काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सोमबार प्रस्तुत गरे। राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब ४० करोड रुपैयाँबराबर बजेट ‘सिलिङ’ पठाएको थियो।
तर, अर्थमन्त्री महतले बजेट सिलिङभन्दा ६३ अर्ब रुपैयाँ बढी १७ खर्ब ५१ अर्ब १३ करोडको बजेट घोषणा गरे।
समग्र बजेटमात्रै होइन, मन्त्रालयहरूलाई पठाएको सिलिङभन्दा पनि बजेट बढेर आएको छ। तर, अधिकांश मन्त्रालय र समग्र बजेट भने चालू आर्थिक वर्षभन्दा घटेको छ।
चालू आर्थिक वर्ष १७ खर्ब ९३ अर्बको बजेट तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएका थिए। चालू वर्षको बजेटसँग आगामी आर्थिक वर्षको बजेट तुलना गर्दा ४२ अर्ब रुपैयाँ कमको बजेट आएको हो।
कति फरक भयो विकासे मन्त्रालयको चालू र आगामी वर्षको बजेट?
चालू आर्थिक वर्षका लागि २०७९ जेठ १५ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ विनियोजन भएको थियो। तर, संशोधन भएर हाल भौतिक मन्त्रालयको बजेट १ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ।
२०८०/८१ को बजेट सिलिङ पाउँदा भौतिकले ५४ अर्ब गुमाउनुपर्ने देखिएको थियो। अर्थात, २०७९/८० मा १ खर्ब ६७ अर्ब बजेट प्रयोग गर्दै आएको भौतिकले आगामी वर्षका लागि १ खर्ब १३ अर्बको सिलिङ प्राप्त गर्याे।
सोही सिलिङभित्र भौतिकले बजेट व्यवस्थापन गरेको थियो। तर, अर्थमन्त्रीले बजेट भाषण गर्दा सिलिङभन्दा १८ अर्ब बढी बजेट भौतिक मन्त्रालयको नाममा घोषणा गरे।
अब आगामी वर्षका लागि भौतिक मन्त्रालयले १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँबराबर बजेट पाएको छ। तर, सिलिङभन्दा बढीको बजेट आए पनि चालू आर्थिक वर्षभन्दा भौतिक मन्त्रालयको बजेट ३७ अर्ब रुपैयाँ कम हो।
त्यस्तै सहरी विकास मन्त्रालयलाई गत आर्थिक वर्ष ३७ अर्ब ७३ करोड विनियोजन भएको थियो। चालू आर्थिक वर्ष सुरु भएको केही महिनापछि स्थानीय पूर्वाधार विकास विभाग (डोली) गाभिएर सहरी मन्त्रालयको बजेट ६१ अर्ब १ करोड ३२ लाख पुग्यो।
विकासे मन्त्रालयमध्ये सबैभन्दा बढी विकासका काम गर्ने भौतिक मन्त्रालयको बजेट घटे पनि सहरी विकास मन्त्रालयको बजेट ५ अर्ब रुपैयाँ बढेको छ। २०८०/८१ का लागि सहरी मन्त्रालयका लागि ६६ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री महतले बताएका छन्।
यद्यपि, सहरी विकास मन्त्रालयको बजेट पनि सिलिङभन्दा बढी घोषणा भएको देखिन्छ। सहरीले २०८०/८१ का लागि ५६ अर्ब ७८ करोड ३५ लाख रुपैयाँबराबरको सिलिङ पाएको थियो।
जसमध्ये ५२ अर्ब ५६ करोड १६ लाख २७ हजार रुपैयाँबराबरका आयोजना सञ्चालन गर्ने गरी मन्त्रालयले योजना बनाएको थियो। ४ अर्बबराबरका योजनाको पूर्वतयारी नभएको भन्दै बजेटको सिलिङ नै फिर्ता भएको थियो। तर, बजेट भाषणमा सिलिङभन्दा १० अर्ब रुपैयाँ बढी बजेट विनियोजन भएको घोषणा भयो।
त्यस्तै खानेपानी मन्त्रालयको बजेट चालू आर्थिक वर्ष ३७ अर्ब ३५ करोड रुपैयाँ छ। तर, आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ९ अर्ब रुपैयाँ घटाएर २८ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
चालू आर्थिक वर्षका लागि ऊर्जा क्षेत्रमा ७५ अर्ब १० करोड र जलस्रोत तथा सिँचाइ क्षेत्रमा ३३ अर्ब ५० करोड रुपैयाँ गरी समग्र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि १ खर्ब ८ अर्ब ४३ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो।
तर, आगामी आर्थिक वर्षका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको ३१ अर्ब रुपैयाँ बजेट घटेको छ। आगामी वर्षका लागि ऊर्जाले ८७ अर्ब ४५ करोड रुपैयाँ प्राप्त गरेको अर्थमन्त्रीले घोषणा गरेका छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने चालू वर्षभन्दा बढी बजेट पाएको छ। २०७९/८० मा ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको थियो। बजेट ३ अर्ब रुपैयाँले बढाएर आगामी वर्षका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ पुर्याइएको छ।
त्यस्तै चालू वर्ष पर्यटन क्षेत्रका लागिमात्रै ९ अर्ब ३८ करोड र हवाई पूर्वाधारमा १२ अर्ब २४ करोड रुपैयाँ गरी पर्यटन मन्त्रालयले कूल २१ अर्ब ६२ करोड रुपैयाँ प्राप्त गरेको छ। तर, बजेट लगभग ५० प्रतिशतले घटेर २०८०/८१ मा पर्यटन मन्त्रालयले ११ अर्ब ९६ करोड रुपैयाँमात्रै प्राप्त गरेको हो।
चालू वर्ष शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई मात्रै ७० अर्ब ५ करोड, शिक्षा क्षेत्र प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीयतहमा १ खर्ब २१ अर्ब १ करोड रुपैयाँ विनियोजन भएको छ। तीन तहकै सरकारमा छरिएको बजेट जोड्दा चालू वर्ष शिक्षा मन्त्रालयको नाममा १ खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ बजेट छ।
तर, आगामी वर्ष शिक्षा मन्त्रालयको बजेट १ अर्ब रुपैयाँले बढाएर अर्थ मन्त्रालयले १ खर्ब ९७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।