काठमाडौं। बजेट निर्माणले अन्तिम रूप लिँदै थियो। बजेट लेखन समितिले अंक बाहेकका बुँदाहरू तयार पारिसकेको थियो। उता राजस्वका दरमाथि छलफल हुने बेलामा अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. विश्व पौडेललाई पन्छ्याएर बजेटलाई अन्तिम रूप दिइएको खुलेको छ।
पौडेललाई अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए। चालू आर्थिक वर्षको बजेट निर्माण गरेर अनुभव बटुलेका पौडेललाई अर्थमन्त्रीले आफूलाई सहयोगी हुने भन्दै अर्थमा भित्र्याएका थिए।
तर, बजेट निर्माण अन्तिम चरणमा पुग्न लागेका बेला पौडेललाई वाइपास गरेर अर्थमन्त्री महतले डा. पोषराज पाण्डेलाई अघि सारे। पौडेलसँगै पाण्डे र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट सल्लाहकारमा नियुक्त भएका व्यक्ति हुन्।
महतले पौडेललाई बाहिर राखेर पाण्डेको लिडरसीप र भट्टको सहयोगमा बजेट निर्माण गरे। बजेटको अन्तिम रात पनि पौडेल अर्थ मन्त्रालयबाट बेलुका ५ बजे नै बाहिरिएका थिए। जबकि, बजेट निर्माण खटिएका सम्पूर्ण व्यक्तिहरू रातभर बसेर बजेट बनाएका हुन्।
अर्थ मन्त्रालय स्रोतका अनुसार पौडेललाई केही दिनदेखि अर्थमन्त्री सोधखोज पनि नगर्ने, गोप्य छलफलमा पनि नबोलाउने गरिरहेका थिए। पौडेल पनि मन्त्रालय आउने र बेलैमा घर फर्किने गरेको केही दिन बित्तिसकेको छ।
स्रोतका अनुसार अर्थमन्त्री महत बजेटमार्फत नीतिगत सुधार गर्न चाहन्थे। त्यही अनुसारका नीतिहरू आओस् भन्ने महतको चाहना थियो। उनको चाहनाअनुरूप पौडेलले सुझाव दिन नसकेपछि अर्थमन्त्री आफैले उनलाई कम एक्सेस दिएका हुन्।
नीतिगत सुधार महतको पहिलो एजेन्डा हो। नीतिगत सुधार गर्नकै लागि पौडेललाई प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए भने दुई जना अर्थशास्त्रीलाई सल्लाहकारको रूपमा अर्थमा भित्र्याएका थिए।