काठमाडौं। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण कार्य लगभग अन्तिम चरण पुगेको छ। बजेट लेखन समितिले अंक र करका दर बाँकी राखेर अन्य प्रक्रिया पूरा गरिसकेको छ। तर, यो बीचमा प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटमा अस्वाभाविक चासो देखाएका छन्।
प्रधानमन्त्री दाहालले अस्वाभाविक चासो देखाएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतदेखि अर्थका कर्मचारी अचम्भित भएका छन्। यसअघिका प्रधानमन्त्रीले अर्थमन्त्रीमाथि पूर्णविश्वास गर्थे। अर्थमन्त्रीले बनाएको बजेटमा कुनै कैफियत हुँदैन भनेर ढुक्क हुन्थे। तर, यसपालिको बजेटमा पहिलेभन्दा बढी प्रधानमन्त्री दाहालको हस्तक्षेप देखिएको छ।
प्रधानमन्त्री दाहालले सामान्य कुरामा चासो बढी लिने, करका दरहरूमाथि अझ बढी केन्द्रित भएको अर्थका अधिकारीले महसुस गरेका छन्। कतिपय करका दरलाई लिएर प्रधामन्त्री दाहाल र अर्थमन्त्री महतबीच तिक्ततासमेत उत्पन्न भएको अर्थका अधिकारीहरू बताउँछन्।
‘सामान्यतया बजेट तयारपछि प्रधानमन्त्रीलाई ब्रिफिङ हुन्छ। बजेट लेखनका क्रममा प्रधानमन्त्रीको चासो भइरहेको पनि हुन्छ। तर, यसपालि बजेट बनाउँदा प्रधानमन्त्री दाहालबाट जुन तहको हस्तक्षेप, चासो व्यक्त भएको छ, त्यो अनौठो लागेको हो,’ अर्थका एक उच्च अधिकारीले क्यापिटल नेपालसँग भने, ‘तत्कालीन अर्थमन्त्री जनार्दन शर्माका पालामा बजेटमाथि जसरी प्रहार भयो, त्यो देखेर पनि हुनसक्छ वा अन्य स्वार्थबाट हस्तक्षेप गरिएको पनि हुनसक्छ।’
‘अर्थमन्त्रीले कर बढाउन लागेका क्षेत्रमासमेत प्रधानमन्त्री दाहालले हस्तक्षेप गरेर रोक्नुभएको छ,’ ती अधिकारीले भने, ‘प्रधानमन्त्रीको सबै क्रियाकलाप हेर्दा बजेट अर्थमन्त्रीको भन्दा पनि प्रधानमन्त्रीको जिम्मेवारी बढी भएको महसुस गरिएको छ।’
गत वर्ष स्वार्थ समूह प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप सरकारले बेहोर्नुपरेको थियो। यसपालि त्यस्तो नहोस् भनेर प्रधानमन्त्री दाहालले बढी हस्तक्षेप गरेको हुनसक्ने अनुमान गरिएको छ।
प्रधानमन्त्री दाहालको हस्तक्षेप बढी नै भएपछि अर्थमन्त्री महतले प्रधानमन्त्रीसँग असहमति जनाएका थिए। सामान्य विषयमाथि पनि आवश्यकताभन्दा बढी खोजीनीति राम्रो हुँदैन भनेर अर्थमन्त्री महतले आफ्ना निकटसामु भनेका थिए।
अर्थ मन्त्रालय स्रोतमाथि ठूलो दबाब भएपछि खर्च कटौतीमा निर्मम बन्न लागेको थियो। छुट तथा सहुलियत तत्काल स्थगनमाथि अर्थ मन्त्रालय सशक्त बनेपछि केही समूह प्रधानमन्त्री दाहाल भेट्न पुगेका थिए। उनीहरूको निरन्तरको भेटपछि प्रधानमन्त्री दाहालले बजेटलाई लिएर निरन्तर चासो लिएका हुन्।