काठमाडौं। सुर्ती-चुरोट उद्योगले आर्थिक वर्ष २०७९/८० मा राजस्व संकलनमा अनुमानित ५२ अर्बभन्दा धेरै योगदान गरेको छ।
यस उद्योगले चालू आर्थिक वर्ष अनुमानित ३४ अर्ब २६ करोड अन्तःशुल्क, ९ अर्ब ८२ करोड मूल्य अभिवृद्धि कर (भ्याट), ५ अर्ब ८४ करोड आयकर र भन्सार, कल्याणकारी कोष, लाभांश करलगायत शीर्षकमा २ अर्ब ५२ करोड गरी राजस्वमा कूल ५२ अर्ब ८ करोड योगदान गरेको सुर्ती-चुरोट उद्योगीले जनाएका छन्।
चालू आर्थिक वर्ष यो उद्योगले सरकारको कूल राजस्वमा ४.५ प्रतिशत योगदान गरेको हो।
नेपालमा सुर्ती उत्पादनको राम्रो सम्भावना भएकाले यसले व्यापार घाटा कम गर्न मद्दत गर्ने उद्योगीहरूको तर्क छ।
सुर्ती खेतीको पकेट क्षेत्र मानिने बारा, पर्सा, रौतहट, धनुषा, सिरहा र नवलपरासीका करिब ५ हजारभन्दा धेरै सुर्ती किसान र २० हजार बढी कृषि मजदुर प्रत्यक्ष लाभान्वित छन्।
नेपालको चुरोट उद्योगबाट प्रत्यक्ष १ लाखलाई रोजगारी र ५ लाखभन्दा धेरैकाे जीविकोपार्जनमा सहयोग पुगेको छ।
चुरोटको कर धेरै भएकाले स्वदेशी चुरोटकै नक्कली चुरोट बनाइ बिक्री गर्दा सरकारको अर्बौं राजस्व गुमिरहेको उद्योगीहरूको दाबी छ।
गैरकानुनी चुरोटका कारण राज्यले वार्षिक २ अर्ब ३० करोड र अन्य गैरकानुनी सुर्तीजन्य पदार्थका कारण वर्षेनि ५ अर्ब ७० करोड गरी कूल ८ अर्ब राजस्व गुमिरहेको उनीहरूको भनाइ छ।
नेपालमा सुर्ती चुरोटबाट राजस्व बढ्दो क्रममा भए पनि चुरोट सेवन गर्नेको संख्या भने घटेकाे छ।
वर्ल्ड अफ स्ट्याटिस्टिक्सको तथ्यांकअनुसार नेपालमा सन् २००० देखि २०२० सम्म चुरोट सेवन गर्नेको संख्यामा ३४.१ प्रतिशतले गिरावट आएको छ । त्यस्तै चुरोट सेवन गर्नेको संख्या घट्ने देशमा नेपालपछि क्रमशः सिरिया लिओन, किरिबाटी, नर्वे, भारत, अस्ट्रिया, पेरु, क्युबा छन्।
भन्सार विभागको तथ्यांकअनुसार २०७९/८० मा २ अर्ब ७६ करोड ३५ लाख ५२ हजारबराबरको सुर्तीजन्य पदार्थ आयात भएको थियो भने २ अर्ब ९१ करोड ९ लाख ३८ हजार राजस्व संकलन भएको थियो।