हाल आएर व्यावसायिक प्रयाेजनका लागि अघि बढाउने तयारी भएको हो।
आन्तरिक परीक्षण सुरु भएको लामो समयसम्म पनि फाइभ–जी प्रगति शून्य भएको भन्दै टेलिकमको आलोचना हुँदै आएको छ। नागरिक आफैंले परीक्षण गरेर फाइभ–जीको अनुभूति गर्न नपाएको र आन्तरिक परीक्षण सुरु भएको लामो समयसम्म पनि कुनै नतिजा नआएको भन्दै यसको आलोचना हुँदै आएको हो।
यहीबीचमा फाइभजी परीक्षणको जिम्मा पाएको टेलिकमले काठमाडौंमा सुरु गरेको फाइभ–जी परीक्षण प्रगति शून्य अवस्थामा रहँदारहँदै पोखरा र वीरगन्जमा पनि आन्तरिक परीक्षण विस्तार गरिसकेको छ। जसका कारण पनि टेलिकमले थप आलोचना सहनुपरेको छ।
काठमाडौं बबरमहल र सुन्धारास्थित कार्यालयबाट फाइभ–जी नेटवर्कको आन्तरिक परीक्षण सुरु गरेको टेलिकमले केही साता अघिबाट गण्डकी पोखरा र मधेस प्रदेश वीरगन्जबाट पनि फाइभ–जी परीक्षण गरिरहेको छ। तर, अब भने केही सानो–सानो ठाउँबाट व्यावसायिक परियोजनामा अघि बढ्न तयारी थालिएको टेलिकम स्रोतले जानकारी दिएको छ।
‘फाइभ–जी परीक्षण काठमाडौंसँगै वीरगन्ज र पोखरामा पनि भइरहेको छ। अब बिस्तारै सानो–सानो ठाउँबाट व्यावसायिक प्रयाेजनमा अघि बढाउने कुरा आएको छ तर अहिलेसम्म निक्र्योल भने भइसकेको छैन,’ टेलिकम स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘यसलाई ओइएम (ओरिजनल इक्विपमेन्ट म्यानुफ्याक्चर) को विक्रेता (भेन्डर) हरूसँग कुरा गरेर विकास प्रयाेजनका लागि अघि बढाउने कुरा भएको छ।’
हाल फाइभ–जीको आन्तरिक परीक्षण भइरहेको समयमा यसलाई प्रभावकारी ढंगले अगाडि बढाउन सरकारले पनि अपनत्व लिनुपर्ने विषय उठेको छ। केही साता अघि अपरेटर र ओइएमको भेन्डरहरू सदस्य रहेको एक कार्यक्रममा जिएसएमएका प्रतिनिधिले फाइभ–जी अगाडि बढाउन सरकारले पनि जिम्मेवारी लिनुपर्ने कुरा गरेका थिए। त्यसपछि प्राधिकरणले पनि सोहीअनुसार प्रक्रिया अगाडि बढाएको छ।
‘फाइजी अघि बढाउन सरकारले पनि केही अपनत्व लिनुपर्छ भन्ने ढंगबाट प्राधिकरणले प्रक्रिया अगाडि बढाएको जानकारी आएको छ,’ स्रोतले भन्यो, ‘यसो भएपछि अब फाइभ–जीले गति लिन्छ भन्ने विषयमा आशावादी हुन सकिन्छ।’
यसबाट फाइभ–जीलाई व्यावसायिक प्रयोजनका लागि अघि बढाउन थप सहज हुने बताइएको छ।
यस्ता छन् फाइभ–जीका व्यावसायिक प्रयोग
फाइभ–जी फोर–जी वा थ्रि–जीजस्ता अघिल्लो पुस्ताको नेटवर्कभन्दा अझ ‘एडभान्स’ र विशिष्ट छ। त्यसैले फाइभ–जीलाई ‘इन्टरनेट अफ थिङ्स’, ‘भर्चुअल रियालिटी’, ‘अग्मेन्टेड रियालिटी’ जस्ता अत्याधुनिक डिजिटल वातावरणको मुख्य पूर्वाधार मानिन्छ।
फाइभ–जी नेटवर्क गतिका हिसाबले उच्च छ भने यसले कम विद्युतीय शक्ति खर्च गर्ने भएकाले मोबाइल डिभाइसको ब्याट्री लामो समय टिकाउ हुने पनि बताइन्छ। यसले ‘क्लाउडबेस’ कम्प्युटर स्रोतको उपयोग प्रोत्साहित गर्ने बताइएको छ। यसमा उद्योग वा कार्यालयहरूको खर्चमा कमी ल्याउने विशेषता उपलब्ध छ। यसको व्यावसायिक प्रयोगको क्षेत्र पनि व्यापक छ।
