काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंमा पहिलोपटक रोजगार मेला आयोजना गरिएको र यसले कामको खोजीमा रहेका युवालाई प्रमुख कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन महासंघले सहयोग पुर्याउने बताएका छन्।
महासंघले आयोजना गरेको उक्त मेलाले नयाँ अवसर खोजी गर्न सघाउनुका साथै आवश्यक सीप पहिचानसहित युवा जनशक्ति स्वदेशमै काम गर्ने वातावरण बनाउने उनको भनाइ छ।
‘रोजगार मेला हाम्रो पहिलो प्रयास हो। यसलाई सफल पार्न सबैको उत्तिकै सहयोग र मिहिनेतको अपेक्षा हामीले गरेका छौं,’ उनले भने, ‘महासंघले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आइएलओको सहयोगमा यो कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी लागेको छ।’
निजी क्षेत्र मुलुकको अर्थतन्त्रको एक अभिन्न अंग भएको बताए। अर्थतन्त्रमा निजी क्षेत्रको योगदानका विषयमा महासंघले अन्तर्राष्ट्रिय वित्त निगमसँग मिलेर केही दिन अघिमात्रै अति नै महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गरेको जानकारी दिए।
‘हामीले निजी क्षेत्रको सम्मानको विषय सुरुदेखि नै उठाइरहेका छौं,’ उनले भने, ‘निजी क्षेत्र किन सम्मानित हुनुपर्छ भन्ने कुरालाई उक्त प्रतिवेदनले पुष्टि गरेको छ।’ साथै अध्ययन प्रतिवेदनले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशतभन्दा बढी रहेको देखाएको र ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको बताए।
केही वर्षयता विभिन्न कारण निजी क्षेत्रले सहज काम गर्न नपाउँदा उद्योग–व्यवसाय विस्तार हुन नसक्नुका साथै भएकालाई पूर्णरूपमा सञ्चालन हुन नसकेको उनको भनाइ थियो। जसले गर्दा रोजगारीमा ठूलो प्रभाव पर्दा कामका लागि विदेशिनेको संख्या ह्वात्तै बढ्यो। नेपालमा दक्ष जनशक्ति नपाउँदा उद्योग व्यवसायमा भारतलगायत देशबाट कामदार ल्याउनुपरेको उनले जानकारी दिए।
अबका दिनमा महासंघले उक्त समस्या सम्बोधन गर्ने प्रयासको थालनी गरिसकेको बताउँदै त्यसका लागि उद्योगहरूको आवश्यकताअनुसारको कार्यस्थलमा आधारित सीप विकास तालिम सुरु गरिसकेको उनले जानकारी दिए।
त्यसैका लागि कामको खोजीमा रहेका युवा र काम गर्ने जनशक्ति खोजिरहेका उद्योग–व्यवसाय र कम्पनीलाई एकै ठाउँमा भेला गराएर रोजगारदाताको आवश्यकताअनुसार जनशक्ति उपलब्ध गराइदिने रोजगार मेलाको सुरुवात गरिएको उनको भनाइ थियो।
यसअघि महासंघले आइएलओको सहयोग र स्थानीय सदस्य उद्योग वाणिज्य संघहरूको सहकार्यमा केही दिन अघिमात्र वीरगन्ज र बुटवलमा रोजगार मेला गरेको थियो। महासंघको यी सबै प्रयासमा आईएलओको निकै ठूलो सहयोग र दरिलो साथ छ।