काठमाडौं। सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ। केही वस्तुको भन्सारदर र अन्तःशुल्क बढाइएको छ भने केहीको घटाइएको छ।
आर्थिक विधेयकमार्फत करका दरमा हेरफेर गरिनु स्वाभाविक हो। तर, यस वर्ष परिवर्तन गरिएका करका दरले सम्भवतः सबैभन्दा बढी असर उद्याेगपति तथा सांसद विनोद चौधरी र उनको कम्पनी चौधरी ग्रुपमाथि पर्ने देखिएको छ। किनभने, भन्सारदर र अन्तःशुल्क बढाइएका प्रायः वस्तु चौधरी ग्रुपसँग सम्बन्धित देखिन्छन्।
सरकारले यसपटक चाउचाउमा प्रतिकिलो १७ रुपैयाँ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर किलोकाे २० रुपैयाँ पुर्यएको छ। यसको प्रत्यक्ष असर चाउचाउ उद्योगमा पर्ने छ भने चौधरी ग्रुप सबैभन्दा बढी प्रभावित हुनेछ।
चौधरी ग्रुपले उत्पादन गर्ने वाइवाइ नेपालको सर्वाधिक लोकप्रिय चाउचाउ हो। जसको नेपाली चाउचाउ बजारमा एकछत्र राज छ। चाउचाउमा कर वृद्धि गर्दा चौधरीको वाइवाइमाथि ठूलो दबाब परेको छ। सोही दरमा कुरकुरे, कुरमुरे, लेज, चिजबल्समा पनि अन्तःशुल्क बढेको छ। यी उत्पादनमा चौधरी ग्रुपको सशक्त उपस्थिति छ।
सरकारले बियरमा लाग्ने अन्तःशुल्क प्रतिलिटर २ सय २८ रुपैयाँबाट बढाएर २ सय ३५ रुपैयाँ पुर्याएको छ। नेपाली ब्रान्डको चल्तीकाे बियर नेपाल आइस चौधरी ग्रुपको उत्पादन हो। करका दरमा वृद्धि हुँदा यसको भार पनि चौधरीकै उद्योगमाथि परेको छ।
चौधरी ग्रुप पछिल्लो समय इलेक्ट्रिक भेइकलको कारोबारमा पनि संलग्न छ। बजेटले इलेक्ट्रिक भेइकलको भन्सार महसुल पनि वृद्धि गर्दा विद्युतीय सवारी व्यापारमा प्रवेश गरेको चौधरी ग्रुपलाई असर पर्ने देखिन्छ। सरकारले ११ देखि १४ सिटे विद्युतीय सवारीमा लाग्दै आएको भन्सार महसुल १ प्रतिशतबाट बढाएर १० प्रतिशत कायम गरेको छ।
उता, सरकारले विभिन्न जुसमा लाग्दै आएको महसुल प्रतिलिटर ११ रुपैयाँबाट बढाएर १३ रुपैयाँ पुर्याएको छ, जसको असर पनि चौधरी ग्रुपद्वारा उत्पादित एवं बिक्री वितरण हुँदै आएका रियोलगायत जुसमा पर्ने देखिन्छ।
चौधरी नेपाली कांग्रेसका प्रभावशाली सांसद हुन्। र, नेपालका एक्ला खर्बपतिसमेत। यसपटकको बजेट पार्टीभित्र एउटै समूहमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले बनाएका हुन्। आफ्नै पार्टीको सरकारका अर्थमन्त्रीले ल्याएको बजेटको भारी भने चौधरीमाथि परेको छ।