मंसिर ७ गते हुने कम्यूटर एसोसियशन अफ नेपाल (क्यान) महासंघको महाधिवेसनमा सुनैना पाण्डेले शनिवार अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छिन् । क्यानको इतिहासमै पहिलो महिला अध्यक्ष बन्ने दौदमा रहेकी पाण्डे उनको प्यानलले तयार गरेको एजेण्डा, क्यानको भावी कार्यदिशा र समग्र सूचना प्रविधिको विषयमा क्यापिटल नेपालकी युजु खालिङले गरेको कुराकानाी :
क्यान महासंघमा प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभयो, तपाई र पुरै प्यानले जित्ने आधार के हो ?
हामी तयारीमा जुटिरहेका छौं । प्यानल घोषणा आफ्नो एजेण्डा सार्वजनिक गरिसकेका छौ । हामीले विभिन्न क्षेत्रलाई समेटेर, आईटीको हार्डवेयर, सफ्टवेयर, दूरसञ्चार, बैंकिङ, आईटी इनेबल सर्भिस, आईएसपी, सक्युरिटी सर्भिलेन्सलगायतका अनुभवी साथीहरुलाई समेटेर बलियो टिम बनाएका छौं । सोहि कारण पनि हाम्रो टिम बिजयी हुनेमा हामी विश्वस्त छौ ।
तपाईको टिमले बिजयी भयो भने क्यान आफै र नेपालका आइटी व्यवसाय या क्षेत्रमा कस्तो परिवर्तन आउछ ?
यो पटक हामीले फरक ढंगले एजेण्डाहरु लिएर आएका छौं । बिजेता भएपछि हाम्रो आफ्नो कार्यकालभित्र एउटा आईटी बोर्ड खडा गर्ने योजना छ । अहिले टुरिज्म बोर्डले पर्यटन व्यवसायीलाई सहयोग गरेजस्तै भोली आईटी बोर्ड गठन भयो भने त्यसले सबै सूचना प्रविधिका व्यवसाय सहयोग गर्छ । नेपाली उत्पादनलाई निर्यात गर्ने तथा विदेशी प्रोडक्टहरु आउटसोर्सिङ विजनेसहरुलाई देशमा ल्याउन सक्ने वातावरण आईटी बोर्डले तयार गर्छ । निजी र सार्वजनिक क्षेत्रलाई एकै ठाउँमा राखेर काम गर्ने वातावरण बनाउन आईटी बोर्ड खडा गर्ने योजना लिएर आएका छौं ।
आईटीको क्षेत्रमा आवश्यक जनशक्तिको बजारमा अभाव छ । संख्या र सिप दुबैको हिसाबले । संख्या बढाउन हामी विश्वविद्यालयहरुसँग मिलेर काम गर्छौं । सिप विकासका लागि विश्वविद्यालय, कलेज, ट्रेनिङ इंस्टिच्यूसनलगायतका सस्थाहरुसँग समन्वय गरेर फिनिसिङ स्कूलको अवधारणा ल्याउछौ । अहिले सूचना प्रविधिको क्षेत्रमा तीन÷चार महिना इन्टर्नसिप गराएर सीप सिकाउनु पर्ने अवस्था छ । केहि दक्ष भएपछि उनिहरु कि त विदेश गईदिन्छन् कनि अर्को सस्थामा जाने समस्या छ । त्यसको लागि हामीले फिनिसिङ स्कूलको अवधारणा ल्याएका छौं र यसलाई सम्पन्न गर्छौैं ।
