काठमाडौं। दोलखामा पहिलोपटक ‘सोक्ला रक क्लाइम्बिङ’ महोत्सव हुने भएको छ।
जेठ १८ र १९ गते हुने रक क्लाइम्बिङले सोक्ला क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षक गन्तव्य बनाएर जिल्लाकै रक क्लाइम्बिङ हवका रूपमा सोक्ला गाउँ बनाउने उद्देश्यसाथ दुई दिने महोत्सव आयोजना गर्न लागिएको सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए।
चार सय मिटरको उँचाइमा रहेको सोक्लाको भीरमा आयोजना गरिने रक क्लाइम्विङको लागि २५÷२५ मिटरको दुई वटा सिङ्गल पिचको रक रुट तयार गरिएको उनले बताए। रक क्लाइविङ महोत्सवमा झण्डै तीन सयको सहभागिता रहने अपेक्षा गरिएको छ।
सदरमुकाम चरिकोटबाट आठ किलोमिटर दुरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिकरूपमा समेत महत्वपूर्ण रहेको उनले बताए।
सोक्ला गाउँ विशेषगरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरिशंकर शृंखलाको दृश्य हेर्ने गन्तव्य र धार्मिक अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रसिद्ध छ।
यहाँ सत्ययुगमा तामाकोसी रोकेर ताल बनाउनका लागि कालिञ्चोक क्षेत्रबाट आएका डिलढुंगाहरु अहिले पनि इतिहास भएर उभिएको उनले जानकारी दिए।
नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजना हुन लागेको सोक्ला रक क्लाइम्बिङ महोत्सवका लागि माउन्टेन गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष सञ्जीव गुरुङ, उपाध्यक्ष तथा आठौंपटक सगरमाथा आरोही पासाङ भोटे र महासचिव रामकाजी तिवारीको टिमले दुईवटा रुट निर्माण गरेको हो।
रक क्लाइम्बिङ महोत्सवमा १० लाख खर्च हुने र क्लाइम्बिङ गर्न कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ।