काठमाडौं। विद्युतीय सवारी साधन इकोसिस्टमका लागि दक्षिण कोरियाली गाडी निर्माता कम्पनी हुन्डाईले दुई खर्ब भारु लगानी गर्ने भएको छ। हुन्डाईले भारतको तमिलनाडु राज्यमा दीर्घकालीन लगानी योजना घोषणा गरेको हो।
कम्पनीले १० वर्षको अवधिमा विद्युतीय सवारीसाधनको इकोसिस्टमका लागि चरणबद्ध रूपमा २ खर्ब भारु लगानी गर्ने भएको कम्पनीले जनाएको छ।
मुख्यमन्त्री एमके स्टालिनको उपस्थितिमा उन्सु किम, एमडी एन्ड सिइओ, हुन्डाई मोटर इन्डिया, भी विष्णु, आइएएस, एमडी र सिइओ र गाइडेन्स तमिलनाडुबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
उक्त कार्यक्रममा थंगम थेनारसु, अर्थमन्त्री टिआरबी राजा, उद्योग, लगानी प्रवर्द्धन र वाणिज्यमन्त्री कृष्णन एस, आइएएसका अतिरिक्त मुख्य सचिव, उद्योग, लगानी प्रवर्द्धन, वाणिज्य तमिलनाडु सरकार र अन्य वरिष्ठ अधिकारीलगायतको उपस्थिति थियो।
‘हाम्रो दीर्घकालीन दृष्टिकोणको एक भागको रूपमा हामीले तमिलनाडुलाई भारतमा हुन्डाईको विद्युतीय सवारी उत्पादनको आधारका रूपमा विकास र स्थापना गर्ने योजनालाई अन्तिम रूप दिएका छौं। यसले हामीलाई र हाम्रो पोर्टफोलियोलाई सुदृढ गर्न, हाम्रा गाडीमा उत्कृष्ट सुविधा र प्रविधि प्रदान गर्न मद्दत गर्ने विश्वास छ,’ उन्सु किमले भने।
हुन्डाईले १ लाख ७८ हजार ब्याट्री जम्मा गर्न वार्षिक क्षमताको ब्याट्री प्याक एसेम्बली इकाई स्थापना गर्ने र ५ वर्षको अवधिमा प्रमुख राजमार्गका प्रमुख स्थानमा एक सय चार्जिङ स्टेसनहरू स्थापना गर्ने जनाएको छ।
यसमा ५ डुअल अल्ट्रा–फास्ट चार्जिङ स्टेसनहरू, १० सिंगल फास्ट चार्जिङ स्टेसनहरू र ८५ एकल फास्ट चार्जिङ स्टेसनहरू स्थापना गर्ने हुण्डाईले जनाएको छ।
हुन्डाई मोटर इन्डियाले कूल उत्पादन मात्रालाई वार्षिक ८ लाख ५० हजार युनिटमा पुर्याउने लक्ष लिएको छ। त्यस्तै, श्रीपेरुम्बुदुरमा रहेको कारखानाबाट नयाँ विद्युतीय र आइसीई सवारी साधन उत्पादन गर्ने हुण्डाईको भनाइ छ।