त्यसपछि एउटा क्यानको जब आईटी पोर्ट तयार गर्ने योजना छ । त्यो जब आईटी पोर्टलले बजारमा रहेका आइटी जनशक्तिको प्रोफाइलिङ गर्नेछ । सो वेबसाइटबाट जुनसुकै इंडस्ट्रिीले आफ्नो अनुकुल जनशक्ति पाउन सक्छन् । त्यसबाहेक व्यवसायहरुमा देखिइरहने विभिन्न प्रकारका समस्या समाधानका लागि कन्सल्टिङ नोटिस बोर्ड गठन गर्ने योजना छ । यसले विभिन्न क्षेत्रका व्यवसायीसँग तीन महिनामा एकपटक छलफल गर्ने र उहाँहरुको समस्या सुनेर निराकरण गर्न सहज बनाउने वाताबरण बन्नेछ ।
त्यसैगरी अहिले वैदेशिक भित्र्याउने वातावरण बनाउन पनि हामी लागिरहेका छौं, हामी अन्तराष्ट्रिय संगठनसँग पनि आवद्ध छौं । म आफैसँग पनि लामो समयसम्म विदेशी लगानी ल्याएर काम गरेको अनुभव छ । मैले माइक्रोसफ्टमा लामो समयसम्म काम गरे, अर्को टेक्नोग्लोबल भन्ने संस्थामा पनि नेपाल हेड भएर काम गरे, विदेशी लगानी लिएर आए । विदेशी सूचना प्रविधिमा लगानी गर्ने संस्थाहरुसँग समन्वय गरेर उहाँहरुको लगानी नेपालमा भित्र्याएर रोजगारी बढाउन हाम्रो ध्यानकेन्द्रित हुनेछ । रोजगारी सिलसिलामा पनि हामी केही प्रतिवद्धता जनाउदै छौ । सन् २०२४ भित्र ५ लाख रोजगारी आईटी क्षेत्रमा ल्याउने योजना छ । त्यसबाहेकका क्यानको आफ्नै भवन निर्माण गर्नुपर्नेछ ।
सूचना प्रविधिको क्षेत्रमा निजी र सरकारी क्षेत्रसँग सहकार्य गर्नु कतिको सजिलो छ ? तपाईको हातमा नेतृत्व परेपछि कसरी समन्वय गरेर जानुहुन्छ ?
हामीले सरकारबाट पहिलेदखि नै धेरै सहयोग पाएका छौ । पहिले अस्थिर सरकार हुँदा काम गर्न गाह्रो थियो । अहिले सहकार्य गरेर जानसक्ने धेरै सम्भावना छ । यो भन्दा अगाडी आईटी बिल समस्याको बिषयमा बुदाँगत जानकारी गराएका थियौ । त्यो उहाँहरुले सजिलै स्विकार दिनु भयो । कतिपय बुँदाहरु क्यानको सुझाव अनुसार सच्चाइएका छन् । सरकाले जुनसुकै योजना बनाउदा पनि क्यानलाई साथ लिएर हिड्ने गरेको छ । हामी बिच अभिभावक र बच्चाको जस्तो सम्बन्ध छ ।
पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा सरकारले अलिक कडा नीति अख्तियार गर्यो, विज्ञापन ऐनमा क्लिनफिड, साईबर सुरक्षालगायत यसका उदाहरण हुन् । क्यानको भावि नेतृत्वको रुपमा सरकारको यस्तो नीतिप्रति तपाईको धारणा के छ ?
