काठमाडौं। चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बिवाइडीको ‘डल्फिन’ गाडी नेपाल भित्रिएको छ। बिवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ह्याचब्याक सेग्मेन्टको डल्फिन नेपाल भित्र्याएको हो।
यो गाडी परीक्षणका लागिमात्र ल्याइएको साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले जानकारी दिए। ‘हामीले अहिले परीक्षणका लागिमात्र डल्फिनको एउटा भेरिएन्टको गाडी ल्याएका हौं,’ उनले भने, ‘पहिले यहाँ चलाएर परीक्षण गर्छौं र थप गाडी ल्याउने कि नल्याउने निर्णय गर्छौं।’
श्रेष्ठका अनुसार ४४.९ किलोवाट आवरको ब्याट्री जडान गरिएको गाडी ल्याइएको हो। यसमा ७० किलाेवाट क्षमताको मोटर जडान भएको छ। यो गाडीले नेपाली सडकमा ३ सय ५० किलोमिटरभन्दा धेरै रेन्ज दिने अनुमान रहेको उनले बताए।
१६ इन्चको अलोय ह्विल रहेको यो गाडीको ग्राउन्ड क्लियरेन्स १ सय ८५ मिलिमिटर (एमएम) को रहेको छ। यसमा ह्विलबेस २ हजार ७ सय एमएम रहेको छ।
यो गाडीमा १२.८ इन्चको फ्लोटिङ टच स्क्रिन, इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने सिट, फ्ल्याटबटम मल्टिफङसनल स्टेयरिङ ह्विल, पछाडिको यात्रुलाई आर्मरेस्ट, प्यानारोमिक सनरुफ, ५ इन्चको फुल एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टरलगायत फिचर छन्।
बजेटअघि यो गाडीको मूल्य ४७ लाख पर्ने चर्चा चियो। बजेटले विद्युतीय सवारीसाधनको कर बढाएपछि यसको मूल्य ५० लाखभन्दा माथि पर्नसक्ने अनुमान छ।