काठमाडौं। सरकारले पहिलोपटक हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ। सरकारको यो निर्णयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई यात्रा थप महँगो हुने भएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटमा १३ प्रतिशत भ्याट लागू गरेको हो। सरकारको नयाँ नियमपछि आन्तरिक वायुसेवा कम्पनीहरू भ्याटमा दर्ता हुने प्रक्रियामा लागेका छन्।
‘सरकारले नयाँ बजेटमार्फत हवाई टिकटमा भ्याट लागू गरेको छ। यसले हवाई यात्रा थप महँगो बनाएको छ,’ प्रमुख आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले क्यापिटल नेपालसँग भने, ‘हाम्रो फाइनान्स डिपार्टमेन्टले हवाई टिकटमा भ्याट जोड्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ। हामी भ्याटमा पनि दर्ता हुँदैछौं।’
बस्नतेका अनुसार जहाज र पार्टपुर्जा खरिद, कार्गो ओसारपसार लगायत सबैमा भ्याट लागू भएको हो। हवाई टिकटमा भ्याट लाग्दा अत्यावश्यक सेवा लिने सर्वसाधारण थप मारमा परेका छन्।
वायुसेवा कम्पनीहरूका अनुसार काठमाडौंबाट सबैभन्दा नजिक हवाई दुरीमा रहेको आन्तरिक गन्तव्य सिमरा हो भने टाढाको गन्तव्य धनगढी हो।
सिमराका लागि ‘नर्मल’ भाडा दर प्रतिटिकट कूल ३ हजार ९ सय ७५ रुपैयाँ पर्छ। यसमा भाडा (फेयर) २ हजार ३५ रुपैयाँ, फ्युल सरचार्ज १ हजार ४ सय ४० रुपैयाँ, विमानस्थल सेवा शुल्क ५ सय रुपैयाँ पर्छ।
त्यस्तै धनगढी जान प्रतिटिकट १५ हजार ७ सय रुपैयाँ पर्छ। यसमा फेयर ८ हजार १ सय ३०, फ्युल सरचार्ज ७ हजार ७० र विमानस्थल सेवा शुल्क ५ सय पर्छ।
तर, सरकारले कूल भाडा दरमा भ्याट लगाउने हो वा फेयरमा मात्र लगाउने भन्ने अझै खुलेको छैन।
यदि सरकारले कूल भाडामा १३ प्रतिशत भ्याट लगायो भने काठमाडौंबाट सिमरा जान प्रतियात्रु ५ सय १६ रुपैयाँ थपिने छ र नयाँ भाडा ४ हजार ४ सय ९१ रुपैयाँ पुग्ने छ।
त्यस्तै धनगढीका लागि भ्याट २ हजार ४१ रुपैयाँ थपिने छ र कूल भाडा १७ हजार ७ सय ४१ रुपैयाँ पुग्ने छ।
तर, फेयरमा मात्र भ्याट जोडियो भने काठमाडौंबाट सिमरा जान थप २ सय ६४ रुपैयाँ लाग्छ। यो हिसाबले सिमराको कूल भाडा ४ हजार २ सय ३९ रुपैयाँ पर्ने छ।
त्यसैगरी फेयरमा मात्र भ्याट जोडियो भने धनगढी जान थप १ हजार ५६ रुपैयाँ लाग्ने छ। यो हिसाबले कूल भाडा १६ हजार ७ सय ५६ रुपैयाँ लाग्ने छ।
‘फ्युल’ (इन्धन) मा पहिले नै भ्याट जोडिएको हुन्छ। त्यस्तै विमानस्थल सेवा शुल्क कर भएकाले करमा भ्याट लाग्दैन। तर, सरकारले प्रत्यके टिकटमा एकमुष्ट भ्याट लगाउँछ वा फेयरमा मात्र लगाउँछ भन्ने कार्यविधि बनेर आएपछि मात्र स्पष्ट हुनेछ।
‘हवाई टिकटमा भ्याट लागू हुने जानकारी हामीलाई पनि आएको छ। तर, यो लागू गर्नु गलत हो,’ वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका महासचिव तथा समिट एयरका एकाउन्टेबल म्यानेजर मनोज कार्कीले भने, ‘उसै त नेपाल महँगो हवाई भाडाका कारण महँगो गन्तव्यमा पर्छ, त्यसमाथि हवाई टिकटमा भ्याट थोपर्दा पर्यटक आवागमन पनि प्रभावित हुने निश्चित छ।’
उनका अनुसार हवाई टिकटमा भ्याट लागू हुने विषयमा संघले केही दिनभित्र आधिकारिक धारणा सार्वजनिक गर्ने छ। संघले सकेसम्म भ्याट लगाउने निर्णय फिर्ता लिन सरकालाई आग्रह गर्ने छ।
यता, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका टिकटमा पनि पहिलोपटक भ्याट लागू भएको जानकारी आएको बताए।
‘हवाई टिकटमा भ्याट लगाउनु सरकारको गलत अभ्यास हो,’ श्रेष्ठले भने, ‘यो निर्णय अविलम्ब फिर्ता हुनुपर्छ।’
उनका अनुसार भ्याट लागू गरेर वायुसेवा कम्पनीलाई कुनै आर्थिक भार पर्ने होइन, तर यसको मार यात्रुमाथि पर्छ। त्यसकारण यो निर्णय कार्यान्वयन हुनु हुँदैन।