क्लिनफिड नेपाल सरकारले लागू गरेर जाने नै भनिसकेको छ । म यसको दुबै पक्षको कुरा गर्छु । राम्रो के छ भन्दा नेपालीहरुले रोजगारी पाउँछन् भन्ने हो । तर, विदेशीहरुले बनाएको विज्ञापन पूर्णरुपले रोक्न सक्छौं त भन्ने सोच हामी सबैमा छ । अहिले यो कुरालाई तुरुन्त पत्याईहाल्न पनि समस्या छ । तर आईसकेपछि त स्विकार गर्नैपर्छ । क्लिनफिड लागू गर्नलाई त्यति सजिलो छैन । यसको लागि हामीले क्यान आवश्यक सल्लाह तथा सहकार्य गर्न तयार छ ।
अहिले इन्टरनेट कनेक्टिभीटिको कुरा भइरहेको छ । जसमा सरकारले चर्को शूल्क लगाईरहेको छ, रोयल्टी पनि हामी धेरै तिर्छौं । अरु देशको छोडेर दक्षिण एशियामा मात्र हेर्ने हो भने पनि हामी चार प्रतिशत तिर्छौं । त्यसैले इन्टरनेट मूल्य उच्च हुन जान्छ । केबलमा कर, भ्याट लाग्छ । अहिले डिजिटल नेपालको फ्रेमवर्क पनि पास भएर आएको छ । त्यसैले अब त इन्टरनेट आधारभूत पूर्वाधार हो । यहि महंगो भयो भने जनताल कसरी प्रयोग गर्ने ? यस्ता बिषयमा सरकारले सोच्नुपर्छ । भोलीका दिनमा इन्टरनेट दुरदराज क्षेत्रमा पुर्याउने लक्ष्य छ । तर, शूल्ककै कारण चुनौती देखिएको छ ।
सूचना प्रविधिको क्षेत्रमा लामो समयदेखि हुनुहुन्छ । यो क्षेत्रमा देखिएका समस्या कस्ता छन् ? भोली नेतृत्व पाएको खण्डमा सम्बोधन कसरी गर्नुहुन्छ ?
एउटा त हाम्रो व्यवसायीहरुलाई परेको समस्या । केही समय अघि उठेको मोनिटरको समस्या जुन हामीले हल गर्न सकेनौं तर, गर्नैपर्छ । अर्को भनेको सेक्युरिटी सर्भिलेन्समा ठूलो समस्या छ । अहिले पनि उहाँहरु जुध्दै हुनुहुन्छ जसमा ९० मिनेटको व्याकअप राख्नुपर्छ भन्ने छ । त्यहाँ सबैतिर सहजीकरण छैन । मैले मेरो कार्यकालमा त्यसलाई सहजीकरण गर्नेछु । आईटी बील पनि पुनरावलोकन भईरहेको छ । नीति निर्माणको कुरामा बढि फोकस भएर जाने हो । योजना बनाउने कार्यन्वयन गर्न चाहिँ जिल्ला र प्रदेशमा पठाउने हो । केन्द्रलाई नीति निर्माण गर्न फोकस गराउने योजना छ । हाम्रो के कस्ता वार्षिक कार्यक्रमहरु गर्ने भन्ने कुरामा केन्द्र फोकस हुन्छ ।
जुनसुकै संगठनमा राजनीतिक घुस्ने र हस्तक्षेप हुने परम्परा छ, तपाईको कार्यकालमा क्यानलाई राजनीतिकबाट स्वतन्त्र राखेर कसरी सुदृढ गर्नुहुन्छ ?
आजको दिनसम्म क्यान एकदम पवित्र, गैर राजनीतिक हिसाबले चलिरहेको छ । तर यसपाली हामीले राजनीतिक चलखेलहरु भएको महसुस गरेका छौं । जुन किसिमको दबाब म माथि पनि आईरहेको छ, त्यसले पनि राजनीतिक चलखेल भईरहेको महसुस गरेकी छु । म महिलालाई त यति दबाब आउँछ भने एउटा पुरुषलाई कस्तो होला भन्ने छ । किनभने क्यानको २७ वर्षको इतिहासमा अध्क्षयका दावेदारमा म पहिलो महिला हुँ । राजनीतिमा महिलालाई ३३ प्रतिशत कोटा दिनुपर्छ भन्ने छ । त्यो लिखितमा एजेण्डा मात्र राख्ने हो कि अगाडी पनि बढाउने हो । यस्तो दबाबले त भोली यो क्षेत्रमा कोही आउन खोज्दैन । त्यसैले मैले भोली यसलाई एउटा स्वच्छ, व्यवसायिक संस्थाको रुपमा अगाडी बढाउने योजना छ ।