काठमाडौं। सरकारले 'आधुनिक जीवनको आधार : सूचना प्रविधि र सञ्चार' को मान्यता आत्मसात गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँचयोग्य बनाइने जनाएको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नागरिकको सुसूचित हुने हक सुनिश्चित गर्दै पूर्णप्रेस स्वतन्त्रताको प्रत्याभूति गरिने बताएका छन्।
उच्च क्षमताको अप्टिकल फाइबरमार्फत इन्टरनेट ब्रोडब्यान्ड सेवा सबै स्थानीय तहका केन्द्र, सार्वजनिक विद्यालय एवं क्याम्पस र स्वास्थ्य संस्थामा पुर्याइने जनाएको छ। मुलुकभरि द्रुत गतिको इन्टरनेट पहुँच पुर्याउन फोरजी सेवा विस्तार गरिने सरकारले जनाएको छ।
डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लगिने अर्थमन्त्री महतले बताए। डिजिटल साक्षरता बढाई नागरिक एपको प्रयोग र पहुँच विस्तार गरिने समेत बताएको छ।
ललितपुर खुमलटारमा सूचना प्रविधि ज्ञानपार्क स्थापना गर्ने कार्य अघि बढाइने समेत सरकारले घोषणा गरेको छ। विद्युतीय तथ्याङ्कको सुरक्षा, भण्डारण र उपयोग व्यवस्थित बनाउन विद्युतीय तथ्याङ्क सुरक्षा नीति तर्जुमा गरिने जनाएको छ।
कोहलपुरमा डेटा सेन्टर र ललितपुरमा इन्टरनेट एक्सचेन्ज सेन्टर निर्माणलाई तीव्रता दिन बजेट व्यवस्था सरकारले गरेको छ। धरानमा डेटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेन्ज निर्माणको सम्भाव्यता अध्ययनसमेत गरिने जनाएको छ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याइ साइबर सुरक्षाजन्य जोखिम न्यूनीकरण गरिने जनाएको छ। सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म र डिजिटल मिडिया प्रयोग व्यवस्थित र मर्यादित बनाइने समेत सरकारले घोषणा गरेको छ।
सामाजिक सञ्जालमा आधारित सञ्चारमाध्यमलाई औपचारिक दायरामा आउन प्रोत्साहन गर्नुका साथै नियमनका लागि कानुनी व्यवस्थामा सुधार गरिने जनाएको छ।