काठमाडौं। सरकारले कृषि र पशुजन्य आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) पछि लिने अग्रिम आयकर समायोजन गरेको छ। यसअघि भ्याट लाग्ने वस्तुमा पनि २.५ प्रतिशत अग्रिम आयकर लिँदै आएकोमा त्यसलाई घटाएर १.५ प्रतिशतमा झारिएको हो।
‘खासगरी, भ्याटमा दर्ता भएको कुनैमा पनि कारोबार २.५ प्रतिशत आयकर लिने व्यवस्था नभएकाले आयकरमा संशोधन गरी सरकारले सच्याएको हो। यसअघि १३ प्रतिशत भ्याट लागेपछि २.५ प्रतिशत टिडिएस लाग्ने गरेका थियो,’ आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले भने, ‘अरू क्षेत्रमा नलाग्ने तर यो क्षेत्रमा २.५ प्रतिशत अग्रिम टिडिएस लिँदा न्याय नहुने भएकाले घटाइएको हो।’
आयकर ऐन २०५८ मा पैठारी हुने भन्सार दरबन्दीको भाग १ मा पर्ने राँगा, भैंसी, खसी, बोका, भेडा, च्याग्रा, भाग ३ मा पर्ने जीवित, ताजा तथा हिमीकृत गरिएको माछा, भाग ६ मा पर्ने ताजा फूलहरु, भाग ७ मा पर्ने ताजा तरकारी, आलु प्याज, सुक्खा तरकारी, लसुन, बेबी कर्न र भाग ८ मा पर्ने ताजा, फलफूलमा भन्सार प्रयोजनका लागि कायम मूल्यमा पाँच प्रतिशत तथा भाग २ को मासु, भाग ४ को दूधजन्य पदार्थ, अन्डा, मह, भाग १० को कोदो, फापर, जुनेलो, चामल, कनिका, भाग ११ को मैदा, आटा तथा पिठो भाग १२ को जडिबुटी, उखु र भाग १४ को वनस्पतिजन्य उत्पादनमा २.५ प्रतिशत अग्रिम आयकर भन्सार बिन्दुमै असुलउपर गरिने छ भन्ने उल्लेख छ।
‘यसमध्ये केही वस्तुमा भ्याट लाग्दै आएको थियो। दफा ७ मा नयाँ व्यवस्था थपिएको हो,’ उनले भने, ‘भ्याट लाग्ने वस्तु पैठारीमा १.५ प्रतिशत अग्रिम आयकर असुलउपर गर्नुपर्ने छ भनिएको हो।’
त्यो भनेको पुरानो व्यवस्थाअनुसार ५ र २.५ प्रतिशत अग्रिम आयकर भनिएको थियो। माथि उल्लेखित वस्तुमध्ये भ्याटमा दर्ता भई भ्याट लाग्ने वस्तु तथा सेवा छ भने उनीहरूले अग्रिम आयकरवापत १.५ प्रतिशतमात्रै बुझाउँदा हुने मैनालीले बताए।
विद्यमान करको व्यवस्था घटाएको उनको भनाइ थियो। यसअघि व्यवसायीले ५ प्रतिशत र २.५ प्रतिशत तिर्नुपर्नेमा अब भ्याटमा दर्ता भएकाले जम्मा १.५ प्रतिशतमात्रै बुझाउँदा हुन्छ।