काठमाडौं। मेलम्चीको पानी जेठ तेस्रो साता फेरि काठमाडौं आउने भएको छ। जेठ ५ बाट अस्थायी मर्मतका लागि बन्द रहेको मेलम्ची पुनः सञ्चालन हुन लागेको हो।
मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) पदम कुँवरका अनुसार जेठ १८/१९ गतेसम्म काठमाडौंमा पानी आउने छ। बर्खामा लामो समयसम्म बन्द गर्न नपरोस् र दशैंपछि पनि छिट्टै गेट खोलेर काठमाडौंमा पानी वितराण गर्ने उद्देश्यले दुई साताका लागि आयोजनाले पानी बन्द गरेर आयोजना स्थलमा मर्मत गर्दैछ।
अस्थायी मर्मतका लागि छुट्टै बजेटको व्यवस्था भने आयोजनाले गरेको छैन। चालू आर्थिक वर्षमा आयोजनालाई प्राप्त बजेटबाटै खर्च व्यवस्थापन भएको आयोजनाले जनाएको छ। अस्थायी मर्मतको खर्च दुई करोड बढी हुने सिडिई कुँवर बताउँछन्।
‘मर्मतका लागि छुट्टै बजेट छैन, नियमित बजेटबाट खर्च हुन्छ,' क्यापिटल नेपालसँग उनले भने, 'दुई करोड बढी लाग्छ होला अहिले थाहा हुँदैन, काम सकिएपछि हिसाब हुन्छ।’ हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्समा केही उपकरण जडान तथा मर्मतसम्भारका लागि आयोजनाले पानी बन्द गरेको थियो।
आयोजनाको १ र ९ नम्बर गेट मर्मत हुँदैछ भने अन्य स्थानमा आवश्यकताअनुसार पाइप जाडान भइरको छ। जेठ तेस्रो साता काठमाडौंमा पानी आएपछि लगभग असारभरि पानी बन्द नहुने सिडिई कुँवर बताउँछन्।
मुहानमा क्षति नपुगोस् भनेर यो वर्ष अस्थायी मर्मत गरिएको हो। खानेपानी मन्त्रालयले २०८० को बर्खामा पानी बन्द नगराई नियमित सञ्चालन गर्ने योजना बनाएको थियो।
तर, सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको क्रममा ‘मेलम्ची खानेपानी विकास समिति’ विघटन गर्ने घोषणा गरेको थियो। सो समितिमा रहेका कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने तथा समितिले गर्दै आएको काम कुन निकायलाई हस्तान्तरण गर्ने भन्ने विषयमा पूर्वतयारी सरकारको थिएन। जसका कारण २०७९ साउनदेखि चैतसम्म मेलम्ची खानेपानी आयोजनाका महत्वपूर्ण निर्णय र काम हुन सकेको थिएन।
२०७९ चैत २७ गतेको मन्त्रिपरिषद् बैठकले समितिलाई पुनर्गठन गर्ने निर्णय गरेसँगै मेलम्चीको कामले केही तीव्रता पाएको हो। तर, बाह्रै महिना पानी सञ्चालन गर्ने मन्त्रालयको योजना भने पूरा हुन सकेको छैन।
२०८१ को बर्खामा भने पानी बन्द नगर्ने योजना विकास समिति र मन्त्रालयको छ। उक्त योजना पूरा गर्न एसियाली विकास बैंक (एडिबी) को अध्ययन रिपोर्ट मेलम्ची विकास समितिले प्राप्त गरेको छ।
‘अर्को वर्ष कसरी काम गर्ने भरेर एडिबीको रिपोर्टबाट थाहा हुन्छ, एडिबीले हेडवक्सलाई कसरी बाह्रै महिना चलाउने भन्ने अध्ययन गरेको थियो।’ सिडिई कुँवरले भने, ‘ड्राफट् रिपोर्ट आइसकेको छ, अहिलेको मर्मत पनि त्यहीअनुसार नै गर्दैछौं तर, फाइलन रिपोर्ट नआइ दीर्घकालीन मर्मत गर्न सकिदैन।’