नयाँदिल्ली। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा नेपालगन्ज-रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँच चौकी उद्घाटन गरेका छन्।
भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसबाट उनीहरूले जाँच चौकी उद्घाटन गरेका हुन्। सहजरूपमा व्यापार प्रवर्द्धनका लागि जाँच चौकी महत्वपूर्ण मानिएको छ। यस्तै, सोही अवसरमा भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीसमेत शिलान्याश गरिएको छ। नेपाल र भारतबीचको व्यापार प्रवर्द्धन तथा सहजीकरणका लागि त्यस्ता संरचना महत्वपूर्ण मानिएको छ।
यसअघि विरानटगरमा त्यस्तै जाँच चौकी निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको छ। सवारीसाधनको सहज पार्किङ, सामान आयात तथा निर्यातका लागि त्यस्ता संरचनाले महत्वपूर्ण सहयोग गर्ने छ। उद्योगी-व्यवसायीले एकीकृत संरचनाको माग गर्दै आएका थिए।
यस्तै बैतडीको झुलाघाट नाकामा दुई पक्की पुल निर्माण हुने भएको छ। त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतका नागरिकको सहजताका लागि झुलाघाट नाकामा दुई पुल बनाउने जानकारी दिएका थिए। बैतडीवासीले भारत भ्रमणमा झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतसँग प्रधानमन्त्रीले छलफल गर्नुपर्ने माग गर्दै आएका थिए।
यो सहमतिले स्थानीयवासीलाई खुसी बनाउने छ। झुलाघाटमा मोटरेबल पुल नहुँदा समस्या झेलिरहेकाले प्रधानमन्त्रीको भ्रमणमा क्रममा भएको यो घोषणा आफैंमा महत्वपूर्ण छ। झुलाघाट नाकामा करिब २ सय वर्षअघि निर्माण भएको झोलुङ्गे पुलबाट आवतजावत हुँदै आएको छ।
त्यस्तै, कञ्चनपुर दोधारा चाँदनी नगरपालिकामा भारतको सहयोगमा सुक्खा बन्दरगाह निर्माण हुने भएको छ। उक्त स्थानमा भारतको सहयोगमा सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा सहमति भएको हो।
पछिल्लो सम्झौताअनुसार सुक्खा बन्दरगाह भारतले निर्माण गर्ने छ। सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। गत फागुन १ नै कञ्चनपुर पुगेका प्रधानमन्त्री प्रचण्डले सुक्खा बन्दरगाह निर्माणको काम सुरु हुने बताएका थिए।
बन्दरगाह निर्माणका लागि २०६४ सालमै प्रस्ताव गरिएको थियो। बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनसमेत भइसकेको छ।