काठमाडौं। अर्थ मन्त्रालयका सहसचिव भूपाल बरालको नेतृत्वको टिमले आगामी आर्थिक वर्षको बजेट लेखन टुंग्याएको छ। बरालको टिमले बिहीबार राति ११ बजेसम्म बजेट लेख्ने काम सकेको हो।
शुक्रबार बजेटको अन्तिम जाँच गर्ने काम हुन्छ। त्यसपछि बराल टिमले अर्थमन्त्री डा. प्रकाशशरण महत र राजस्व टिमलाई बजेटको डकुमेन्ट बुझाउँदै छ। राजस्वका दर तथा बजेटको अंक खाली राखेर अन्य सबै काम पूरा भइसकेको छ। बजेटको अंक बजेट महाशाखा प्रमुख उत्तरकुमार खत्रीले राख्नेछन्।
शुक्रबार बेलुकाबाट बजेटमा राजस्वका अंकमा हेरफेर चल्ने छ। अर्थ मन्त्रालयले गत चैत २४ मा आगामी आर्थिक वर्ष २०८/०८१ को बजेट लेख्ने टिम बनाएको थियो। मन्त्रालयले सहसचिव बरालको संयोजनमा सहसचिवहरू उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सहभागी टिम बनाएको थियो।
मन्त्रालयल स्रोतका अनुसार १७ खर्बदेखि १७ खर्ब ५ अर्ब रुपैयाँहाराहारी ल्याउने गरी बजेट तयार भएको छ। नयाँ योजना र करका दर थपघट हुने सम्भावना भएकाले बजेट अंक तलमाथि हुनसक्छ।
राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँको सीमा (सिलिङ) दिएको थियो। तर, अर्थमन्त्रीमाथि निरन्तर दबाब भएका कारण १७ खर्ब रुपैयाँभन्दा केही बढी अंकको बजेट आउने सम्भावना रहको अर्थस्रोतले बतायो।
बजेटले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिने भएको छ। योजना आयोगको राष्ट्रिय स्रोत समितिले दिएको सीमाभित्रै रहेर कर संकलन लक्ष्य राखिने सम्भावना रहको स्रोतको भनाइ छ।
स्रोत समितिले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको अनुमान अर्थलाई दिएको छ। चालू आर्थिक वर्ष अहिलेसम्म लक्ष्यको ५५.७ प्रतिशत अर्थात ७ खर्ब ८१ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष सरकारले १४ खर्ब ३ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ। राजस्वको दरमा धेरै हेरफेर नहुने स्रोतको भनाइ छ।
असहज परिस्थितिमा आउन लागेको बजेटमा धेरै नयाँ कार्यक्रम समेटिएका छैनन्। कतिपय कार्यक्रमलाई कटौती पनि गरिएको छ। कतिपय कार्यक्रम जस्ताको तस्तै राखिएका छन्।
स्रोतमाथि दबाब भइरहेका बेला आउन लागेको बजेट संयमित खालको हुने देखिन्छ। शुक्रबारबाट राजस्वमाथि छलफल हुन्छ। कुन विषयमा बढाउने, कुन विषयमा घटाउने र कुन विषय यथावत राख्ने भन्ने छलफल चलिरहेको छ।
राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेश शाक्यसहितको टिमले आजबाट काम सुरु गरेको हो। स्रोतमाथि दबाब भएकाले आगामी आर्थिक वर्षमा राष्ट्रसेवक कर्मचारीको तलब र ज्येष्ठ नागरिकलाई वृद्धभत्ता नबढ्ने भएको छ।