काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत कंक्रिट सडक निर्माण गर्न नीतिगत व्यवस्था गरेपछि त्यसको चौतर्फी बहस सुरु भएको छ ।
खासगरी, सिमेन्ट तथा रड उत्पादकहरूको लविङ र सम्बद्ध विज्ञको सुझावलाई मनन् गर्दै सरकारले नीतिगत व्यवस्था गरेपछि कंक्रिटबाट सडक बनाउँदा त्यसले देशलाई आर्थिक कोणबाट हुने फाइदाका विषयमा समेत छलफल हुन थालेको छ ।
एकातिर शतप्रतिशत स्वदेशी उत्पादनको खपत र अर्कोतिर आर्थिक रूपमा किफायती हुनुका साथै टिकाउ हुने भएका कारण सरकारले कंक्रिट रोड निर्माणलाई तीव्रता दिनुपर्ने आवाज उठिरहेको छ । अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कंक्रिट र बिटुमिनबाट सडक निर्माण गर्दा देशलाई पुग्ने फाइदाको विषयमा विज्ञसँग निरन्तर छलफल गरिरहेको छ ।
‘कंक्रिटबाट सडक बनाउने प्रविधि विश्वमा एक सय वर्ष अघिदेखि कार्यान्वयनमा छ । नेपालमा पनि छिट्फुट रूपमा कंक्रिटबाट सडक बनाइन्छ । तर, त्यसलाई व्यापाक बनाइएको छैन, । अहिले कंक्रिट सडक बनाउँदा लाग्ने खर्च, टिकाउ, तथा वातावरणमैत्री हुने÷नहुने विषयमा संघन छलफल चलिरहेका छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ भन्छन्, ‘विश्वमा भइरहेको अभ्यास, आर्थिक दृष्टिकोणबाट विश्लेषण र बलियोपनका बारेमा अध्ययन भइरहेको छ ।’
सिमेन्ट तथा स्टिल उद्योगीले वर्षौंदेखि कंक्रिटबाट सडक निर्माण गर्नुपर्ने माग गरिरहेका थिए । ‘कंक्रिटबाट सडक बनाउँदा शतप्रतिशत स्वदेशी उत्पादन प्रयोग गर्न सकिन्छ ।
यदि देशभर कंक्रिटबाट सडक बनाउने हो भने ठूलो परिमाणमा सिमेन्ट तथा रड खपत हुने यसले देशको अर्थतन्त्रमा नै परिवर्तन आउँछ,’ अर्घाखाँची सिमेन्टका सञ्चालक राजेशकुमार अग्रवालले भने, ‘सरकारले आजभन्दा ५ वर्षअघिदेखि नै कंक्रिटको सडक बनाउनुपर्ने थियो । यदि त्यही बेलादेखि सडक बनाउन थालेको भए देशमा अहिले सयौं उद्योग लागिसकेका हुन्थे भने हजारौंले रोजगारी पाइसकेका हुन्थे ।’
नेपाल सिमेन्ट उत्पादक संघका अनुसार नेपालमा २३ क्लिंकर उद्योगसहित ६४ वटा सिमेन्ट उद्योगले २ करोड २० लाख टन सिमेन्ट बनाउने क्षमता राख्छन् । तर, अहिले सिमेन्ट उद्योगबाट १ करोड २० टन प्रतिवर्ष सिमेन्ट बनाइरहेका छन् । यदि सरकारले कंक्रिट रोड निर्माणलाई व्यापकता बनाउने हो भने भइरहेका उद्योग पनि पूर्णक्षमतामा चल्छन् र नयाँ आउने उद्योगलाई पनि बजारको ग्यारेन्टी हुन्छ ।’
भौतिक मन्त्रालयका पूर्वसचिव तुलसीप्रसाद सिटौलाका अनुसार कंक्रिट सडक बिटुमिनभन्दा कंक्रिटबाट बनाएको सडक ३० देखि ४० वर्षसम्म सजिलै टिक्ने बताउँछन् । जबकी, बिटुमिनको प्रयोग गरेर बनाइएको सडक १÷२ वर्षभित्रै बिग्रिने गरेको उनको अनुभव छ ।
‘दुई वर्षपछि हरेक वर्ष बिटुमिनबाट बनाइएको सडक मर्मतका लागि ठूलो धनराशी खर्च गर्नुपर्ने अवस्था छ । यसले राज्यलाई पनि अतिरिक्त आर्थिक भार पारिरहेको छ,’ सिटौलाले भने, ‘जबकि सिमेन्ट कंक्रिटबाट सडक बनाउँदा सुरुमा लागत केही महँगो देखिए पनि दीर्घकालीन हुन्छ । बिटुमिनबाट बनेका सडकलाई जस्तै हरेक वर्ष मेन्टिनेन्सका लागि बजेट खन्याउने बाध्यताको अन्त्य हुन्छ ।’
