काठमाडौं। सरकारले बियरमा ३ प्रतिशत कर बढाएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै बियरमा प्रतिलिटर ७ रुपैयाँ कर बढाएको जानकारी दिएका हुन्।
सरकारले कर बढाएकाले मंगलबारदेखि बजारमा बियरको भाउ बढ्ने भएको छ। सरकारले बियरमा अधिक कर लिँदै आएको गुनासो उद्योगीले गरे पनि यो वर्ष पनि कर बढाएको छ।
प्रतिकार्टुन ३ हजार २ सय रुपैयाँ पर्ने बियरमा सरकारले २ हजार १ सय ४६ रुपैयाँ कर उठाउँदै आएकोमा अझ बढ्ने भएको छ।
सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) वापत ३ सय ६८, अन्तःशुल्क १ हजार ७ सय ७८ रुपैयाँ ४ पैसा गरी २ हजार १ सय ४६ रुपैयाँ ५४ पैसा कर असुल गरिरहेको छ।
उद्योगीले एक कार्टुन बियर बेच्दा ६७.८ प्रतिशत रकम राज्यकोषमै जम्मा गरिरहेका छन्। कर बढेकाले सरकारलाई आउने राजस्व बढ्ने छ। सरकारले बियरलाई सरकारले मुख्य आम्दानीको स्रोत बनाएको छ। स्वदेशी लगानीकर्ताले ठूलो लगानी गरेर विभिन्न ब्रान्डमा बियर उत्पादन गरिरहेका छन्।
कतिपय पुराना बियर उद्योग छन् भने कति नयाँ उद्योग खुलेका छन्। तर, अर्थतन्त्र समस्याग्रस्त हुँदै गएपछि बजारमा बियर मागमा उच्च गिरावट आएको छ। जसले सरकारको राजस्वमासमेत ठूलो धक्का लागेको छ। कर बढेकाले बजारमा बियरको माग कम हुने संभावना छ।
सरकारले मदिरामा कर बढाउने नीति हरेक वर्ष निरन्तरता दिँदै आएको छ। सामान्य अवस्थामा कर बढाउँदा उद्योगले त्यसमा जोडेर उपभोक्ता मूल्य निर्धारण गर्छन्।
चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले चुरोट र रक्सीभन्दा बियरमा अन्तःशुल्क धेरै बढाएको थियो। सरकारले चुरोट र रक्सीमा २० प्रतिशतमात्रै अन्तःशुल्क बढाएको थियो भने बियरमा ३० प्रतिशतले अन्तःशुल्क वृद्धि गरेको थियो।
बियरमा प्रतिलिटर १ सय ४८ रुपैयाँ अन्तःशुल्क लाग्दै आएको छ। गत वर्ष १ सय १५ रुपैयाँमात्रै लाग्थ्यो। पछिल्लो समय बियर बजारमा ठूला उद्योग आएका छन्। ती उद्योग आएपछि बजार ‘भाइब्रेन्ट’ भएका बेला सरकारले बियरमा अन्तःशुल्क अत्यधिक बढाएको थियो।
अहिले नेपालमा ११ बियर उद्योग सञ्चालनमा छन्। एउटा बियर उद्योगमा औसत न्यूनतम ३ अर्ब रुपैयाँ लगानी छ। सबै बियर उद्योगमा ३३ अर्ब रुपैयाँ भन्दा बढी निजी क्षेत्रको लगानी रहेको छ।