काठमाडौं। एक दिन ट्याक्सी चालक देवकुमार श्रेष्ठ नयाँबानेश्वरको सिभिल अस्पताल अगाडि ‘ट्रिप’ पर्खेर बसिरहेका थिए। उनी भएकै ठाउँमा अर्को ट्याक्सी आइपुग्यो।
त्यो ट्याक्सीका चालकले देवलाई भने, ‘के क्युमा बसिरहनुभएको दाइ, खुरुक्क पठाओ दर्ता नगरेर!’ती ट्याक्सी चालकले यति भन्दै गर्दा तिनको मोबाइलमा ‘नोटिफिकेसन’ आयो र उनी यात्रु लिन गए।
‘आफु क्युमा बसेको बस्यै छु। त्यो चालकले मेरै अगाडि प्यासेन्जर पायो,’ देवले क्यापिटल नेपालसँग भने, ‘त्यसपछि म पनि पठाओमा दर्ता हुने सोच बनाएँ।’
त्यसपछि उनी नक्सा हेर्दै ‘पठाओ’ को अफिस पुगे। लाइसेन्स, ब्लुबुक बुझाएर क्लास लिए। क्लासमा उनले एप डाउनलोड गरे र एप चलाउन सिके।
दर्ता सकेपछि उनी पठाओको अफिसबाट निस्किन लागेका थिए, उनको मोबाइलमा नोटिफिकेसन आयो। ‘अफिसबाट निस्किन नपाउँदै रत्नराज्य स्कुलबाट चाबहिलसम्मको ट्रिप आयो,’ उनले भने।
त्यसपछि उनले सधैं पठाओबाट प्यासेन्जर खोज्न थाले। प्यासेन्जर पर्खिन नपर्ने भएकाले उनको कमाइ पनि बढ्न थाल्यो।
सन् २०१९ सेप्टेम्बरबाट सुरु गरेका थिए। हालसम्म उनले पठाओबाट प्यासेन्जर ओसारेर ३२ लाख कमाइसकेका छन्।
पठाओका ट्याक्सी चालकमध्ये सबैभन्दा धेरै कमाइ गरेर पठाओ कम्पनीले उनलाई सम्मान पनि गरिसक्यो।
गार्मेन्टको जागिरबाट आफ्नो जागिरे जीवन सुरु गरेका देवले नेपालमा गार्मेन्ट उद्योग धराशयी भएपछि ३२ वर्षको उमेरमा ड्राइभिङ सिकेका थिए।
गाडी सिकेपछि उनले एउटा ट्राभलको गाडी चलाउन थाले। ट्राभलको गाडीमा महिनाको १५ दिन खाली बस्नुपर्ने भएपछि ट्याक्सी किन्ने निधो गरे।
‘साथीहरूसँग सल्लाह गर्दा ट्याक्सीमा कमाइ राम्रै हुन्छ भने। त्यसपछि १३ लाख बुझाएर किस्तामा ट्याक्सी किनेँ,’ उनले भने।
अहिले उनी त्यही ट्याक्सीबाट पठाओ गरिरहेका छन्।
पठाओमा आबद्ध हुनुअघि ३ हजारदेखि ३५ सय कमाउँथे भने पठाओमा सामान्य दिनमा पनि ५ हजार हुने उनले बताए। कुनै दिन ९ हजारसम्म कमाइ भएको उनीसँग अनुभव छ।
‘लकडाउनपछि त मलाई मारामार नै परेको थियो। दिनमा २३/२४ वटा ट्रिपसम्म गर्न भ्याए,’ उनले भने। अबको दिनमा पनि उनी पठाओ नै गर्ने सोचमा छन्।
‘पठाओबाट प्यासेन्जर खोज्दा पर्खिनु पनि परेन, ट्रिप पनि सजिलै लाग्ने, सुरक्षित पनि छ,’ उनले भने, ‘मान्छे पर्खिंदै बस्नुभन्दा मलाई यही ठिक लाग्यो।’