काठमाडौं। युनाइटेड अरब इमिरेट्स (युएई) मा रहेका पूर्णबहादुर श्रेष्ठले ई-सेवा मनी ट्रान्सफरले सञ्चालनमा ल्याएको ‘मेरो डिजिटल देश अभियान’ को विजेता बन्दै काठमाडौंमा घर जितेका छन्।
ई-सेवा मनी ट्रान्सफरबाट रेमिट्यान्स पठाउनेमध्ये एकजनाले काठमाडौंमा घर उपहार पाउने योजनाअन्तर्गत श्रेष्ठले घर जितेका हुन्। उनले काठमाडौंको इमाडोलमा तीन आनामा बनेको साढे दुई तलाको घर जितेका हुन्।
ई-सेवाले शुक्रबार कार्यक्रम गरी विजेता घोषणा गरेको हो। विजेता घोषणा कार्यक्रममा चलचित्र नायक तथा ई-सेवाका ब्रान्ड एम्बासडर राजेश हमालले ई-सेवाले आफ्नो उद्देश्यमा रहेर निकै उत्कृष्ट काम गर्दै आएको बताए।
‘विदेश गएर केही कमाउन र घरको जीवन सहज होस् भनेर विदेश जानुभएको हो। त्यसैले उहाँरूको रेमिट्यान्स वैधानिक हिसाबमा हुनुपर्छ र सुरक्षित हुनुपर्छ,’ नायक हमालले भने, ‘डिजिटल माध्यमबाट पैसा पठाउनु कम झन्झटिलो र विश्वासिलो हुन्छ।’
हमालले छोटो समयमा उत्कृष्ट काम गर्दै आएको भन्दै ई-सेवाको प्रशंसा गरे।
विजेता घोषणा कार्यक्रममा ई-सेवाका प्रमख कार्यकारी अधिकृत (सिइओ) अजेश कोइरालाले आफूहरूले छोटो समयमा निकै राम्रो प्रतिक्रिया पाएको बताए।
ई-सेवाको ब्रान्ड फेससमेत रहेकी नायिका स्वस्तिमा खड्काले विजेता घोषणा कार्यक्रममा ई-सेवाको यो अभियानले विदेश रहेका नेपालीलाई औपचारिक रूपमा पैसा पठाउन प्रेरित गरेको बताइन्।
त्यसैगरी सोेही कार्यक्रममा अभिनेता तथा ई-सेवाका ब्रान्ड हिरो दयाहाङ राईले विदेशमा यो अभियानको प्रचारका लागि जाँदा औपचारिक माध्यमबाट पैसा पठाउने जिम्मेवारी आफूहरूको भएको भन्ने प्रतिक्रिया पाएको बताए।
यस अभियानअन्तर्गत संसारका जुनसुकै देशमा रहेका नेपालीले नेपालमा इच्छाइएको व्यक्तिको बैंक खाता अथवा ई-सेवा वालेटमा पैसा पठाइ सहभागी हुन पाउने व्यवस्था थियो।
साथै, विदेशबाट ई-सेवा मनी ट्रान्सफरमार्फत आएको नगद रेमिट्यान्स आफ्नो ई-सेवा वालेटमा प्राप्त गरेर यस योजनामा जो कोहीले पनि सहभागिता जनाउन सक्ने थिए।
यस अभियानमा मासिक एकजनाले ६ महिनासम्म आकर्षक पुरस्कारको प्याकेज तथा बम्परमा एकजनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्ने योजना थियो जुन युएईमा रहेका श्रेष्ठले जितेका हुन्।
स्थापना कालको छोटो समयमै, वैधानिक, सुरक्षित र डिजिटल माध्यमबाट संसारका २ सयभन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ई-सेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सका माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै, थप रेमिट्यान्स भित्र्याएर देशलाई समुन्नत बनाउन भन्दै ‘मेरो डिजिटल देश’ अभियान ल्याएको थियो।
ई-सेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई-सेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा रेमिट्यान्स भित्र्याउँदै आएको छ।
ई-सेवा मनी ट्रानसफरले आफ्ना सेवाग्राहीलाई १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा ई-सेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि रेमिट्यान्स भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ई-सेवा मनी ट्रान्सफर देशभरिका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवाका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।