काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पुनरावलोकन (रिभ्यु) हुने भएको छ। २०७८ असार १ गते मेलम्ची खानेपानीको मुहान स्थलमा बाढी गएपछि दोस्रो चरणको निर्माण कार्य अनिश्चित हुँदै आएको छ।
सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्चीको दोस्रो चरण (याङ्ग्री र लार्के खोला)को कामलाई प्राथमिकता दिने घोषणा गरेको छ। बजेटमा सरकारले मेलम्ची आयोजनाको अस्थायी हेडवक्र्सको स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्ति गर्ने व्यवस्था मिलाउनले तयारी गरेको छ।
आयोजनाको दोस्रो चरण अन्तर्गत मेलम्चीमा याङ्ग्री र लार्के जोड्ने गरी संरचना निर्माण कार्य अघि बढाइने बजेटमा उल्लेख छ। सरकारको उक्त घोषणसँगै डिपिआर रिभ्यू हुन लागेको हो।
दोस्रो चरणको डिपिआर तयार भएको ३ वर्षमै फेरि रिभ्यू गर्नुपर्ने मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) एवं प्रवक्ता राजेन्द्रप्रसाद पन्त बताउँछन्।
वि.सं. २०७८ असार र साउनमा मेलम्ची खोलामा गएको बाढीले निर्माणको अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानीको मुहानमा क्षति पुगेको थियो। सोही कारण हालसम्म पनि मेलम्चीको पानी काठमाडौंमा नियमित आपूर्ति हुन सकेको छैन।
बाढीले पहिलो चरणमा पुगेको क्षतिका कारण दोस्रो चरणको डिपिआर नै परिमार्जन गरेर निर्माणको काम गर्नुपर्ने प्रवक्ता पन्त बताउँछन्। यद्यपि डिपिआर परिमार्जन गर्न कति रकम आवश्यक पर्छ अहिले नै भन्न नसकिने उनले बताए।
कस्तो छ याङ्ग्री र लार्केको डिपिआर?
सन् २०२० मा २८ करोड रुपैयाँ खर्च गरेर याङ्ग्री र लार्केको डिपिआर तयार भएको थियो। उक्त डिपीआरअनुसार २ वटा सुरुङमार्फत् याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा ल्याउने योजना थियो। दुई वटा खोलाबाट ३४ करोड लिटर र हाल हिउँदमा काठमाडौं आइरहेको १७ करोड लिटर गरेर ५१ करोड लिटर पानी काठमाडौंमा आउने छ।
लार्केबाट १ हजार ५ सय मिटर लामो सुरुङ बनाएर याङ्ग्रीमा पानी खसाल्ने गरी डिपिआर तयार भएको थियो। त्यस्तै याङ्ग्रीबाट ९ किलोमिटर लामो सुरुङ बनाएर मेलम्ची खोलामा पानी ल्याउने डिपिआरमा उल्लेख छ।
मेलम्ची खोलाको बाहेक अर्थात् दोस्रो चरणको काम गर्न २५ अर्ब रुपैयाँ भन्दा बढी लाग्ने सो डिपिआरले देखाएको छ। जसमा २ वटा सुरुङ, याङ्ग्री र लार्केमा बन्ने हेडवक्र्स, पानी प्रशोधन केन्द्र, क्याम्प, पहुँचमार्ग निर्माणको काम पर्छ। मेलम्चीको दोस्रो योजना कार्यान्वयनका लागि एसियाली विकास बैंक (एडिबी) ले ऋण दिने प्रतिवद्धता जनाइसकेको छ।
डिपिआरमा के परिमार्जन गर्नुपर्छ?
यस अघिको डिपिआरले एक सुरुङमार्गबाट अर्को खोलामा पानी खसाल्ने जनाएको थियो। तर, २०७८ मा मेलम्चीमा गएको बाढीबाट क्षति पुगेपछि खोलामा पानी खसाल्ने गरी तयार भएको डिपिआर परिमार्जन गर्नु पर्ने प्रवक्ता पन्त बताउँछन्। डिपिआर परमार्जन गरेपछि लागत रकमा पनि परिवर्तन हुनेछ।
‘पहिला लार्केबाट सुरुङ बनाएर याङ्ग्री खोलामा पानी खसाल्ने र फेरि याङ्ग्रीबाट सुरुङबाट मेलम्चीमा पानी ल्याउने डिपिआर बनाएका थियौं’ क्यापिटल नेपालसँग उनले भने, ‘अब खोलामा पानी नखसाली सिधै सुरुङहरु जोड्ने गरी अध्ययन गर्नुपर्ने अहिलेसम्मको छलफल छ।’
सुरुङ कसरी बन्नेछ ?
मेलम्चीको पहिलो चरणको सुरुङ निर्माण गरेको जस्तै गरी दोस्रो चरणका सुरुङ बनाउने योजना समितिको छ। नेपालमा पछिल्लो पटक सुरुङ बनाउन आधुनिक प्रविधिका मेसिनको प्रयोग गर्न थलिएको छ।
तर, याङ्ग्री र लार्केमा बनाउने सुरुङमा भने नयाँ प्रविधिको प्रयोग गर्ने विषयमा छलफल नभएको प्रवक्ता पन्तले जानकारी दिए। ‘अहिलेसम्म सुरुङमा नयाँ प्रविधिको प्रयोग गर्ने कुरा भएको छैन, पहिलो चरणमा जसरी नै ग्रिल एण्ड ब्लास्ड सिस्टमबाट मान्छेले नै सुरुङ खनिन्छ होला’ उनले भने।
समितिले स्ट्रक्चरल इन्जिनियरहरुको सहयोगमा डिपिआर रिभ्यू हुने भएको छ। रिभ्युका लागि समय र पैसा धेरै खर्च नहुने उनको भनाइ छ। डिपिआर रिभ्यू गर्दा मुख्य रुपमा एक–अर्को सुरुङ जोड्दा उपयुक्त हुन्छ कि हुँदैन? यो कति दिगो हुन्छ? र कति खर्च लाग्छ? भन्ने विषयमा ध्यान दिनुपर्ने हुन्छ।
मुआब्जा, क्षतिपूर्तिको वितरण र पहुँचमार्ग निर्माण गरेपछि मात्रै अन्य काम अघि बढाउन मिल्छ। मेलम्ची पुलबजारबाट इन्द्रवतीको तिरैतिर याङ्ग्रीको हेडक्वाटर्डसम्म २५ किलोमिटर पहुँच सडक निर्माण गर्नुपर्ने हुन्छ। उक्त पहुँचमार्ग निर्माणाधीन रहेकाले आर्थिक वर्ष २०८०/०८१ को सुरुवातमै सम्पन्न गर्न सकिने प्रवक्ता पन्तको भनाइ छ।
खानेपानी मन्त्रालयका कर्मचारले सरकारले आर्थिक वर्ष २०८०/०८१ मा मेलम्चीको दोस्रो चरणलाई प्राथमिकता दिनु सकरात्मक पक्ष बताएको बताउँछन्। ‘काठमाडौंमा मेलम्चीको पहिलो चरणको पानीले मात्रै पुग्दैन, दोस्रो चरण निर्माण गर्न ढिलो भइसक्यो। जतिसक्दो छिटो गर्न मन्त्रालय तयार छ हामीलाई निर्देशन हुनुपर्छ’ ति कर्मचारीले भने।