काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शान्ति अहिंसाका प्रवर्तक महात्मा गान्धीको समाधिस्थल पुग्दै गर्दा बिहीबार बिहान हल्का वर्षा भइरहेको थियो।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले त्यसलाई आफ्नै शब्दमा बिहीबार साँझ आयोजित कार्यक्रम व्यक्त गरेका भनाई हो “आज बिहान हामी महात्मा गान्धीको समाधिस्थल जाँदै गर्दा हल्का वर्षा भइरहेको थियो। त्यसले हामी सबैलाई सकारात्मक अनुभूति गराएको थियो”, प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल र भारतबीचको सम्बन्ध आजका दिनदेखि नयाँ चरणमा प्रवेश गरेको छ।”
प्रधानमन्त्री दाहालले आफ्नै शब्दमा प्रस्तुत गरेको जस्तै नेपालले लामो समयदेखि माग गर्दै आएका केही महत्वपूर्ण विषयमा यस पटक सहमति भएको छ। बिजुली व्यापारको तीव्र प्रतीक्षामा रहेको नेपालले आफ्नो आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने गरी अनमति पाएको छ। उच्च राजनीतिक तहमा सहमति भएपछि केही प्राविधिक विषयमा क्रमशः सहमति बन्दै जान्छ।
भारतले नेपालबाट आगामी एक दशकमा १० हजार मेगावाट बिजुली आयात गर्ने भएको छ। यस्तै, ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीलगायतका आयोजनाको बिजुुलीसमेत खरिद गर्ने भएको छ। यो आफैँमा महत्वपूर्ण सहमति हो।बजार निश्चित भएपछि अब नेपालको जलविद्युतमा स्वदशका साथै विदेशबाट पनि ठूलो लगानी आउने संभावना बढाएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बिजुली व्यापारमा त यो ऐतिहासिक ‘ब्रेक थ्रु’ नै हो । बुधबार भारतको औपचारिक भ्रमणमा आएका प्रधानमन्त्री दाहालले बिहीबार उनका भारतीय समकक्षीदेखि यहाँका राष्ट्रपति, उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका थिए्।
साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको नेपाल बिजनेश समिटलाई समेत सम्बोधन गरेका थिए। भ्रमणका क्रममा केही ऐतिहासिक र दूरगामी महत्वका विषयमा सहमति र समझदारी भएका छन्। जुन नेपालको समग्र आर्थिक विकास र समृद्धिका लागि कोसे ढुङ्गा सावित हुनेमा कुनै दुविधा नरहेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ।
प्रधानमन्त्रीले बिहीबार हैदरावाद हाउसमा आफ्ना समकक्षीका बीचमा गरेको छलफलपछि विभिन्न सात वटा विषयमा सहमति भएका छन्।
त्यसमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको शिलान्यास, फुकोट कर्णाली जलविद्युत् आयोजना, रेल्वे लाइनको उद्घाटन, एकीकृत जाँचचौकी, दोधारा चाादनीमा सुक्खा बन्दरगाहको निर्माण, पेट्रोलियम पाइप लाइनकोे निर्माण र तल्लो अरुण जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पीडिए) छन् । यस्तै, नेपालले हवाई मार्गका सम्बन्धमा राखेको विषयमा समेत महत्वपूर्ण सहमति भएको परराष्ट्र मन्त्रालयको भनाइ छ।
यस्तै, नेपालको बिजुली बंगलादेश निर्यात गर्ने विषयमा समेत महत्वपूर्ण समझदारी बनेको छ। बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चाहेको र त्यसमा भारतको सहमतिसमेत खोजिरहेको अवस्थामा बिहीबार भएको सहमति त्रिदेशीय विकासका लागि समेत महत्वपूर्ण परिघटना बन्न पुगेको छ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भने, भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाल र भारतबीचको सम्बन्ध हिमालय जतिकै उच्च रहेको विश्लेषण गरे। उनले भने, “हामी आफ्नो सम्बन्ध हिमालय जतिकै उचाइ दिनको लागि काम गरिरहन्छौँ। यो यही भावनाबाट हामी सबै मुद्दाको चाहे सीमाको हो या कुनै अरु विषय सबैको समाधान गर्छौँ।”
प्रधानमन्त्रीको भारत भ्रमणपछि वर्षौंदेखि थाँती रहेका विषय क्रमशः समाधानको दिशामा अग्रसर भएका छन्। दुई देशका बीचमा नयाँ आधारमा सम्बन्धको सुरुआत भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
बिहीबार साँझ प्रधानमन्त्री प्रचण्ड बसेको होटल आइसी मौर्यमा आयोजित कार्यक्रममा भारतका सङ्घीय मन्त्री पियूष गोयलले पनि नेपाल र भारतबीचको सम्बन्ध सीमा, भूराजनीतिले निर्धारण नगर्ने, बरु हामी एकै परिवारका सदस्य भएको बताएका थिए।
नेपाल र भारतबीचको सम्बन्ध ठूलो दाजु र भाइको जस्तो नभई पारस्परिक विश्वास र सम्मानमा आधारित रहेको बताए। दुई देशा प्रधानमन्त्रीबीच बिहीबार भएको छलफलले नयाँ विश्वास र सद्भावको आधार बनाएको उनको भनाइ छ।
बिजुली व्यापारमा सम्बन्धमा भएको पछिल्लो सहमतिले नेपालमा ऊर्जाको क्षेत्रमा थप लगानी भित्रने उनीहरुको भनाइ छ। महासङ्घका अध्यक्ष ढकालले पनि बिजुली व्यापारका सम्बन्धमा आजको सहमति आफैँमा महत्वपूर्ण भएको बताए।
उनले नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा नै बिजुली बिक्री गरेर एउटा तथ्य स्थापित गरिसकेको बताउँदै आजको सहमति पछि थप नयाँ आधार तयार हुने र नेपालको समृद्धिको दिन धेरै टाढा नभएको बताए। आउँदो २ वर्षभित्र नेपालले भारतबाट बिजुली आयात बन्द गरी शुद्धनिर्यातकर्ता मात्र बन्ने लक्ष्य राखेको छ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डको यस पटकको यात्राले नयाँ आयाम थपेको छ।