काठमाडौं। व्यावसायिक प्रतिष्ठान जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको जेजिआई डिस्ट्रिब्युसन प्रालिको मदिरा व्यापार १७ प्रतिशत बढेको छ।
सन् २०२२ मा कम्पनीले १६ अर्ब ९८ करोड ९० लाख रुपैयाँबराबर मदिरा व्यापार गरेको छ। २०२१ मा कम्पनीले १४ अर्ब ५० करोड २७ लाखको मदिरा व्यापार गरेको थियो।
एक वर्ष अवधिमा जेजिआईको मदिरा व्यापार २ अर्ब ४८ करोड ७० लाख रुपैयाँ बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ। जेजिआईले ६ महिनामा ५ अर्ब ४० करोड ३९ लाख रुपैयाँको मदिरा व्यापार गरेको छ। ६ महिनाको व्यापार हेर्दा २०२३ मा गत वर्षको लक्ष्य भेट्टाउन मुस्किल देखिएको छ।
यसबीचमा कम्पनीले ४ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ ऋण रेटिङ गराएको छ। कम्पनीले ऋणको राम्रो रेटिङ पाएको छ। २०२० मा जेजिआईले ११ अर्ब ३६ करोड ६० लाख र २०१९ मा १३ अर्ब ३१ करोड २० लाखको मदिरा व्यापार गरेको थियो।
जेजिआई नेपालको अगुवा मदिरा तथा पेयपदार्थ वितरक कम्पनी हो। पछिल्लो समय उत्पादित बडवाइजर बियरको बिक्री हिस्सा बढ्दै गएको कम्पनीले जनाएको छ।
बडवाइजर बियर अमेरिकाको एबी इन बेभ कम्पनीको साझेदारीमा नेपालमा उत्पादन तथा बिक्री सुरु भएको हो।
२०१६ मा जावलाखेल ग्रुपले मदिरा व्यापारका लागि जेजिआई स्थापना गरेको थियो। कम्पनीले अहिले जावलाखेल ग्रुपका पाँचवटा डिस्टिलरीले उत्पादन गरेको मदिरा र बियर देशभरि बिक्री वितरण गर्दै आएको छ।
जेजिआईले जावलाखेल ग्रुपअन्तर्गतका हिमालयन डिस्टिलरी लिमिटेड, विजय डिस्टिलरी, एसियन डिस्टिलरी र रोलिङ रिभर डिस्टिलरीले उत्पादन गरेका विभिन्न ब्रान्डको मदिराका साथै राज ब्रुअरीको बियर बिक्री वितरण गर्दै आएको छ। यस्तै कम्पनीले केही विदेशी वाइन र बियर पनि आयात गर्दै आएको छ।
जावलाखेल ग्रुपभित्रका पाँचवटै कम्पनीमा विजयबहादुर शाह र उनका छोरा राजबहादुर शाहको स्वामित्व छ। शाह ग्रुपका अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन्। उनी मदिरा तथा पेयपदार्थ उत्पादनमा लागेको चार दशक बढी भइसकेको छ। जेजिआईमा विजयबहादुरको ५५ र राजबहादुर शाहको ४५ प्रतिशत हिस्सा छ।
सन् १९७३ मा विजयबहादुरले जावलाखेल डिस्टिलरी स्थापना गरेर मदिरा व्यवसायमा प्रवेश गरेका थिए।
उनले पहिलोपटक सेतो मदिरा रुस्लान भोड्का उत्पादन सुरु गरेका थिए। हाल ग्रुपभित्र मदिरा र बियर उत्पादनका साथै मदिराको रिसर्च युनिट जेजिआई प्रालि छ।
ग्रुपअन्र्तगतको राज ब्रुअरी प्रालिले उत्पादन गरिरहेको बडवाइजर बियरको बजार हिस्सा बढ्दै गएको छ। नेपालको मदिरा बजारमा ग्रुपको हिस्सा धेरै छ। ४० युपी मदिरामा ग्रुपको देशभरि बलियो उपस्थिति छ। ४० युपीको मदिरा बजारमा गोल्डेन ओकको हिस्सा ठूलो रहेको कम्पनीले जनाएको छ।
कूल आम्दानीमा गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजरी र हिमालय ब्रान्डीको हिस्सा ६२ प्रतिशत छ। यस्तै भोड्का, जिन र आइलाको २४ र बाँकी बडवाइजरलगायत अन्य ब्रान्ड बियरको हिस्सा रहेको जेजिआइले जनाएको छ।
पछिल्लो समयमा रुस्लान भोड्का बिक्रीमा कमी आएको कम्पनीले जनाएको छ। अहिले ४० युपीका गोल्डेन ओक र ब्लुडाइमन्ड जिनको बजार हिस्सा बढ्दै गएको छ। २०२१ र २०२२ मा कूल आम्दानीमा यी दुई ब्रान्डको हिस्सा ६८ प्रतिशत थियो।
फ्ल्यागसिप ब्रान्डको पुनरुत्थान र यसको ब्रुअरी उत्पादन लाइनको स्थिरीकरणले कम्पनीको भविष्यको आम्दानी, मार्जिन र नाफा निर्भर गर्ने छ। कम्पनीसँग देशभरि २ सय ३७ भन्दा बढी डिलरसहितको आपूर्ति शृंखला छ।
यसले मदिरा व्यापार बढाउन सहयोग पु¥याएको छ। ग्रुपको पाँच गोदाम छन्। शीर्ष २० डिलरको मदिरा बिक्री हिस्सा ४९ प्रतिशत रहेको कम्पनीले जनाएको छ।
ग्रुपपभित्रका मदिरा उद्योगले सरकारलाई बढी कर बुझाउने गरेका छन्। बर्षेेनि मदिराको अन्तःशुल्क बढ्दै गएपछि मूल्य पनि बढ्ने गरेको छ। आगामी आर्थिक वर्षको बजेटमा पनि मदिराको अन्तःशुल्क बढ्ने सम्भावना छ। भन्सार मूल्यमा हुने हेरफेरले जेजिआईको आम्दानीमा प्रभाव पार्दै आएको छ।