काठमाडौं। सरकारले जीआई वायर निर्यातमा अन्तःशुल्क छुट गरेको छ। चालू आर्थिक वर्षमा जीआई वायर उद्योगको कच्चा पदार्थ एमएस रडमा प्रतिटन ४ हजार ५०० रुपैयाँ अन्तःशुल्क लगाएसँगै जीआई वायर निकासी रोकिएको थियो।
नेपालबाट अघिल्लो आर्थिक वर्ष ५ अर्ब रुपैयाँ बरारबको जीआई वायर भारत निकासी भएको थियो। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा जीआई वायरमा ४ हजार ५ सय रुपैयाँ अन्तःशुल्क लगाउने बित्तिकै निकासी प्रभावित भएको थियो।
तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तःशुल्क छुट दिने नीति लिएपछि निकासी पुनः हुने उद्योगीहरुले बताएका छन्।
४ वर्षअघिसम्म नेपालबाट मासिक ३ अर्ब ५० करोड रुपैयाँ बराबरको जीआई वायर निकासी हुन्थ्यो। सुनसरी मोरङ औद्योगिक कोरिडोरका ५ उद्योगले उक्त मूल्य बराबरको निकासी गर्थे।
तर, पछिल्लो समय सरकारले जीआई वायर उत्पादनमा अन्तःशुल्क नलाग्ने तर यसको कच्चा पदार्थ एमएस रड आयातमा प्रतिकिलो ४ रुपैयाँ ५० पैसा अन्तःशुल्क लाग्ने व्यवस्था गरेपछि उद्योगहरुले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकी निकासी घटेको हो।
तर, अर्थमन्त्री महतले निर्यात बढाउन अन्तःशुल्क छुट दिएका हुन्। यो हुने बित्तिकै निकासी सुरु हुने उद्योगीहरु बताउँछन्।
सुनसरी मोरङ औद्योगिक कोरिडोरका प्रिमियर वायर्स, हुलास वायर्स, पायोनियर वायर्स, कमला आइरन र अरिहन्त आइरनले जीआई वायर उत्पादन गर्छन्।