नेपाल रोलिङ मिल्स एसोसिएसनका अध्यक्ष शाहिल अग्रवालका अनुसार नेपाली उद्योगसँग वार्षिक ३० लाख टन रड उत्पादन गर्ने क्षमता छ । त, अहिले वार्षिक रूपमा १३ लाख टन मात्रै रड उत्पादन भइरहेको छ ।
‘यदि सरकारले कंक्रिट रोड निर्माणलाई व्यापक बनाउने हो भने अर्बौं रुपैयाँ लगानी गरेर खोलिएका स्टिल उद्योग पूर्णक्षमतामा मात्रै चल्दैनन्, नयाँ–नयाँ उद्योग पनि थपिने सम्भावना छ,’ अग्रवालले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने, ‘देशको आन्तरिक उत्पादन पनि खपत हुने र बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न पनि सहयोग पुग्नुका साथै सडक पनि टिकाउ हुन्छ ।’
भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसचिव राजेन्द्र शर्माले गरेको एक अध्ययन अनुसार कालोपत्रे सडकभन्दा सिमेन्ट कंक्रिट सडक ३० प्रतिशत सस्तो हुने देखिएको छ । सुरुमा लागत केही बढी भए पनि वर्षौंसम्म मर्मत गर्नु नपर्ने भएकाले दीर्घकालमा सस्ता हुन गएको उनको अध्ययनबाट देखिएको हो ।
मन्त्रालयका अनुसार अहिले देशमा अहिले वार्षिक रूपमा १ लाख ८५ हजार टन बिटुमिन खपत हुने गरेको छ । त्यसमध्ये १ लाख १६ हजार टन सडक मर्मतका लागि उपयोग हुने गरेको छ । सडक विभागको अध्ययनअनुसार एक वर्गमिटर क्षेत्रफल सडक बनाउन ५ किलोग्राम बिटुमिन आवश्यक पर्छ ।
कालोपत्रे सडकको तुलनामा सिमेन्टबाट बन्ने सडकको आयु लामो हुने, पानीले नबिग्रिने, इन्धन खपत न्यून हुनेजस्ता फाइदा रहेको पूर्वसचिव शर्माले जानकारी दिए । तर, निर्माण भइसकेपछि फुटाएर नयाँ ढल वा पाइपजस्ता ‘युटिलिटी’ भने हाल्न नसकिने समस्या यसमा छ । ‘यसका लागि पूर्वयोजना बनाएर मात्र ढलान सडक निर्माण गर्नुपर्ने देखिन्छ,’ उनले भने ।
मन्त्रालयले गरेको अध्ययनअनुसार पनि बिटुमिन प्रयोग गरेका सडकको आयु १० देखि २० वर्षसम्म हुन्छ । तर, नेपालमा ढलान गर्दा तापक्रम र अन्य अवस्था फरक पर्दा ५ वर्ष टिक्ने सडकलाई पनि राम्रो गुणस्तरको मान्ने चलन छ ।
‘नेपालमा ५ वर्ष सञ्चालन भयो भने पनि ठूलो उपलब्धि मान्ने अवस्था छ,’ सचिव श्रेष्ठले भने, ‘तर, यसको विपरीत सिमेन्ट ढलान सडक ३० देखि ४० वर्षसम्म टिकाउ हुने अध्ययनबाट देखिएको छ ।
अर्कोतर्फ सिमेन्ट ढलान सडकलाई मर्मत गरिरहनुपर्दैन भने बिटुमिनले निर्माण गरेको सडकलाई आवधिक मर्मत आवश्यक पर्छ । यति मात्र होइन, इन्धन बचतसमेत १४ प्रतिशत हुने गरेको उनको भनाइ छ ।
यसका साथै बिटुमिन र पानीबीच शत्रुतातापूर्ण सम्बन्ध हुन्छ । बिटुमिन प्रयोग गरिएको सडकमा पानी पर्ने बित्तिकै खाल्डो पर्ने वा उप्किने गर्छ । जबकि सिमेन्ट कंक्रिटमा केही फरक नपर्ने अध्ययनले देखाएको छ । बिटुमिनलाई कालोपत्रेका लागि तयार गर्न तताउनुपर्छ । त्यसले वायु प्रदूषण हुने गरेको छ । तर, सिमेन्ट वातावरणमैत्री रहेको छ ।
बिटुमिनमा गुणस्तर नियन्त्रण गर्न तापक्रम लगायतका विषय हेर्नुपर्छ । त्यो सिमेन्ट ढलानमा आवश्यक पर्दैन ।
सडक विभागका महानिर्देशक अर्जनजंग थापाले मुलुकभित्रै उत्पादित सामग्रीको प्रयोग गरेर सडक निर्माण गर्दा बिटुमिन लगायतका वस्तु आयात घटाउन मद्दत पुग्ने बताए ।
