काठमाडौं। सरकार आगामी आर्थिक वर्षको बजेट निर्माण कार्यलाई अन्तिम रूप दिने तयारीमा छ। बजेट लेखन समितिले बजेटका बुँदा लेखेर अर्थमन्त्री डा. प्रकाशशरण महत र राजस्वको टिमलाई बुझाइसकेको छ।
राजस्वका टिमले यतिखेर राजस्वका दरमाथि हेरफेर गरिरहेको छ। स्रोतका अनुसार अहिले कतिपय क्षेत्रमा कति कर बढाउने भनेर निर्क्याेल भइसकेको छ भने कतिपय क्षेत्रमाथि अझै छलफल जारी छ।
सरकारले उद्योगको प्रतिस्पर्धी क्षमता थप कमजोर बनाउने गरी कतिपय वस्तुमा कर बढाउने निधो गरिसकेको छ। खासगरी स्टिल उद्योगले आयात गर्ने बिलेटको कच्चापदार्थ स्पन्ज आइरनको भन्सार बढाउन लगभग पक्कापक्की भइसकेको छ।
स्रोतका अनुसार स्पन्ज आइरनको भन्सार १० प्रतिशत पुग्न सक्छ। त्यसैगरी बिलेटको भन्सार पनि समान बनाउने प्रयत्न चलिरहेको छ। यसो हुँदा देशभित्र अर्बौं रुपैयाँ लगानी गरेर खोलिएका स्टिल उद्योग गम्भीर समस्यामा पर्ने सम्भावना बढेको छ।
सरकारले एकातिर बिलेट र स्पन्ज आइरनको भन्सार बराबरी बनाउन खोजेको भने अर्कातिर स्पन्जको अन्तःशुल्कमा पनि फेरबदल गर्ने सम्भावना छ।
त्यसैगरी सरकारले बिजुलीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने टुंगो लागिसकेको छ। निश्चित युनिटसम्म छुट दिने त्यसमाथि भ्याट लगाउने सोच बनाएको हो। सुरुमा खाद्यान्नमा पनि भ्याट लगाउनुपर्ने आवाज उठिरहेको थियो। तर, बहुदर भ्याट लागू नगर्ने हो भने खाद्यान्नमा भ्याट लगाउनुहुन्न भन्ने आवाज बुलन्द भएपछि तत्काल खाद्यान्नका केही प्रकारमाथि भ्याट नलगाउने भएको हो। त्यस्तै पाम आयल आयात गर्दा लाग्ने भन्सार पनि दोब्बर बनाउने भएको हो।
यसअघि पाम आयल आयात गर्दा ५ प्रतिशत भन्सार लाग्नेमा त्यसलाई बढाएर १० प्रतिशत गर्न लागिएको हो।
त्यसैगरी मोटरसाइकलमा सरकारले दिँदै आएको ५० प्रतिशत अन्तःशुल्क छुट पनि हटाउने तयारी भएको हो। सरकारले नेपालमै एसेम्बल उद्योग स्थापनामा प्रोत्साहन गर्न २५ प्रतिशत अन्तःशुल्कबाट ५० प्रतिशत पुर्याएको थियो।