नयाँदिल्ली। ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना बनाइरहेको भारतको सतलज विद्युत् निगमले ६ सय ७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ।
आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौता (पिडिए)मा हस्ताक्षर भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आयोजना विकासकर्ता कम्पनीसँग पिडिएमा हस्ताक्षर भएको हो। पिडिएमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट र सतलज विद्युत् निगमका अध्यक्ष नन्दलाल शर्माले हस्ताक्षर गरेका छन्।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष ‘प्रचण्डको अध्यक्षतामा यही जेठ १४ गते बसेको लगानी बोर्डको ५४औँ बैठकले सो आयोजनाको पिडिएका सम्बन्धमा आवश्यक निर्णय गरेको थियो। सो बैठकले तल्लो अरुणको विकासका लागि विकासकर्ता कम्पनीसँग गरिने परियोजना विकास सम्झौताको सहमतिको अन्तिम मस्यौदा दस्तावेजलाई स्वीकृत गरी अनुमोदनका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाउने निर्णय गरेको थियो। त्यसलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले पिडिएका लागि अन्तिम स्वीकृति दिएको थियो।
बोर्डको ५३औँ बैठकको निर्णयअनुसार लगानी बोर्डका सिइओ अधिकृतको संयोजकत्वमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधि सदस्य रहेको वार्ता समितिले सतलजसँग चरणबद्धरुपमा वार्ता गरी सहमतिसहितको पिडिएको अन्तिम मस्यौदा दस्तावेज तयार गरेको थियो । बोर्डको अघिल्लो बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको थियो।
आफ्नो उत्पादनको सम्पूर्ण ऊर्जा निर्यात गर्ने एवं निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी आवश्यक पूर्वतयारीसमेत अगाडि बढिरहेका सन्दर्भमा ६ सय ६९ मेगावाट क्षमताको यस रुपान्तरणकारी परियोजनाको विकासले मुलुकको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।
अर्धजलाशयुक्त प्रकृतिको आयोजनाबाट वार्षिक २ हजार ६२ करोड ५० लाख युनिट ऊर्जा उत्पादन हुन्छ। सङ्खुवासभामा आयोजनास्थल रहेको सो आयोजना आकर्षकमध्येको एक हो । लगानी बोर्डको ४७औँ बैठकले विस्तृत सम्भाव्यता अध्ययनका लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता सतलज विद्युत् निगमसँग गरिने समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो ।
यसअघि विसं २०७८ माघ १६ गतेको बोर्ड बैठकले ‘बोट’ ढाँचामा आयोजना निर्माणका लागि सतलजलाई चयन गरेको थियो। अरुण नदीमा पत्ता लागेका केही महत्वपूर्ण आयोजनामध्ये तल्लो अरुण पनि एक हो । सो आयोजनाको हाल भौतिक प्रगति झण्डै ६५ प्रतिशतको हाराहारीमा पुगेको छ।