देउखुरी। घोराही–१३ तेरौटेकी चौधरी थरकी २७ वर्षीया एक महिलाले कक्षा १० मा पढ्दै गर्दा बिहे गरेकी थिइन्। गाउँमा मन मिल्ने साथी भेटेपछि उनले घरपरिवारलाई थाहै नदिइ भागेर बिहे गरिन्। चौधरीका अहिले एक छोरा र एक छोरी छन्।
उनलाई दुई सन्तान जन्माइसकेपछि सन्तानको रहर पुगिसकेको थियो। पहिलो सन्तान छोरा, दोस्रो छोरी जन्मेपछि चौधरीले परिवार नियोजनको स्थायी बन्ध्याकरण गर्ने विषयमा श्रीमान्सँग सल्लाह गरे पनि सहयोग नगरिदिँदा तेस्रो गर्भ रहेकपछि समस्या भयो। नजिकैको स्वास्थ्य संस्थाबाट औषधि लगेर खानु भएकी उनले त्यसैले गर्दा अहिलेसम्म पनि महिनावारी भएको समयमा रगत धेरै बग्ने समस्या रहेको गुनासो गरिन्।
घोराही–१ की २५ वर्षीया नेपाली थरकी अर्की एक महिलाको दुईवटा सन्तान भइसकेका थिए। उनलाई सन्तानको रहर पुगिसकेको थियो। अब बच्चाको रहर पुग्यो भन्ने लागेको समयमा फेरी गर्भ रहेपछि के गर्ने, कसो गर्ने भन्ने चिन्ताले नेपालीलाई सतायो र घरपरिवारले यसबारेमा साथ नदिँदा उनले पनि लुकीछिपी असुरक्षित गर्भपतन गराएको बताइन्।
नेपाल सरकारले बिहेवारी २० वर्ष पारि भन्ने उद्देश्य राखेर विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको छ तर दाङमा अझै पनि सानै उमेरमा गर्भपतन गर्नेको संख्या धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
लुम्बिनी प्रदेशमा गर्भपतन गराउने २० वर्ष मुनिका महिला झन्डै १० प्रतिशत रहेको देखिन्छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकका आधारमा बितेको पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनिकाको संख्या बढ्दै गएको देखाएको छ। आर्थिक वर्ष २०७८/७९ मा लुम्बिनी प्रदेशमा सुरक्षित गर्भपतन गराउने २० वर्ष मुनिका महिलाको संख्या ९ दशमलव ६ प्रतिशत रहेको पाइन्छ।
दिगो विकास लक्ष्य २०३० अनुसार महिलाले आफ्नो शरीरमाथिको स्वायत्तता र लैंगिक समानताका साथै यौन सम्बन्ध, परिवार नियोजनका सामग्री र प्रजनन स्वास्थ्य सेवाका बारेमा जानकारीसहित आफैँ निर्णय गर्न सक्ने क्षमताको विकास गर्ने लक्ष्य लिएको छ।
प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा आर्थिक वर्ष २०७४/७५ मा ६ दशमलव २ प्रतिशत रहेकामा पाँच वर्षमा यो संख्या बढेर ९ दशमलव ६ प्रतिशत पुगेको छ। सूचीकृत स्वास्थ्य संस्थामा पुगेर गर्भपतन गराउनेको संख्या बढेको देखिँदा असुरक्षितरूपमा पनि गर्भपतन गराउनेको महिलाको संख्या पनि उत्तिकै रहेको आंकलन गरिएको छ। विवाहपूर्व शारीरिक सम्बन्धका कारण पनि २० वर्ष नपुग्दै गर्भपतन गराउन खोज्नेको संख्या बढेको देखिएको छ। सामाजिक, आर्थिक र सांस्कृतिक कारणले सुरक्षितभन्दा पनि असुरक्षित स्थानमा गर्भपतन गराउन पुग्नेहरू पनि छन्।
लुम्बिनी प्रदेश भित्रका १२ जिल्लामा सुरक्षित गर्भपतन गराउन एक सय ७४ स्वास्थ्य संस्था सूचीकृत छन्। सरकारी अस्पतालदेखि स्वास्थ्य चौकी र गैरसरकारी संस्थाले सञ्चालन गरेका परिवार नियोजन कार्यक्रममार्फत सुरक्षित गर्भपतन गराइन्छ तर अझै पनि सामाजिक पछौटेपनका कारण सुरक्षित गर्भपतन गराउने ठाउँमा नपुगी असुरक्षित गर्भपतन गराउने गरिएको पाइन्छ। यसरी असुरक्षित गर्भपतन गराउँदा महिलाको ज्यान जानेसम्मका जोखिम रहेकाले स्वास्थ्य मन्त्रालयले सचेतना अभिवृद्धिका कार्यक्रमसमेत गर्दै आएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत अर्जुन ढकालले बताए।
‘सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा सञ्चालन छ। यसका अतिरिक्त स्वास्थ्यकर्मीलाई तालिम दिने, जनचेतना अभिवृद्धि गर्ने काम भइरहेको छ,’ उनले भने, ‘अझै पनि छोराको आशामा लिंग पहिचान गरेर गर्भपतन गराउने कार्य भइरहेका गुनासाहरू पनि आइरहन्छन्। यस्ता कार्यलाई नियमन गर्न अझै कानुनी दायरालाई बढाउन जरुरी छ।’
वरिष्ठ नरसिंङ निरीक्षक राधा पौडेलले बजारमा खुलेका औषधि पसलमा सूचीकृत र सिफारिस भएका भन्दा बाहिरका औषधिसमेत बिक्री वितरण हुने गरेकाले असुरक्षित गर्भपतन बढेको बताए। बजारमा छ प्रकारका औषधि बिक्री वितरणका लागि अनुमति छ तर खुला सिमानाका कारण अन्य औषधि सहजै भित्रिने गरेकाले असुरक्षित गर्भपतनको जोखिम झनै बढेको उनको भनाइ थियो।