स्मार्ट सिटी
विश्वको विकसित सहरमा ट्राफिक मनिटरिङ, स्ट्रिटलाइट म्यानेजमेन्ट, क्लाउडबेस डिजास्टर, क्राउड व्यवस्थापन कार्यका लागि पनि फाइभ–जी प्रयोग गरेको पाइन्छ।
औद्योगिक प्रयोग
उद्योग तथा कलकारखानामा स्वचालित मेसिन, रोबोट प्रयोग तथा उत्पादित वस्तुको प्याकिङ गर्न फाइभ–जी प्रयोग भएको पाइन्छ।
स्मार्ट फार्मिङ
कृषि क्षेत्र विकासका लागि चाहिने कृषि उपकरण सञ्चालन गर्नुका साथै स्वचालित सिँचाइ तथा वस्तुपालनमा स्वचालित बिजुली बत्ती, सिसी क्यामेरालगायत सामग्री उचित व्यवस्थापन गर्न फाइभ–जीे प्रयोग भएको पाइन्छ।
‘रिमोटली’ बिरामीको अपरेसन
स्वास्थ्य क्षेत्र अस्पतालमा विशेषज्ञहरूबाट ‘रिमोटली’ बिरामीको अपरेसन गर्नेलगायत स्वास्थ्य उपचार फाइभ–जीबाट गर्न सकिन्छ।
अटोनोमस ड्राइभिङ
प्रविधिमैत्री गाडीसमेत उत्पादन तथा सञ्चालनमा रहेकाले ड्राइभररहित कार र सवारी सञ्चालन गर्नसमेत प्रयोग हुने देखिन्छ।
ड्रोन अपरेसन
भौगोलिक अवस्थाले विभिन्न क्षेत्र सुरक्षा निकाय, फिल्म सुटिङ, युद्धलगायत कार्यमा ड्रोन प्रयोग अत्यधिक भइरहेको अवस्थामा त्यसको उचित सञ्चालन तथा नियन्त्रणमा समेत फाइभ–जी प्रविधिले सहयोग गरेको पाइन्छ।
सुरक्षा
सुरक्षा निकाय तथा अन्य कार्यालयमा सुरक्षा कार्यका लागि विभिन्न किसिमको सफ्टवेयरसहित सुरक्षा व्यवस्था गरेको पाइन्छ। जसका निगरानी तथा नियन्त्रणलाई अझ मजबुत बनाउन वास्ताविक समयको क्रियाकलापको सूचना प्रवाह गर्नसमेत उच्च गतिको इन्टरनेट आवश्यक हुन्छ। जसमा फाइभ–जीको प्रयोग गर्न सकिन्छ।
स्मार्ट होम
कम्प्युटर, मोबाइल वा विद्युतीय डिभाइसबाट फाइभ–जीको प्रयोग गरी घरमा रहेका बिजुली बत्ती, पंखा, टेलिभिजन, एयरकन्डिसनर, वासिङ मेसिनलगायत घरायसी उपकरणको सञ्चालन तथा निरीक्षण गर्न सकिन्छ।
विश्वव्यापीरूपमा एकसाथ चलचित्र ‘रिलिज’
सूचना प्रविध युगमा मनोरञ्जनसम्बन्धी कार्यमा पनि उच्च गतिको इन्टरनेटको माग बढ्दै गएको अवस्था छ। विश्वव्यापीरूपमा एकै समयमा एकैपल्ट चलचित्र ‘रिलिज’ गर्नेदेखि लिएर फिल्म सुटिङ तथा भिडियो इफेक्ट (भिएफएक्स) कार्यलाई सहज बनाउनसमेत फाइभ–जी इन्टरनेट प्रभावकारी मानिन्छ।
नेपाल दूरसञ्चार प्राधिकरणले फाइभ–जी परीक्षणका लागि नेपाल टेलिकमलाई २६०० मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ। फाइभ–जी विश्वबजारमा विस्तार भइरहेको पछिल्लो मोबाइल नेटवर्क हो। फाइभ–जीलाई सन् २०१९ बाट प्रयोगमा ल्याइएको थियो। यसमा सामान्यतया २० गिगाबाइट (२० हजार मेगाबाइट) प्रतिसेकेन्डसम्म डेटा सार्ने क्षमता हुन्छ।
यसअघि पहिलो पुस्ताको मोबाइल नेटवर्कमा २ किलोबाइट प्रतिसेकेन्ड डेटा सार्ने क्षमता थियो भने दोस्रो नेटवर्क टु–जीमा ६४ किलोबाइट प्रतिसेकेन्ड डेटा सार्न सक्ने क्षमता थियो।
त्यस्तै थ्रि–जी नेटवर्कमा सरदर ३ मेगाबाइट (३ हजार किलोबाइट) प्रतिसेकेन्डसम्म डेटा सार्ने क्षमता थियो भने फोर–जीमा २० मेगाबाइट प्रतिसेकेन्डसम्मको क्षमता छ।