काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट, विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारको कसुरमा ७ सय ४ व्यक्ति तथा सस्था बिरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरु बिरुद्ध १५ अर्ब ८७ करोड ६४ लाख विगो दावी गर्दै विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
विभागले राजस्व चुहावटको कसुरमा ८ सरकारी कर्मचारी सहित ४ सय ३१ जना बिरुद्ध ११ अर्ब १३ करोड ६५ लाख विगो दावी गरेको छ । त्यस्तै, विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारको कसुरमा २ सय ७३ जना बिरुद्ध ४ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ विगो कायम गरेको छ । राजस्वमा चुहावट गर्ने सबै बिरुद्ध बिगोको तेब्बर जरिवाना तथा ३ बर्षसम्म कैद माग गरी अदालतमा मुद्दा दायर गरिएको विभागका प्रवक्ता राजिव पोखरेलले जानकारी दिए ।
उनका अनुसार आर्थिक बर्ष २०७५/०७६ मा राजस्व चुहावटका ९६ कसुरमा ३ सय ८ जना उपर ९ अर्ब ८३ करोड ६९ लाख बिगो कायम गरी यसको दोब्बर जरिवानासहित ३ बर्षसम्मको कैद माग गर्दै विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
त्यस्तै मुल्य अभिवृद्धि कर (भ्याट)मा झुटा तथा नक्कली विजकको प्रयोग गर्ने ५ ओटा फर्म र ५ जना व्यक्तिलाई ९ करोड ३९ लाख ३३ हजार रुपैयाँ विगोको दोब्बर जरिवाना र ३ बर्ष कैद सजाय माग गर्दै काठमाडााैं जिल्ला अदालतमा मुद्दा दायर गरिएको उनले जानकारी दिए ।
राजश्व अनुसन्धानमा पर्नेमा अधिकाँश निर्माण व्यवसायी रहेका छन् । उनीहरुले वस्तु खरिद नै नगरी झुटा र नक्कली विलविजक प्रयोग गरी राजस्व चुहावट गरेको उनले जानकारी दिए ।
विभागका अनुसार एसपी इन्टरप्राइजेज, हमाल कन्सट्रक्सन, वाटरमार्क इन्टरप्राइजेज, न्यू हिमालयन इन्टरप्राइजेज, न्यू यूनिभर्सल इन्टरप्राइजेज, आर्जन हार्डवेयर सप्लायर्स प्रालि, हस्पी केयर इन्टरनेशनल, नेपाल दोङगहवा कन्ट्रक्सन इन्जिनियरिङ कम्पनी प्रालि, च्वाङाग गणेश इन्टरप्राइजेज र एएस हार्डवेयरलाई विगोको दोब्बर जरिवाना र ३ बर्ष कैद माग गर्दै काठमाडौं जिल्ला अदालतमा दायर मुद्दा दायर गरिएको छ ।
विभागले आर्थिक बर्ष २०७६/०७७ को असोज मसान्तसम्ममा २१ ओटा मुद्दामा ५७ जना विरुद्ध राजस्व चुहावटको कसुरमा १ अर्ब ६२ करोड विगो र विगोको दोब्बर जरिवाना एवम ३ बर्ष कैद माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
त्यस्तै विदेशी विनिमय अपचलन कारोबारमा ९१ ओटा कसुरमा १ सय ८२ जनालाई ४ करोड रुपैयाँ विगो कायम गरी सोको तेब्बर जरिवाना र ३ बर्ष कैदको माग गरी मुद्दा दायर गरेको छ ।
त्यस्तै विभागले झुटा नक्कली विलविजक जारी गर्ने ४५ फर्महरुलाई ६ अर्ब भन्दा माथि विगो कायम गरी संलग्न ६० जनालाई जिल्ला अदालतमा मुद्दा दायर गरिएको उनले बताए ।
चालु आर्थिक बर्षमा अहिलेसम्म विभिन्न जिल्ला अदालतमा ४५ ओटा मुद्दा दर्ता गरी ७४ जना बिरुद्ध १२ करोड ६४ लाख विगो सहित विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको समेत प्रवक्ता पोखरेलले बताए ।