गलेश्वर। दाङ खोलाको सिरान र थाप्ले पहाडको काखमा जंगलको बीचमा रहेको म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानको गाईखर्क ताल पर्यटकको पर्खाइमा रहेको छ।
हाडिस खोलाको छेवैमा रहेको यस तालमा वरिपरिका रुखबाट कहिल्यै पनि पात खसेर पर्दैनन् भने बिहान र साँझमा पानीको रङसमेत फेरिने गरेको छ। देख्दै आश्चर्य लाग्ने रातो (रगत जस्तो) रङको पानी भएको अनौठो गाईखर्क तालमा पर्यटकीय पूर्वाधार विस्तार भए पनि प्रचारप्रसारको अभावमा पर्यटक आउन नसकेका स्थानीयले बताएका छन्।
गाईखर्क तालमा कतै पानीको मुहान देखिँदैन। जंगलको बीचमा अवस्थित जति खडेरी परे पनि पानी नसुक्ने अनौठो विशेषता भएको प्राकृतिक ताल हो। यो ताललाई म्याग्दीको रहस्यमय र अनौठो ताल भनेर चिनिन्छ।
मालिका गाउँपालिका वडा नं ५ देविस्थानका वडाध्यक्ष मिम पुनले हावाहुरीले तालमा झारेका पात चराचुरुंगीले टिपेर लैजाने र कहिल्यै पानी फोहर नहुने यसको विशेषता भएको बताए।
उनका अनुसार यस तालको सबैभन्दा ठूलो विशेषता वर्षामा निलो र हिउँदमा यसको पानी पूर्णरूपमा रगत जस्तै रातो रङको हुन्छ। एल्गी र ब्याक्टोरीयका कारण हिउँदमा तालको पानी रातो हुने अनुसन्धानबाट खुलेको उनले जानकारी दिए।
युनिभर्सिटी अफ स्टटगार्टका एक अन्वेषकका अनुसार उच्च लवणताले एल्गीलाई सुरक्षात्मक क्यारोटिनोइड्सका कारणले पानीलाई रातो बनाउने गर्दछ। सोही कारण यो तालको पानी रातो भएको हुनसक्ने वडाअध्यक्ष पुनले बताए।
यो ताल समुन्द्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा अवस्थित छ। दाङखोलाको सिरान थाप्ले पहाडको कोखमा ताल रहेको छ। ४६/४६ मिटर लम्बाइ, चौडाइ तथा तीन मिटर गहिराइ भएको तालको २०७४/७५ मा लम्बाइ चौडाइ बढाएर ५५/५५ मिटरको बनाइएको वडाअध्यक्ष पुनले जानकारी दिए।
मालिका गाउँपालिकाको पाँच लाख रुपैयााँ आर्थिक सहयोग र स्थानीयको सक्रियतामा तालको छेउमा मन्दिर र गेट निर्माण गरिएको छ। हाडिस खोलादेखि तालसम्म सडक बनाएको छ। चालू आर्थिक वर्षमा ताललाई व्यवस्थित गरी पूर्वाधार निर्माणका लागि सात लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष पुनले जानकारी गराए।
देविस्थानको घरीथोकदेखि ३० मिनेट उकालो पैदल हिँडेपछि पुगिने गाईखर्क ताल प्रचारप्रसार र संरक्षण नहुँदा अझै पर्यटकको नजरमा परेको छैन। बाँध बनाएपछि क्षेत्रफलसँगै गहिराइ पनि बढेको छ। गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि, गुर्जालगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ। यो ताल प्राकृतिक दृश्यले सुशोभित र मनोहर छ।
यो तालको अर्को विशेषता भनेको वरिपरि बाक्लै रुख हुँदाहुँदै पनि रुखका पात झरेर यो तालमा पर्दैनन्। ‘रुखबाट पात त झर्छन् तर हावाले तालमा पातलाई पर्नै दिँदैन,’ वडा सदस्यसमेत रहेका घनबहादुर फगामीले भने, ‘स्थानीयले दैवि शक्तिका कारण यस्तो भएको भनेर विश्वास गर्छन् र तालको छेउमा वराहा देवताको मन्दिर निर्माण गरी पूजाआजा गर्दै आइरहेका छन्।’
मिलेको बनोट र प्रकृतिक एवं जैविक विविधता नै यसको अर्को आकर्षण हो। सेभेन ए साइड फुडसल तथा वनभोजका लागि पनि उपयुक्त गन्तव्य खर्कमा मनमोहक दृश्यले भरिएको यो ताल अहिले पर्यटकलाई लोभ्याउन पर्खिएर बसेको वडाअध्यक्ष पुनले बताए।
गाईखर्कतालमा धौलागिरि र गुर्जा हिमालको छायाँ (प्रतिविम्ब) स्पस्टरूपमा देख्न सकिन्छ। स्थानीयवासी एवं शिक्षक डोल्पा शिउथानी मगरका अनुसार तालमा हिमाल पौडी खेलिरहेको जस्तो दृश्य यहाँ देख्न सकिन् ।
यहाँबाट प्राचीन पहाड, सेताम्य हिमाल, पहाडी बस्ती स्पस्टरूपमा देख्न सकिन्छ। तालतलैया, पोखरी, दह, मठमन्दिर, पाटीपौवा, चौतारा, सानासाना छरिएर रहेका वस्तीहरूले जोकोहीको मन लोभ्याउँछ। यहाँ गाईखर्क ताल, खोरिया दह, ठूल दह, जंगले झरना, महखोला झरना, कोटखोला झरना, घराङखोल झरना, पाते छहरा, धुन्द्रुक गल्छी प्रभु गुफा र रहस्यमय देउताभिर गुफाले आन्तरिक तथा वाह्य पर्यटकको ध्यान खिच्न सक्ने प्रशस्तै सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा यस्ता अमूल्य र आश्चर्य लाग्दा सम्पदा ओझेलमा परेका वडाअध्यक्ष पुनले बताए।
यो तालको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नसके यहाँ पर्यटकको आगमन बलिया सम्भावना रहेका स्थानीयको भनाइ रहेको छ यहाँ लुकेर रहेको सम्भावनालाई उजागर गरी पर्यटन विकास गर्नसक्ने हो भने ग्रामीण वस्तीको मुहार फेर्न सकिने वडा सचिव धर्मकान्त पौडेलले बताए। रासस