जारी आर्थिक संकटका कारण पर्यटनसँगै सबै क्षेत्र तहसनहस भएको छ। यो संकट पार गर्न अब आउने बजेटलाई अचुकका रूपमा लिइएको छ। बजेट कस्तो खालको आउँछ र कुन–कुन क्षेत्रमा प्रभाव पार्छ भन्ने चासो आमनागरिकको जस्तै उद्योगी/ व्यवसायीको पनि रहँदै आएको छ।
किनकि, बजेटमा आउने नीति नियमकै कारण मुलुकको अर्थतन्त्र कुन मोडमा चल्छ भन्ने निर्धारण गरेको हुन्छ। त्यसैले अब आउने बजेट र त्यसपछि नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले अर्थतन्त्रलाई ठूलो प्रभाव पार्ने गरेको छ।
अहिले आन्तरिक एवं वाह्य पर्यटक संख्या केही मात्रामा बढेको छ। तत्कालीन अवस्थामा पर्यटक संख्या बढेर हामी खुसी हुनुपर्ने अवस्था छैन। दीर्घकालीनरूपमा पर्यटन क्षेत्रमा कस्ता–कस्ता नीति आउने र विश्वबजारमा नेपालको पर्यटन क्षेत्रको प्रचार कुनरूपमा हुन्छ भन्ने हेर्नुपर्छ।
यसअघिको बजेटमा आन्तरिक पर्यटन वृद्धिका लागि कर्मचारीलाई ७ दिन पर्यटन बिदा दिने र त्यो अवधिमा घुम्न निस्किनुपर्ने विषय समावेश भएको थियो। तर, बजेट भाषणमा आए पनि त्यसलाई कार्यान्वयनमा ल्याउन सकेको छैन। सुन्दा लोकप्रिय खालका बजेट आए पनि कार्यान्वयन तह फितलो हुँदा अब जो दैनिक परिश्रम गर्छ, त्यस्ता व्यक्ति आजित हुन थालिसकेका छन्।
त्यसैले बजेट ल्याउँदा प्रचारमुखी नभई व्यावहारिक खालको ल्याउन आवश्यक छ।
अहिले मुलुकमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भए पनि पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन र भारतमा मात्र उडान गर्न सके पर्यटकको आइरो नै लाग्ने आँकलन छ।
अहिले हवाई यातायात पनि सुरक्षित नभएको र सडक मार्गको यात्रा घन्टौंसम्म लाग्ने भएकाले पर्यटक कम हुँदै गएको देखिन्छ। बजेटमा पूर्वाधार निर्माण पनि हचुवा भरमा नभई त्यहाँको आवश्यकताका आधारमा हुनुपर्ने देखिन्छ।
अहिले बैंकको ब्याज बढ्दा व्यवसाय सञ्चालन गर्नै मुस्किल हुने अवस्था छ। यसका लागि नियामक निकायबाट नियन्त्रण गरेर व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गरिनुपर्छ।
नेपालमा विदेशी डलर भित्र्याउने रेमिट्यान्सभन्दा दीर्घकालीन स्रोत भनेको पर्यटन नै हो। त्यसैले पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्न यसअघिको बजेटमा ल्याएको ‘पर्यटन दशक’ सहित ‘भिजिट नेपाल २०२०’ जस्ता कार्यक्रमलाई पुनः सञ्चालनमा ल्याउने बेला आएको छ।
(पौडेल बाराही ग्रुपका निर्देशक हुन्।)