मुलुक सिमेन्टमा आत्मनिर्भर भइसकेको छ । सिमेन्ट उत्पादनमा स्वदेशकै चुनढुंगा खपत भइरहेको छ । गिट्टी र बालुवाको पनि अभाव छैन । तर, कालोपत्रेका लागि आवश्यक बिटुमिन आयात गरिनुपर्छ । धेरै भारवहन थेग्नुपर्ने सडकमा पनि कालोपत्रेको सट्टामा सिमेन्ट कंक्रिटको ढलानलाई प्राथमिकता दिने विषयमा बृहत् छलफल भइरहेको उनको भनाइ छ ।
सरकारले अहिले पहाडी भेगमा पानी बग्ने, भिरालो, खोल्साखोल्सी, कमजोर धरातल, पहिरो जाने र ज्यादै घुम्ती भएका स्थानमा सिमेन्ट कंक्रिट सडक निर्माण गरिरहेको छ ।
भौतिक मन्त्रालयले एक वर्ष लगाएर गरेको एक अनुसन्धान अनुसार कालोपत्रे सडकमा भन्दा कंक्रिटको सडकमा १४ प्रतिशत इन्धन कम खपत हुने देखिएको छ । अर्कोतिर सिमेन्ट प्रयोग गरेर ढलान गरेर बनाइने सडक सतहले ठूलो क्षेत्रमा भार फैलाउन मदत गर्छ ।
तसर्थ तुलनात्मक रूपमा कमजोर माटो वा जग भएको ठाउँमा पनि यस्तो सडक सतह निर्माण गर्न सकिन्छ । नेपालमा अहिले राष्ट्रिय राजमार्ग, प्रादेशिक राजमार्ग र स्थानीय सडकहरू गरेर लगभग एक लाख किलोमिटर सडक भएको सरकारी तथ्यांकमा देखिन्छ । यसमध्ये करिब १३ प्रतिशत पक्की, २१ प्रतिशत ग्राभेल र ६६ प्रतिशत माटे सडक छन् । नेपालका कालोपत्रे सडकमध्ये ९५ प्रतिशतभन्दा बढी बिटुमिन प्रयोग गरेर बनाइएका छन् ।
नेपालमा आफ्नै कच्चा तेल उत्पादन नहुने र कच्चा तेल प्रशोधन पनि नहुने भएकाले सबै बिटुमिन आयातबाट नै पूर्ति हुन्छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७७ मा ६ अर्ब ३७ करोड रुपैयाँ बराबर ११ करोड ८८ लाख ६५ हजार १७५ केजी बिटुमिन नेपालमा आयात भएको देखिन्छ ।
नेपालमा बिटुमिन आयात गरिने मुलुकहरूमा भारत, साउदी अरबिया, यूएई, इरान, सिंगापुर, कतार जस्ता मुलुकहरू पर्छन् । नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि विदेशी मुद्रा तिरेर बिटुमिन आयात गरेर सडक निर्माण गर्नु निकै महँगो परिरहेको सहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा बताउँछन् ।
चुनढुंगा र माटो सतप्रतिशत स्वदेशी कच्चा पदार्थ हुन् । त्यही कच्चा पदार्थको प्रयोग गरेर सिमेन्ट बनाइन्छ । सिमेन्ट उत्पादनका लागि चाहिने मुख्य अव्यव, चुनढुंगा नेपालमा यथेष्ट रूपमा पाइन्छ । तसर्थ आफ्नै देशमा प्रशस्त सिमेन्ट उत्पादन गर्न सकिने सम्भावना रहेको छ । घर, पुल लगायतका संरचनाहरू बनाउन सिमेन्टको प्रयोग भए पनि सडक बनाउन खासै प्रयोग भएको देखिँदैन ।
पूर्वसचिव थापाकाअनुसार चीनमा ८५ प्रतिशत सकड कंक्रिटबाट बनेका छन् । त्यसैगरी युरोप तथा मध्यपूर्वी देशमा पनि ९० प्रतिशत सडक कंक्रिटबाट बनेका हुन्छन् । विश्वका ठुल्ठूला एयरपोर्ट पनि कंक्रिटबाटै बनाइएको हुन्छ । तर, नेपालमा अहिलेसम्म यो प्रविधि नयाँ भएको उनको भनाइ छ ।
कंक्रिट सडकका बेफाइदाभन्दा बढी फाइदा छन् । कंक्रिटबाट बनेको सडक वातावरणमैत्री हुन्छ । स्वदेशी उत्पादनको अधिकतम प्रयोग हुन्छ । व्यापार घाटा न्यूनीकरण गर्न मद्दत पुग्छ । देशभित्र रोजगारीको अवसर सिर्जना हुन्छ ।
बिटुमिन आयातको तीन वर्षको तथ्यांक
बिटुमिन (केजी) आर्थिक वर्ष बाहिरिएको रकम
६५७९४५६१ २०७४/०७५ ५२०६००००००
११८८६५१७५ २०७५/०७६ ६३७६७६९०००
१८५३४४६८४ २०७६/०७७ ७६१०२३७०००
स्रोत भन्सार विभाग