काठमाडौं। सञ्चय कोषको सम्पति तथा दायित्व ४ खर्ब माथी पुगेको छ। आर्थिक सर्वेक्षण अनुसार २०७९ पुससम्म कर्मचारी सञ्चय कोषको सम्पति तथा दायित्व ४ खर्ब ५९ अर्ब ४२ करोड पुगेको छ।
यस अवधिमा सञ्चयकर्ताको सञ्चित रकम ४ खर्ब १६ अर्ब ३६ करोड रहेको छ। साथै, कोषले विभिन्न क्षेत्रमा गरी १ खर्ब ४९ अर्ब ६० करोड लगानी र ३ खर्ब ६० करोड कर्जा तथा सापटी प्रदान गरेको छ।
२०७९ पुससम्म नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व २ खर्ब ४७ अर्ब ५१ करोड पुगेको छ। यस अवधिमा बचतकर्ताहरूको सञ्चित रकम १ खर्ब ८७ अर्ब ४४ करोड रहेको छ। साथै, कोषले विभिन्न क्षेत्रमा गरी १ खर्ब ३० अर्ब २८ करोड लगानी र ६४ अर्ब ६३ करोड कर्जा तथा सापटी प्रदान गरेको छ।
२०७९ फागुनसम्म हुलाक बचत बैंकको कार्यालय ६८, सम्पति तथा दायित्व ४ करोड ३६ लाख ७७ हजार र कूल बचत खाता संख्या ३ हजार ६ सय ६८ रहेको छ।
२०७९ फागुनसम्म १ सय ७ बैंक तथा वित्तीय संस्थाको २ खर्ब ६९ अर्ब ८१ करोड कर्जा सुरक्षण भएको छ। यसैगरी ५७ बैंक तथा वित्तीय संस्थाको ११ खर्ब ५९ अर्ब ६५ करोड निक्षेप सुरक्षण भएको छ।
२०७९ फागुनसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाका १८ हजार १ सय ६५ ऋणी कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचीमा रहेका छन्। साथै ३ हजार ७ सय ५० ऋणी कालोसूचीबाट हटेका छन्।
२०७९ असारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाका १५ हजार ९ सय ९५ ऋणी कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचीमा रहेका र ३ हजार २ सय २ ऋणी कालोसूचीबाट हटेका थिए।