गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकामा माहुरीपालक कृषकलाई उपहारस्वरूप माहुरीका गोलासहित घार उपलब्ध गराइएको छ। सालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत मौरी पकेट समूहले ५१ कृषकलाई एक सय दुई थान माहुरीका गोलासहित घार उपलब्ध गराएको हो।
गत तीन वर्षअघि कृषि ज्ञानकेन्द्रको सहयोगमा ‘सालिमे मौरी स्मार्ट कृषि गाउँ’ कार्यक्रम लागू भएसँगै त्यहाँका कृषकले व्यावसायिकरूपमा मौरीपालन गर्न सुरु गरेका थिए। वडा– ८ र ९ मा मौरी स्मार्ट कार्यक्रम लागू भएको थियो। त्यहाँका ५१ कृषक समूहमा आबद्ध भएर व्यावसायिकरूपमा आधुनिक तरिकाबाट मौरीपालनमा जुटेका हुन्।
समूहका एक कृषकको घारमा न्यूनतम छ घार मौरी अनिवार्य रूपमा हुनुपर्छ। ६ घार मौरी नभएको व्यक्ति समूहमा आबद्ध हुन पाउँदैन। वरिपरि घना जंगलका बीचमा अग्लो र रापिलो ठाउँ भएका कारण पनि मालारानी माहुरी चरन क्षेत्रका लागि पनि निकै उपयुक्त मानिन्छ। त्यस क्षेत्रका मौरीपालक कृषकहरूलाई व्यावसायिक बनाउँदै उनीहरूको जीवनस्तर माथि उठाउने उद्देश्यले मुसिकोटमा उक्त कार्यक्रम लागू गरिएको उक्त केन्द्रका प्रमुख नवराज भण्डारीले बताए।
सो कार्यक्रममार्फत मौरी पकेट समूहमा आबद्ध सदस्यका घरधुरीमा अहिलेसम्म ६ सय ५० खाली र तीन सय गोलासहित मौरीका घारहरू कृषकलाई निःशुल्क उपलब्ध गराई सकिएको छ। अन्य व्यवसायभन्दा मौरीपालन व्यवसायबाट चाँडै आम्दानी गर्न सकिने र बजारमा महको माग पनि प्रशस्त हुने भएका कारण पछिल्लो समयमा त्यस क्षेत्रका अन्य कृषक पनि मौरी पालनतर्फ आकर्षित हुँदै गएको मौरी पकेट समूहका अध्यक्ष चुमा घर्तिमगरले बताइन्।
उक्त कार्यक्रमअन्तर्गत मौरी पकेट समूहले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई मौरी वृद्धि वर्ष, तेस्रो वर्षलाई मह वर्ष र चौथो वर्ष मौरी निर्यात वर्ष मनाउने गरी काम गर्दै आइएको छ। उक्त समूह यो वर्षलाई मह वर्ष भनेर मह उत्पादनमा केन्द्रित छ। मालारानीको मह विषादीरहित, विभिन्न वनस्पतिजन्य फूलहरूको रसबाट उत्पादित र प्रांगारिक भएका कारण पनि बजारमा यहाँको महको माग धेरै हुने गर्छ।
उक्त गाउँमा अहिले ६ सयभन्दा बढी मौरीका गोलासहित घार छन्। यहाँको मह प्रतिकिलो एक हजार पाँच सयमा बिक्री हुँदै आएको छ।