काठमाडौं। नेपालमा साना तथा मझौला उद्यमहरू (एसएमइज) को विकास नहुनुको प्रमुख कारण पूर्वाधार, पुँजी र दक्ष जनशक्ति अभाव रहेको पाइएको छ। स्वीस कन्ट्याक्टले शुक्रबार ललितपुरमा ‘एसएमइज तथा दिगो आर्थिक वृद्धि’ शीर्षकमा प्यानल डिस्कसन (छलफल) क्रममा यस्ता समस्या औंल्याइएका हुन्।
नेपालमा साना तथा मझौला उद्यमहरू (एसएमइज) को अवस्था र अर्थतन्त्रमा उनीहरूको योगदानबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा आर्थिक मन्दीका कारण धेरै एसएमइज अगाडि बढ्न नसकेको समेत उल्लेख गरिएको थियो।
छलफलमा ठूलो इन्क प्रालिका प्रमुख सञ्चालन अधिकृत (सिओओ) सुरक्षा अधिकारी, अध्यान्तका संस्थापक मनोज पौडेल, कोक्रोमाका संस्थापक रेवती गुरुङ, प्रविधि व्यवसायी प्रिन्सी कोइराला र स्वीस कन्ट्याक्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. फिलिप स्नेउले सहभागी थिए।
छलफललाई चे एन्ड कम्पनी प्रालिका अध्यक्ष छेवान राईले सहजीकरण गरेका थिए। साना तथा मझौला उद्यमहरूको बढ्दो संख्याका बाबजुद उनीहरूको क्षमता र व्यावसायिक अवस्थामा खासै सुधार आउन सकेको छैन। अपर्याप्त पूर्वाधार, पुँजी पहुँच तथा दक्ष स्रोतलगायत अवरोधका कारण एसएमइजको वृद्धिमा बाधा पुगिरहेको छ। विशेषगरी कोभिड–१९ महामारी वा आर्थिक मन्दीका कारण धेरै एसएमइज अगाडि बढ्न सक्दैनन् र बन्द हुनसक्छन्।
ठूलो इन्कका सिओओ अधिकारीले प्रविधिको शक्ति र एसएमई विकास सक्षम बनाउन दक्ष जनशक्तिको आवश्यकताबारे आफ्ना अनुभव सुनाइन्। ‘व्यावसायिक प्रक्रियाहरूको दक्षता बढाउन डिजिटाइजेसनका लागि एक वृहत दृष्टिकोण महत्वपूर्ण छ, जसले एसएमईको दीर्घकालीन विकासलाई बढावा दिन्छ,’ अधिकारीले भनिन्, ‘साना तथा मझौला उद्यम क्षेत्रको उत्थान गर्ने उद्देश्यका लागि अनौपचारिक अर्थतन्त्रले नेपालका कूल गार्हस्थ उत्पादन (जिडिपी) मा महत्वपूर्ण योगदान पु¥याउने भएकाले यसबारे विचार गर्न आवश्यक छ।’
यसैगरी प्रविधि व्यवसायी कोइरालाले शिक्षा र अनुभवबीचको खाडल पुर्न स्वदेशी व्यावसायिक ‘केस स्टडी’ लाई दस्तावेज बनाएर अनुसन्धान र विकासमा पनि लगानी गर्नुपर्नेमा जोड दिइन्।
साना तथा मझौला उद्यमहरू नेपालको अर्थतन्त्रको एक अत्यावश्यक अंग हुन्। दिगो तथा समावेशी आर्थिक वृद्धि प्रवद्र्धन गर्न साना तथा मझौला उद्यम क्षेत्रलाई धेरै अवसरहरू उपलब्ध छन्। ‘व्यवसाय सञ्चालन गर्दा अन्य सरोकारवालासँगको अनुकूलनता र सहयकार्य महत्वपूर्ण हुने गर्छ,’ समावेशी विकासमा एसएमईको भूमिका र बढ्दो साना तथा मझौला उद्यमका लागि ज्ञान आदान–प्रदानको उपयोगिताबारे प्रकाश पार्दै कोक्रोमाका संस्थापक गुरुङले भनिन्, ‘एउटी महिलाले आफ्नो कडा मिहिनेतबाट कमाइ गरेको आम्दानीले कुनै पनि जीवनशैली अनुशरण गर्नु प्रकृतिको मतलब नगरी सशक्तिकरणको एक शक्तिशाली कार्य हुने गर्छ।’
अध्यान्तका संस्थापक मनोज पौडेलले साना तथा मझौला उद्यम वृद्धिका लागि पुँजी पहुँच एक प्रमुख सक्षमकर्ता भएको धारणा राखे। ‘एन्जल लगानीकर्ता, भेन्चर क्यापिटलिस्टहरू र प्रभावकारी लगानीकर्ताहरूका लागि एसएमईको विकास समर्थन गर्न सक्षम पारिस्थितिकी प्रणालीलाई बढावा दिनुको महत्वलाई अतिरञ्जित गर्न सकिँदैन,’ पौडेलले भने, ‘जबकि, स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको बढ्दो चासो आशालाग्दो छ। लगानी प्रक्रिया व्यवस्थित गर्न र इच्छुक उद्यमीहरूलाई मार्गनिर्देश प्रदान गर्न थप प्रयास भने आवश्यक छ।’
प्यानलका सदस्यरूले एकजुट भएर आफ्ना सफलताका कथा सुनाउँदै गर्दा एक समृद्ध उद्यमशील पर्यावरण सिर्जना गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विकास साझेदारहरूको सहयोगलाई स्वीकार गरे।
त्यसैगरी स्वीस कन्ट्याक्टका सिइओ डा.स्नेउलेले विकास क्षेत्रहरू कसरी काम गर्छन् र विशेषगरी स्वीस कन्ट्याक्टले कसरी योगदान गर्छ भन्नेबारे आफ्नो धारणा व्यक्त गरे। ‘हामी निजी क्षेत्रसँग मिलेर विकासका चुनौतीहरूलाई दिगोरूपमा समाधान गर्न काम गर्छौं,’ उनले भने, ‘हामी स्टार्टअप कम्पनीहरूलाई प्रवद्र्धन गर्छौं र पर्यावरणका चालकहरूको क्षमतालाई समर्थन र सुदृढ गर्न उनीहरूलाई राम्रा सेवा प्रदान गरी सक्षम पार्न प्रक्रिया सहज बनाउँछौं।’
छलफलपछि प्यानलका सहजकर्ता छेवान राईले प्यानलका सदस्यहरूसँग थप कुराकानी गर्न श्रोता तथा दर्शकका लागि समय दिएका थिए। राईले साना तथा मझौला उद्यमहरूको विकासमा प्रेरणा र शक्ति प्रदान गर्ने भएका कारण यसखालका छलफल तथा कार्यक्रम आयोजना गरिरहनुपर्ने आवश्यकतामा जोड दिए।
प्यानल सदस्यहरूले साना तथा मझौला उद्यमका क्षेत्रबारे प्रस्तुत गरेका चुनौती, अन्य विविध विषयका साथै त्यस्ता चुनौती तथा कठिनाइका लागि नीतिगत सुधार तथा नेपालमा व्यवसाय सुरु गर्न इच्छुक कुनै पनि व्यक्तिलाई अनुकूल व्यावसायिक वातावरण बनाउन आवश्यक रहेको छलफलको निष्कर्ष रहेको थियो।