काठमाडौं। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-९ मा रहेको ‘एकता बुद्ध वचत तथा ऋण सहकारी संस्था’ को ८ करोड १८ लाख ८९ हजार ७९५ रुपैयाँ ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष ७२ वर्षीय भानुकुमार शर्मा, उपाध्यक्ष ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, सचिव ५० वर्षीय सोमलाल श्रेष्ठ छन्। उनीहरू तीनै जना बुढानिलकण्ठ नगरपालिका- ९ का बासिन्दा हुन्।
त्यस्तै, गोरखा पालुङटार नगरपालिका-७ स्थायी घर भई हाल बुढानिलकण्ठ- ९ बस्ने सहरकारीका कोषाध्यक्ष रामकुमार श्रेष्ठ, ऋण संयोजक ५२ वर्षीय विरबहादुर तामाङ र बुढानिलकण्ठ- ८ बस्ने सहकारी व्यवस्थापक ३४ वर्षीय शम्भु कार्की रहेको अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक संजयसिंह थापाले बताए।
सहकारी संस्थाले बचतकर्ताबाट मुद्दती तथा बचत खातामा करोडौं रुपैयाँ निक्षेप संकलन गरी संस्थाका सञ्चालकहरूले व्यक्तिगत लाभका लागि व्यक्तिगत रूपमा धितोपत्र खरिद बिक्रि गर्ने, घर जग्गा खरिद बिक्रि गर्ने जस्ता सहकारी ऐन, २०७४ विपरीतका काम गरी संस्थालाई धरासायी बनाएका बचतकर्ताले बताएका छन्। साथै बचतकर्ताले आफूले बचत गरेको रकम फिर्ता लिन जाँदा मुद्दती खातामा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरी संस्थाले गरेको ठूलो धनराशीको अपचलनलाई ढाकछोप गर्ने गरी संस्थाका पदाधिकारीले बचतकर्तालाई प्रलोभनमा पारी ठगी गरेको उजुरी बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयअन्तर्गतको सहकारी महाशाखामा परेको थियो।
उक्त उजुरी २०७९ चैत ९ गते परेको थियो। एकता बुद्ध वचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्षलगायतका पदाधिकारीहरू र व्यवस्थापकले १७७ जना जाहेरवालाको उक्त रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोप उजुरी पत्रमा उल्लेख छ।
उक्त उजुरीका आधारमा २०८० जेठ १६ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई अनुसन्धान सुरु भएको छ। साथै, सो सहकारीबाट पीडित भएका जाहेरी दिन बाँकी निक्षेपकर्ताले ब्यूरोमा यथाशिघ्र जाहेरी दिनसमेत प्रहरीले आग्रह गरेको छ।