काठमाडौं। बर्खा सुरु भएसँगै नदीमा पानीको बहाब बढेर उत्पादनमा केही सुधार आएपछि नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि भारतमा बिजुली निर्यात सुरु गरेको छ।
उत्पादन घटेपछि गत पुस ३ देखि विद्युत प्राधिकरणले भारतबाट बिजुली आयात गरिरहेको थियो। बिजुली उत्पादन बढेपछि निर्यात सुरु गरेको विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए। उनले आज शनिबार माग धेरै कम भएकाले बिजुली निर्यात गरिएको जानकारी दिए।
प्राधिकरणले रातिको समयमा १ सय मेगावाट बिजुली ढल्केबर–मुज्जरफपुर ४ सय केभी प्रसारण लाइनबाट निर्यात सुरु गरेको उनले जानकारी दिए।
राति ६ घन्टा १ सय मेगावाटका दरले निर्यात सुरु भएको उनले जानकारी दिए। विद्युत प्राधिकरणका अनुसार शनिबार बिजुलीको माग १ हजार ३ सय २४ मेगावाटमा झरेको छ। बिजुलीको माग बढेर १ हजार ८ सय मेगावाट पुगिसकेको छ।
बिजुलीको माग पूरा गर्न सुक्खायाममा भारतबाट ५ सय मेगावाट बिजुली आयात गरेको थियो। प्राधिकरणले गत वर्ष जेठ दोस्रो सातादेखि पुस पहिलो सातासम्म भारतमा ४ सय मेगावाटसम्म बिजुली निर्यात गरेर ११ अर्ब रुपैयाँ आम्दानी गरेको थियो।
भारतले विभिन्न १० आयोजनाको ४ सय ५२ मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको छ। यो बर्खामा नेपालले १ हजार २ सय मेगावाटसम्म बिजुली निर्यातका लागि भारतमा प्रस्ताव पेस गरेको छ।
गत चैतमा भएको विद्युत आदान-प्रदान समितिको बैठकले आयात निर्यात हुने बिजुलीको मूल्य प्रतियुनिट ७.२१ भारू (११.५३ रुपैयाँ) तय गरेको छ। आर्थिक वर्ष सन् २०२२/२३ का लागि १३२ केभी प्रसारण लाइनमार्फत हुने विद्युत आदान-प्रदान दर तय गरेको थियो।
भारतले स्वीकृति दिएका १० आयोजनाको ४ सय ५२ मेगावाट बिजुली निर्यातका लागि स्वीकृति पर्खिरहेको प्रवक्ता भट्टराईले बताए।
यही जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला स्वीकृति दिएका आयोजनाको नवीकरण र थप बिजुली निर्यातका लागि सम्झौता हुने सम्भावना छ। नेपालले थप बिजुली निर्यातका लागि अनुरोध गर्दै आएको छ।