मुलुकको अर्थतन्त्र धराशयी बनिरहेका बेला आगामी बजेटलाई निकै महत्वसाथ हेरिएको छ। पछिल्लो समय वाह्य क्षेत्र सन्तुलनमा देखिए पनि मुलुकको आर्थिक स्थिति भने खस्किँदै गएको छ। त्यसैले आगामी बजेटले आन्तरिक उद्योग बचाउन विशेष भूमिका खेल्नुपर्छ। मुलुकभित्रै उत्पादन बढाएर निर्यात गर्न सहज हुने खालका नीति आवश्यक छ।
निश्चित वस्तु नेपालबाट निर्यात भइरहेको र अधिकतम वस्तु बाहिरबाट आयात भइरहेको स्थिति सुधार गरी धेरैभन्दा धेरै उत्पादन निर्यातयोग्य बनाउने र कमभन्दा कम वस्तु आयात गर्ने स्थिति सिर्जना गर्न बजेट केन्द्रित गर्नुपर्छ। मुलुकमा विदेशी मुद्रा भित्र्याउने माध्यमका रूपमा वैदेशिक रोजगारी र पर्यटन क्षेत्र सीमित छ। औद्यागिक क्षेत्रले पनि विदेशी मुद्रा भित्र्याउन सक्छ भन्ने मान्यता राखेर आन्तरिक उद्योगलाई प्रोत्साहन गर्न जरुरी छ।
आयात सीमित गर्ने चरणमा पहिले कृषिजन्य वस्तु आयात रोक्नुपर्छ। हुन त नेपाल र भारतबीचको सम्झौताअनुसार कृषिजन्य उत्पादनमा रोक नलगाउने नीति छ। तर, कृषिजन्य उत्पादन आयात गर्दा भन्सार दर बढाउन सकिन्छ। अहिले धान आयातमा ५ र चामलमा १० प्रतिशत भन्सार शुल्क लागिरहेको स्थितिमा चामलमा अझै भन्सार दर बढाएर आन्तरिक उत्पादनलाई जोड दिनुपर्छ।
यसले आन्तरिक उत्पादन भएका कृषिजन्य वस्तु उपभोग बढाउन सहयोग गर्छ। चामल आयात बढेका कारण मुलुकभित्र धान उत्पादनमा कमी आइरहेको छ। नेपालमा उत्पादित चामलभन्दा विदेशबाट ल्याएको चामल सस्तो भएपछि किसानले प्रतिस्पर्धा गर्न नसकेर खेतीबाली नै नगर्ने स्थिति बन्छ। त्यसैले नेपालमै उत्पादन सम्भव भएका कृषिजन्य वस्तुमा भन्सार दर बढाएर आन्तरिक उत्पादन प्रोत्साहित गर्न ढिला गर्नुहुँदैन।
अहिले बढी आयात हुने वस्तुमध्ये मोबाइल र सवारीसाधन पर्छन्। नेपालमै गाडी एसेम्बल गर्न आवश्यक सहयोग गर्ने र भन्सार दरमा हेरफेर गरिएको खण्डमा आयात कटौती हुन्छ। सवारीसाधनमा पनि केही वर्ष सरकारले विद्युतीय सवारीलाई बढी जोड दिनुपर्छ। पछिल्लो समय काठमाडौंमा प्रदुषण पनि बढ्दै गएकाले विद्युतीय सवारी अनुकूल नीति अँगाल्नु हितकर हुन्छ।
उद्योग/व्यवसायमैत्री नीति कार्यान्वयनमा ध्यान दिनुपर्छ। गफ गरेरमात्र हुँदैन। उद्योगी/व्यवसायीलाई लगानी विस्तारमा प्रोत्साहन गरी आन्तरिक उत्पादन बढाउने वातावरण बनेको खण्डमा नेपालको व्यापार घाटा न्यूनीकरण हुनसक्छ।
वैदेशिक रोजगारपछि पर्यटन क्षेत्रले धेरै विदेशी मुद्रा ल्याउने भएकाले यस क्षेत्रको विकासका लागि विशेष योजना अघि सार्नुपर्छ। पर्यटन क्षेत्रमा आन्तरिक एवं वाह्य लगानी आकर्षित गराउनुपर्छ। यसले सरकारको राजस्वमात्रै बढ्दैन, रोजगारीसमेत वृद्धि हुन्छ। ‘भिजिट नेपाल’ जस्ता कार्यक्रम गरेर पर्यटक आकर्षित गराउन सकिन्छ।
नेपालको आन्तरिक आर्थिक अवस्था र समस्या देखेर विदेशी लगानीकर्ता आकर्षित भइरहेका छैनन्। जुन मुलुकमा आर्थिक समस्या आइरहन्छ र समाधानका लागि कुनै पहल हुँदैन भने त्यस्तो मुलुकमा लगानी कसरी आउला?
(संघई त्रिवेणी ग्रुपका निर्देशक हुन्।)