काठमाडौं। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले महँगा बिजुली गाडीको कर घटाएकोमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले शंका व्यक्त गरेका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको पोस्ट बजेट छलफल कार्यक्रममा खतिवडाले आपत्ति जनाएका हुन्।
‘उहाँले एउटा काम चाहिँ नगरेको भए हुन्थ्यो। त्यो तलको अलिकति बढाउँदा माथिको नघटाएको भए हुन्थ्यो। त्यो जरुरी थिएन। नेपालीहरू अहिले पनि गुइँठा बालेर बसिरहेका छन्, प्लास्टिकका झोला बालेर आगो तापिरहेका छन्। त्यहाँ प्रदुषणको कुरा आउँदैन?,’ उनले भने।
बिजुली गाडीमा कर भने लगाउनुपर्ने उनको तर्क छ। गुइँठा बालेर , प्लास्टिक बालेर बस्न बाध्य जनताको लागि सोचेरमात्र गाडीको धुवाँको बारेमा सोच्नुपर्ने उनको धारणा छ।
‘गाडीले अलिकति धुवाँ फाल्यो भनेर हामी यति संवेदनशील हुने हो भने पहिले त्यो गुइँठा, प्लास्टिक बालेर घर चलाउनेको बारेमा सोच्नुपर्दैन? पहिले राजस्व उठाएर ती परिवारको बारेमा केही गरौं न, अनि बाँकी कुरा गरौंला। त्यसैले यसमा थप छलफल गर्न जरुरी छ,’ खतिवडाले भने।
सरकारले बिजुली गाडीमा छुट दिँदा त्यसको हिसाबकिताब राम्रोसगँ बुझ्नुपर्ने उनले बताए।
‘हामीले कति मूल्यको बिजुली गाडी ल्याउँदै छौं, त्यसले कति बिजुली खपत गर्छ, त्योवापत हामीले कति विदेशी मुद्रा खर्च गर्छौं, र त्यो विदेशी मुद्रा खर्च गरेपछि हामी राजस्व कति गुमाउँदै छौं। यी सबै कुरा ध्यान दिनुपर्छ,’ खतिवडाले भने।