काठमाडौं। आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ भने दुई दिनपछि सोमबार बजेट प्रस्तुत हुँदैछ।
अब प्रस्तुत हुने बजेटमा विभिन्न क्षेत्रका बजेट कटौती भएर आउने चर्चा जारी छ। मुलुकको आर्थिक विकास र समृद्धि तथा झन्झटिले प्रशासनिक सुधारका लागि सूचना प्रविधि क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने विषय केही वर्षदेखि उठ्दै आएको छ। हाल सरकार ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ कार्यान्वयनको चरणमा छ।
तर, यही अवधिमा सरकारले सूचना प्रविधि क्षेत्रको बजेट कटौती गरेर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ।
‘आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रको बजेट कटौती भएर आउने कुरा अनौपचारिकरूपमा आएको छ,’ कम्प्युटर एसोसिएस नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष रणजितकुमार पौदारले क्यापिटल नेपालसँग भने, ‘डिजिटल नेपालको अवधारणामा काम भइरहेको समयमा बजेट कटौती भएर आउनु सुखद होइन।’
पौदारले डिजिटल नेपाल फ्रेमवर्कमा जाँदै गर्दा प्रविधि विकास, विस्तार र उपयोगका लागि प्राथमिकताका साथ बजेट विनियोजन आवश्यक भएको बताए।
‘नेपालमा प्रविधि विकास र विस्तार कसरी गर्ने? प्रविधि उपयोग र प्रभावकारिता कसरी बढाउने? नेपाली सफ्टवेयरलाई कसरी प्रवद्र्धन गर्ने? लगायत विषयलाई सरकारले प्राथमिकतामा राख्न आवश्यक छ,’ पौदारले भने, ‘यदि यस क्षेत्रको बजेट कटौती गर्दै जाने हो भने डिजिटल नेपाल फ्रेमकर्वको लक्ष्यमा हामी पुग्न सक्दैनौं।’
सरकारले डिजिटल प्रविधि उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरी अर्थतन्त्रका वृहत्तर आयाम रूपान्तरण गरी आधुनिकीकरण गर्ने मुख्य लक्ष्यसाथ डिजिटल नेपाल फ्रेमवर्क योजना अगाडि बढाएको थियो।
ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निर्माण गर्ने, डिजिटल प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्य हासिल गर्ने, आमनागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहज उपलब्ध गराउने उद्देश्यसाथ यस योजना सरकारले अघि बढाएको हो।
यो फ्रेमवर्क सुरु भएदेखि हरेक वर्षको बजेटले यसलाई अघि बढाउने बताए पनि प्रगति भने खासै भएको देखिँदैन। चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा डिजिटल नेपाल फ्रेमवर्क, २०७६ कार्यान्वयन गरी पहिलो चरणमा संघीय मन्त्रालयहरूलाई डिजिटल कार्यालयमा रूपान्तरण गरिने उल्लेख छ।
हालै प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा पनि डिजिटल नेपाल फ्रेमवर्कलाई समसामयिक परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गरिने जनाइएको छ।
क्यान महासंघका निवर्तमान अध्यक्ष नवराज कुँवर आगामी बजेट डिजिटल नेपाल फ्रेमवर्कमा उठाइएका विषय कार्यान्वनमा ल्याउने किसिमले आउनुपर्ने बताउँछन्।
‘सरकारले दिने सेवा आधुनिक र अनलाइनतर्फ उन्मुख बनाउने, नेपाली सफ्टवेयर प्रवद्र्धन गर्ने र विदेशी हार्डवेयर कम्पनी यहीँ आएर काम गर्नसक्ने वातावरण तय गर्ने गरी अबको बजेट आउनुपर्छ,’ कुँवरले भने, ‘विदेशी हार्डवेयर कम्पनीले नेपालमै आएर उद्योग सञ्चालन गरेको खण्डमा नेपालमै रोजगारी सिर्जना हुन्छ भने आयात पनि गर्नुपर्दैन।’
उनले यही कारण नेपालमा विदेशी आएर सफ्टवेयर कम्पनी खोल्ने वातावरण बनाउन आवश्यक भएको बताए।
‘डिजिटल नेपाल फ्रेमवर्कमा उठाइएका कुरालाई प्राथमिकता दिँदै अबको बजेट आउनुपर्छ भन्ने हाम्रो धारणा हो। अहिलेको हाम्रो झन्झटिलो सार्वजनिक प्रशासन सुधार गरी सूचना प्रविधि विकासमार्फत् आर्थिक विकासमा पुग्न पनि यो क्षेत्रलाई प्राथमिकता दिन आवश्यक छ,’ उनले भने, ‘तर, अहिलेको जस्तै ढंगबाट हामी अगाडि बढेको खण्डमा डिजिटल फ्रेमवर्कको लक्ष्यमा पुग्न सकिँदैन।’
सरकारले सूचना प्रविधिको महत्व बुझेर सोहीअनुसार योजना बनाउन र यस क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको कुँवरको भनाइ छ।