काठमाडौं। सरकारले विदेशी ऋणबाट बन्ने परियोजनामा अनिवार्य स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने बनाएको छ।
सरकारले यसअघि त्यस्ता वस्तु आयातमा दिँदै आएको भन्सार र मूल्य अभिवृद्धि कर (भ्याट) छुट गरेर स्वदेशी उत्पादन नै प्रयोग गर्न प्रोत्साहन गरेको हो।
नेपाली उद्योगी–व्यवसायीले बारम्बार विदेशी ऋणमा बन्ने परियोजनामा स्वदेशी उत्पादन प्रयोगको वातावरण बनाउन सरकारसँग माग गरेका थिए। यसअघिका सरकारले उनीहरूको माग वास्ता गरेको थिएन।
तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी उद्योग संरक्षण गर्न स्वदेशी उत्पादन प्रयोगको नीति बजेटमार्फत अघि सारेका हुन्।
विदेशी ऋण लगानीमा देशभित्र ठुल्ठूला पूर्वाधार बनिरहेका छन्। त्यस्ता परियोजनाले विदेशबाट छुटमा निर्माण सामग्री ल्याउँदा स्वदेशीले कुनै लाभ पाएका थिएनन्।
नेपाली उद्योगको उत्पादन विश्वस्तरीय हुँदाहुँदै सरकारले छुट दिएका कारण सबै परियोजनाले विदेशबाटै निर्माण सामग्री ल्याएर पूर्वाधार बनाइरहेका थिए। तर, आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले स्वदेशी उद्योगसँग सामान किनेको अवस्थामा भन्सार छुट दिने तर आयात गर्दा भन्सार र अन्तःशुल्क छुट नदिने नीति लिएको हो।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले लिएको नीति उत्तम भएको र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न खोजेको बताए।
तर, सरकारले शून्य दरमा विदेशी ऋण लगानीमा बनेका परियोजनालाई सामान बेच्न पाउनुपर्ने उनले बताए। सरकारले भन्सार र अन्तःशुल्क छुट दिने घोषणा गरेको छ, त्यसले स्वदेशी उत्पादनको खपत बढ्छ। उनीहरूलाई शून्य दरमा सामान बेच्न पाउनुपर्छ।
यसअघि सम्झौता भइसकेका परियोजनाले विदेशबाटै सामान ल्याए पनि नयाँ परियोजनाका लागि यस्तो सम्झौता गर्न पाउँदैनन्। सरकारको उक्त नीतिले देशभित्र रहेको सिमेन्ट, स्टिललगायत अन्य उद्योगको सामान बिक्री हुन्छ।