काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने प्रयासले आकार लिन थालेको बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। ‘संविधान र व्यवस्थाअनुरूप सञ्चालित सरकारलगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्थाका अभिष्ट पूरा गर्नतिर केन्द्रित हुनुपदर्छ र हुँदै पनि गएका छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘यसको निम्ति नागरिक हक अधिकारको पूर्ण सुनिश्चितता गर्दै छोटो समयमा मुलुकलाई आर्थिक सामाजिकरूपमा एक सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले क्रमशः आकार लिन थालेको छ।’
प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी भएको बताए। लोकतन्त्रमा विभिन्न धारणा र विचारहरू हुनु स्वाभाविक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्र मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकताको जगलाई अझ मजबुत बनाउन सकिने स्पष्ट पारे।
‘नेपाली जनताले पटक पटक नागरिक हक अधिकार प्राप्तिका लागि गरेको संघर्ष केवल गणतन्त्र र राजनीतिक स्वतन्त्रता प्राप्तिका लागि मात्र सीमित थिएन,’ प्रधानमन्त्री दाहालले भने, ‘राजनीतिक परिवर्तनमार्फत देशको आर्थिक र सामाजिक अवस्था सुधार गरी नेपाललाई समृद्ध र समुन्नत मुलुकका रूपमा स्थापित गर्ने पनि यसको उद्देश्य थियो।’ उनले अर्थतन्त्रको सबलीकरण र सामाजिक रूपान्तरणमा सहयोगी हुने हिसाबले राजनीतिकलाई अघि बढाउन आवश्यक भएको बताए।
‘संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहजरूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुँदैन,’ दाहालले भने, ‘ठूलो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील छ।’ संविधानले निर्दिष्ट गरे अनुरूप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासन सहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिन जरुरी भएको उनको भनाइ छ।