नयाँदिल्ली। भारत बथनाहबाट नेपालको विराटनगर भन्सारसम्म कार्गो रेल सञ्चालनमा आएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले बथनाहदेखि विराटनगर बुधनगरसम्मको रेल्वे सेवाको संयुक्त उद्घाटन गरेपछि सञ्चालनमा आएको हो।
नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गरेका छन्।
प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी मोदीले झण्डा देखाएपछि बथनाहबाट भारतीय पक्षले कार्गो रेल बिदाइ र बुधनगरमा नेपाली सरकारी अधिकारीले स्वागत गर्ने भएका छन्।
विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सम्म आइपुग्ने उक्त मालवाहक रेलले केही उद्योगका लागि कच्चापदार्थ ढुवानी गरेको छ। लामो समयदेखि कोशी प्रदेशका व्यवसायीले सीमा क्षेत्र बथनाहदेखि विराटनगरको एकीकृत जाँच चौकीसम्म सञ्चालनमा रहेको रेललाई मालसामान ढुवानीका लागि खुला गरेर सहजीकरण गर्न अनुरोध गर्दै आएका थिए।
भारतको बथनाहबाट विराटनगरको आइसिपी रेल्वे स्टेसनसम्म बिछ्याइएको आठ किलोमिटर रेलमार्ग तयारी अवस्थामा छ। रेलमार्ग २०७५ कात्तिक ८ मा रेल सञ्चालनका लागि परीक्षणसमेत भइसकेको छ। बुधबार पनि उक्त रेलमार्गको पुनःपरीक्षण गरिएको रेल विभागले जनाएको छ।
आज उद्घाटन भएपछि रेलमार्ग नियमित सञ्चालन हुनेछ। यात्रुवाहक रेल भने शीघ्र सञ्चालनमा ल्याउने छ। यात्रुवाहक रेलका लागि भने कटहरीसम्म रेलमार्ग निर्माण हुनुपर्ने छ। त्यसका लागि पनि आवश्यक तयारी भइरहेको छ।
बथनाहदेखि विराटनगर हुँदै कटहरीसम्म १८.१ किलोमिटर लामो रेलमार्ग सन् २०११ देखि निर्माण सुरु भएको भए पनि पूरा हुन सकेको छैन। केही स्थानमा मुआब्जा विवाद कायमै छ। उक्त समस्या समाधानका लागि पहल भइरहेको छ।
भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा उक्त रेलमार्ग निर्माण भएको हो। विवरणअनुसार भारतको बथनाहबाट विराटनगर हुँदै कटहरी गाउँपालिकाको महेशपुरमा अन्तिम स्टेसन निर्माण गर्ने सरकारको योजना छ। कूल लम्बाइमध्ये भारततर्फ पाँच र नेपालतर्फ १३ किलोमिटरबराबर छ।
उक्त आयोजनाको कूल लागत ३ अर्ब ७३ करोड भारु रहेकाे छ। रेलमार्ग निर्माणको जिम्मा भारतीय कम्पनी इरकोनले लिएकोे थियो। यस्तै हाल जनकपुर-जयनगर रेलमार्गसमेत सञ्चालनमा छ। रेलमार्ग महोत्तरी बर्दिवाससम्म निर्माणाधीन छ।
केही स्थानमा भने निर्माण भइसकेको छ। भारतले नेपालका विभिन्न ६ स्थानमा रेलमार्ग निर्माण गर्ने सम्झौता तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणका क्रममा भएको थियो।