काठमाडौं। सरकारले आर्थिक वर्ष २०८०/८१ मार्फत मदिरा आयातमा २ प्रतिशत लक्जरी कर लगाएको छ। बजेटले विदेशबाट आयात भएर आउने मदिरामा लक्जरी कर लगाएको हो।
योसँगै आयातित मदिरामा लाग्दै आएको १ हजार ३ सय अन्तःशुल्कमा ५० रुपैयाँ बढाएर १ हजार ३ सय ५० रुपैया बनाएको छ। यो शुल्क आयातित मदिरासँगै आन्तरिक रुपमा उत्पादन हुने मदिरामा समेत लागू हुने छ। योसँगै मदिराको मूल्य बढ्ने निश्चित भएको छ।
सरकारले आयातित मदिराको भन्सार उच्च गतिमा बढाउँदा चोर बाटो (अवैधानिक बाटो) हुँदै एक वर्षमै ३ अर्ब रुपैयाँबराबरको मदिरा नेपाल भित्रिएको थियो।
मदिरा आयातकर्ताहरूले गरेको अध्ययनअनुसार ३ अर्ब रुपैयाँको मदिरा वैधानिक बाटोबाट नेपाल भित्रिँदा भने सरकारले डेढ अर्ब रुपैयाँबराबर राजस्व प्राप्त गथ्र्यो।
मदिरामा अत्यधिक कर लगाउनु र नेपालको तुलनामा छिमेकी भारतमा मदिरा सस्तो हुँदा पछिल्लो समय चोरी तस्करी बढेको व्यवसायीहरुको भनाई छ।
गत आर्थिक वर्षमा अन्तःशुल्क ३० रुपैयाँले थप गरी २ सय २८ बनाइएको छ। यसअघि प्रतिलिटर १ सय ९८ रुपैयाँ शुल्क लाग्दै आएको थियो।
त्यसैगरी ४२.८ प्रतिशत अल्कोहल भएका हकमा १ हजार १ सय ८८ बाट बढाएर १ हजार ३ सय ६ रुपैयाँ र्पुयाइएको थियो। ४८.५ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटर १ हजार ५ सय ९२ बाट १ हजार ७ सय ५० रुपैयाँ बनाइयो।
त्यसैगरी ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा १ हजार १ सयबाट बढाएर १ हजार २ सय १५ रुपैयाँ बनाइएको थियो। अन्य मदिराका हकमा १ हजार ७ सय ५० रुपैयाँ बनाइएको छ। साथै, ह्विस्कीको कच्चापदार्थका रूपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर १ सय ९८ लाई बढाएर २ सय २८ रुपैयाँ बनाइएको छ।
३४.२३ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर ५ सय ५५ रुपैयाँ रहेकोमा ६ सय १० बनाइएको छ भने २८.५३ प्रतिशत अल्कोहल भएको मदिरामा ४ सय ५० बाट ४ सय ७२ रुपैयाँ र्पुयाइएको हो।
हरेक वर्ष सरकारले मदिरामा अचाक्ली कर वृद्धि गर्दा चोरबाटोबाट नेपाल भित्रिने मदिरा हिस्सा वैधानिक बाटोबाट आउनेभन्दा बढी भएको आयातकर्ताहरू बताउँछन्।